रोल्पामा सुन भएको पुष्टि, उत्खनन् गर्ने मन्त्रीको घोषणा
प्रकाशित २०७६ फागुन १४ बुधबार
316
Shares
रोल्पा । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान ‘अनन्त’ ले विगतमा जनयुद्धको केन्द्रका रुपमा रहेको रोल्पालाई अब विकासको केन्द्र बनाउने कामको थालनी भएको बताएका छन् ।
रोल्पा सदरमुकाम लिवाङमा बुधबार लगानी सम्मेलनको उदघाटन गर्दै मन्त्री पुनले जनयुद्धको केन्द्र र परिवर्तनको प्रतीकका रुपमा रहेको रोल्पा अब विकास, समृद्धि तथा लगानीमैत्री जिल्ला हुने घोषणा गरे । रोल्पा लगानीका लागि उर्बर क्षेत्र रहेको उनको भनाइ थियो ।
विभिन्न अध्यननले रोल्पामा सुनखानी रहेको पुष्टि भइसकेकाले अब त्यसको उत्खनन् गरेर जिल्ला र मुलुककै समृद्धिका लागि लगानी गर्न सकिने उल्लेख गरे । ‘हामीसँग सुन छ तर नुन बाहिरबाट ल्याइरहेका छौं । सुनलाई उत्खनन् गरेर आम्दानीको दर वृद्धि गर्न सक्छौं । अब त्यसतर्फ ध्यान दिनुपर्दछ ।’
रोल्पा जलविद्युत, कृषि, पशुपालन, खानी तथा खनिज र पर्यटन क्षेत्रका लागि राम्रो सम्भावना भएको जिल्ला भएकाले ती क्षेत्रमा लगानी गर्न उद्योगी व्यवसायीलाई मन्त्री पुनले अपिल गरे ।
नेपाल जलविद्युतमा आत्मनिर्भर मात्र नभएर अब निर्यात गरी आर्थिक आम्दानी गर्ने अवस्थामा पुगिसकेको उनको भनाइ थियो ।
सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपालीको सपना सकाकार पार्न लगानी क्षेत्रको पहिचान गरी सरकारको नीति तथा योजनालाई सफल बनाउनुपर्ने बताए ।
नेपालका हरेक नागरिकलाई सबल बनाउन संघ, प्रदेश र स्थानीय सरकार तथा निजी क्षेत्रका लगानीकर्ताबीच सहकार्यमा उनको जोड थियो । रोल्पा नगरपालिकाको आयोजना तथा जिल्ला समन्वय समिति रोल्पा र उद्योग वाणिज्य संघको समन्वयमा सुरु लगानी सम्मेलन दुई दिनसम्म चल्ने छ ।