arrow

तमोरको पानी डाँडामा पुगेपछि...

logo
रवीन्द्र काफ्ले र उमेश नेपाली
प्रकाशित २०७६ फागुन १३ मंगलबार
tamor-river.jpeg

पाँचथर । तमोर नदीको पानीलाई १७ किलोमिटर माथि डाँडामा पुर्‍याई गाउँगाउँमा वितरण गर्नु सामान्य कुरा थिएन । प्रविधिको उपयोगले जब यो कार्य सार्थक भयो, नागरिकका घरघरमा खानेपानी पुग्यो । खानेपानीको अभावमा काकाकुल बनेका स्थानीयवासीको मुहारमा खुशी छायो । घरैमा खानेपानीको उपलब्धताले आफ्नै गाउँघरमा बस्न पाइने भएपछि स्थानीयवासी खुशी भएका छन् ।”

पाँचथरमा जनताका न्यूनतम आवश्यकताअन्तर्गत पर्ने खानेपानी र विद्युत्को प्रत्याभूतिको घोषणा गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुन ११ गते तेह्रथुमको आठराई र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकावासीको प्रत्यक्ष जीवनसँग जोडिएको सुकेपोखरी–प्रणामी मावि–भानु आधारभूत विद्यालय सडकको शिलान्यास गर्नुभएको थियो । कूल नौ किमी सडक रु ५४ करोडको लागतमा कालोपत्र गर्ने ठेक्का भएकामा पछि यस सडकलाई मदन भण्डारी मार्गसँग जोड्ने प्रधानमन्त्रीले घोषणा गर्नुभएको थियो । सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले जन्मदिन मनाउन मात्रै तेह्रथुम पुगेको प्रचार गरिए पनि स्थानीयवासीमा प्रधानमन्त्रीको आगमन र थालनी भएका विकासनिर्माणका कामले उत्साहित छन् ।

प्रधानमन्त्री ओलीले यही फागुन ११ गते रु ५१ करोड ३० लाखको लागतमा यासोक बृहत् पम्पिङ खानेपानी आयोजनाको उद्घाटन गर्नुभएको थियो । आफ्नो जन्मदिनका दिन प्रधानमन्त्रीका लागि अर्को खुशी थियो, एक हजार ११५ घरमा पुगेको विद्युत्को उद्घाटन । कुम्मायक गाउँपालिकामा पर्ने साबिकका यासोक, स्यावरुम्बा र रानीगाउँ गाविसलाई अँध्यारोमुक्त घोषणा गर्दै प्रधानमन्त्रीले आफ्नो जन्मोत्सव मनाउने अवसर पाउनुभयो । चार वर्षअघिदेखि निर्माण शुरु भई यहाँ रु १० करोड ५१ लाख ५१ हजार ७७६ लागतमा विद्युतीकरण सम्पन्न भएको थियोे । त्यस दिन प्रधानमन्त्री ओलीको जन्मथलो तेह्रथुमको आठराईस्थित जन्मघरमा मात्रै कार्यक्रम तय भएको थिएन, पाँचथर र तेह्रथुमका विभिन्न विकासनिर्माणका आयोजनाको कामको थालनी गरिएको थियो तर देशका कार्यकारी प्रमुखलाई जन्मदिनको शुभकामना व्यक्त गर्न पूर्वी पहाडका पाँचथर, ताप्लेजुङ र तेह्रथुमका विभिन्न गाउँका दशौँ हजार बासिन्दा उहाँको जन्मघर पुगेका थिए ।

उहाँले मदन भण्डारी मार्गसँग जोड्ने सडकको शिलान्यास तथा पूर्वी पहाडकै निम्ति महत्वपूर्ण कृषि शिक्षालय स्थापनाको घोषणा गर्नुभयो । जनतासँगको सम्बन्धलाई अझ प्रगाढ बनाउन उहाँकै इच्छानुसार जन्मदिनका अवसरमा यहाँका ४०० ज्येष्ठ नागरिकलाई न्यानो कपडासहित सम्मान गरिएको थियो भने दुई हजार विद्यार्थीलाई नोटबुक र कलम वितरण गरिएको थियो ।

यस्तै सशस्त्र द्वन्द्वमा विस्थापित आठराई, सङ्क्रान्तिबजारस्थित नेपाल बैंकको शाखाको सोमबार नै उद्घाटन गरिएको थियो । प्रधानमन्त्रीको जन्मथलोमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त कृषि शिक्षालय स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाले पनि यहाँका बासिन्दा उत्साहित छन् ।

प्रमलाई सुनाउन पाएकामा आँशु
शीर्षनेताले जनताका कुरा सुन्दैनन्, प्रत्यक्ष रुपमा साक्षात्कार गर्दैनन् भन्ने आरोप प्रधानमन्त्रीका हकमा कहीँ कतै लागू हुन्न भन्ने उहाँको जन्मथलो तेह्रथुमको आठराईस्थित जन्मघरमा गरिएको कार्यक्रमले देखाउँथ्यो । प्रधानमन्त्रीले त्यहाँ आएका ज्येष्ठ नागरिकका गुनासा मसिनो गरी सुन्नुभयो । धेरैसँग उहाँले दोहोरो अन्तरक्रिया गर्नुभयो । कतिपयले आफ्ना गुनासा प्रधानमन्त्रीलाई सुनाउन पाएको भन्दै आँशु नै झारे । धेरै ज्येष्ठ नागरिकले खानेपानीको प्रबन्ध गरिदिन प्रधानमन्त्रीसमक्ष आग्रह गरे । कतिपयले त आफ्ना व्यक्तिगत समस्या र दुःखेसोसमेत पोखे । परिवारका अन्य सदस्यले नहेरेको तथा हेलाँहोचो गरेको गुनासो पनि प्रधानमन्त्रीलाई सुनाए । धेरैका गुनासा सुनेपछि प्रधानमन्त्री निकै भावुक देखिनुभयो । उहाँले सधैँजसोको जस्तो रमाइलो मन्तव्य राख्नु भएन । मलीन अनुहारमा प्रधानमन्त्रीले विकास र समृद्धिका लागि केकस्ता प्रयास गर्न सकिन्छ भन्ने चर्चा गर्नुभयो ।

जन्मदिन भएकाले प्रधानमन्त्रीलाई उपहार दिने र सुस्वास्थ्य र दीर्घायुको कामना गर्नेको सङ्ख्या ठूलो थियो । जन्मदिनको शुभकामनासँगै त्यहाँ उपस्थित हजारौँ स्थानीयवासीले प्रधानमन्त्रीको दीर्घ र स्वस्थ जीवनको कामना गरे । प्रधानमन्त्री ओलीकै नेतृत्वमा मुलुक समृद्ध राष्ट्र बन्न सकोस् भन्ने आठराईवासीको कामना थियो ।प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना व्यक्त गर्न सञ्जु बुढाथोकी झापाको दमकबाट आठराईको इवामा आइपुग्नुभएको थियो । गाउँको सानो झुपडीमा जन्मेर ठूलो सङ्घर्ष गरेर प्रधानमन्त्री बन्नु सामान्य कुरा नभएको बुढाथोकीको ठम्याइ थियो ।

प्रधानमन्त्रीसँगै आउनुभएका उहाँका पिता मोहनप्रसादले समेत स्थानीयवासीसँग अन्तरक्रिया गर्नुभयो । उहाँको जन्मघरमा तस्वीर र सेल्फी लिनेको भीड नै लागेको थियो । यो ऐतिहासिक क्षण भएको धेरैको अनुभूति थियो । प्रधानमन्त्री ओलीले विकास र समृद्धिका लागि लिनुभएको सङ्कल्पको एक हिस्सा उहाँको ६९औँ जन्मदिन रहन गयो । पाँचथरमा जनताका न्यूनतम आवश्यकताअन्तर्गत पर्ने खानेपानी र विद्युत्को प्रत्याभूतिको घोषणा गर्नुभएका प्रधानमन्त्रीले तेह्रथुमको आठराई र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकावासीको प्रत्यक्ष जीवनसँग जोडिएको सुकेपोखरी–प्रणामी मावि–भानु आधारभूत विद्यालय सडकको शिलान्यास गर्नुभएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ