arrow

पानीको स्रोतको खोजी र संरक्षण शुरु

logo
प्रकाशित २०७६ फागुन १५ बिहिबार
dead-water.jpg

काठमाडौं। मेलम्चीको पानी ल्याउने तयारी अघि बढिरहँदा काठमाडौँ उपत्यकामा नै भएका स्रोतको खोजी र संरक्षण शुरु भएको छ। पहिलो चरणको पानी आगामी असार मसान्तसम्ममा आउँदा त्यसको व्यविस्थत वितरणको तयारीसँगै काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले उपत्यकाभित्रको स्रोत संरक्षणमा समेत ध्यान दिन थालेको हो। उपत्यकाभित्रको पानीको परिमाण बढाउन अहिले १२ स्थानमा ट्युबवेल खन्न शुरु गरिएको लिमिटेडले जनाएको छ। 


उपत्यकाका तीनै जिल्लामा यसअघि गरिएको अध्ययनका आधारमा खन्ने काम भइरहेको लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए। उनले भने, “हामीले ठेक्का सम्झौतामार्फत खन्न शुरु गरिसकेका छौँ।”

यसरी ट्युबवेलबाट झण्डै डेढ करोड लिटर खानेपानी थप हुने विश्वास गरिएको छ। मेलम्चीको पानीसँगै उपत्यकाभित्रको पानी थप हुँदा पानीको माग बढिरहे पनि त्यसलाई सम्बोधन हुने बताइएको छ। अन्यत्रबाट पानी ल्याउने मात्रैभन्दा भएका स्रोतको संरक्षण र उपत्यकाभित्रै खानेपानीको नयाँनयाँ स्रोतको पहिचानलाई प्राथमिकता दिइएको प्रमुख कार्यकारी अधिकृत शाक्यले जानकारी दिए।

लिमिटेडले उपत्यकाभित्रको मुहानको दिगो संरक्षणकै लागि भनी गुरुयोजनासमेत बनाउँदैछ। यसमा भइरहेका मुहानको संरक्षणसँगै नयाँ मुहानको खोजी र तिनको उपयोगसमेत रहेको प्रमुख कार्यकारी अधिकृत शाक्यले बताए। लिमिटेडले गुरुयोजनामार्फत हाल भएका पानीको संरक्षण गरी पानीको स्रोत घट्न नदिने र उपत्यकाभित्र थप पानी उत्पादनको योजना समेट्नेछ।

खानेपानीलाई संविधानले साझा अधिकारका रूपमा व्यवस्था गरेको छ। कसको अधिकार के हो र जिम्मेवारी के भन्ने कुरामा अझै अन्योल पाइन्छ। हाल खानेपानीसम्बन्धी विधेयकमाथि प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा छलफल भइरहेको छ। विधेयकले खानेपानी क्षेत्रमा रहेका धेरै अन्योल हटाउने उनको भनाइ छ। खानेपानीको स्रोतमा कसको अधिकार भन्नेबारे धेरै स्थानमा विवाद आउन थालेको छ। काठमाडौँ उपत्यका बाहिरभन्दा उपत्यकामा विवाद कम छ। उपत्यकामा १० प्रतिशत मुहानमा विवाद देखिरहेको छ। उपत्यका बाहिरका विवादमा सरकार–सरकारबीचको भए पनि उपत्यकाको विवाद स्थानीयवासीसँग सम्बन्धित रहेको उनले बताए।

स्रोत भएका पालिका वा वडाका स्थानीयवासीले पहिलो प्राथमिकता त्यस स्थानलाई दिनुपर्ने माग गर्न थालेका छन्। कतिपय जिल्लामा उपभोक्ता समितिसँग विवाद भए पनि उपत्यकामा उपभोक्ता समितिका कारण समस्या आइरहेको छैन। उनले भने, “उपत्यकामा उपभोक्ता समितिहरु सहयोगी भूमिकामा नै छन्।”

मेलम्ची खानेपानी आयोजनाको पानी उपत्यका ल्याएर त्यसको व्यवस्थितरूपमा वितरण गर्ने जिम्मेवारीसँगै लिमिटेडले भएका स्रोतको व्यवस्थापन अघि बढाएको हो। मेलम्चीको पानी काठमाडौँ आइसकेपछि कुनकुन ठाउँमा कतिकति परिमाणमा वितरण गर्ने भनी आवश्यक तयारीको काम अघि बढाउन थालिएको छ। खानेपानी आएपछि कसरी व्यवस्थितरूपमा वितरण गर्ने भनी तयारीका लागि समिति बनेको छ। त्यसले अहिले कुन ठाउँका कति पानी आवश्यक छ र कसरी वितरण गर्न सकिन्छ भनी अध्ययन गरिरहेको छ। उनले भने, “आयोजना कार्यान्वयन निर्देशिकाले आवश्यक पूर्वाधार निर्माण गरिरहँदा हामीले कहाँकहाँ र कसरी पानी वितरण गर्ने भनी तयारी गरिरहेका छौँ।”

उपत्यकामा बसोबास गर्ने जनसङ्ख्या बढिरहँदा खानेपानीको माग बढिरहेको छ। पहिले उपत्यकामा भएका ढुङ्गेधारा, पोखरी र राजकुलो पानीको स्रोतका रूपमा रहेका थिए। उपत्यका आसपासमा रहेका राजकुलोबाट उपत्यकाका पोखरीमा पानी भरिएर ढुङ्गेधारामा पानी आउँथ्यो। पानीको स्रोतबाट अन्यत्र पानी लैजाँदा वा राजकुलो हराउँदा अहिले धेरै ठाउँमा त्यो प्रणाली हटिसकेको छ। कतिपय स्थानमा भने गैरसरकारी संस्था र स्थानीयवासीको प्रयासबाट ढुङ्गेधारामा फेरि पानी आएका पनि छन्। यी स्रोतको पहिचान र संरक्षण पनि लिमिटेडको गुरुयोजनाले समेट्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ