कोरोनाले महामारीको रुप लिँदै, डब्ल्यूएचओद्धारा तयार रहन आग्रह, मृतक २६०० नाघे
प्रकाशित २०७६ फागुन १३ मंगलबार
229
Shares
काठमाडौं । अन्ततः विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओ पनि कोरोना भाइरस कोभिड–१९ को संक्रमणप्रति हैरान भएको छ । डब्ल्यूएचओले सम्भावित महामारी विरुद्ध लड्न तयारी अवस्थामा रहन आग्रह गरेको छ ।
चीनको वुहान शहरबाट विश्वभर फैलिएको कोरोना भाइरसले महामारीको रुप लिन सक्ने भएकाले सङ्क्रमणविरुद्ध लड्न तयारी अवस्थामा रहन डब्लूएचओले आग्रह गरेको हो ।
बीबीसीका अनुसार अहिले नै कोरोनाको सङ्क्रमणलाई विश्वव्यापी महामारी भन्न नमिल्ने बताइएको छ ।
अहिलेसम्म कोरोना भाइरसका कारण चीनसहितका देशमा दुई हजार ६ सय ९८ जनाको ज्यान गइसकेको छ ।
८० हजारभन्दा धेरै मानिसमा सङ्क्रमण फैलिएको छ । यस्तै कोरोनाका कारण चीनबाहिर ३० देशमा २० जनाको ज्यान गएको छ ।
चीन बाहिर एक हजार दुई सय जनाभन्दा धेरैमा सङ्क्रमण भएको पुष्टि भएको छ ।
कोरोनाका कारण चीन बाहिर सबैभन्दा धेरै दक्षिण कोरियामा आठ जनाको ज्यान गएको छ । आठ सय ३० जनामा कोरोना भएको पुष्टि भएको छ ।
यस्तै इटालीमा सात जनाको ज्यान गएको छ । दुई सय २९ जनामा सङ्क्रमण भएको पाइएको छ ।
जताततै फैलने आशंका बढेसंगै डब्ल्यूएचओले यस्तो सचेतना अपनाउन आग्रह गरेको हो ।