- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठक गणपूरक सङ्ख्या नपुगेपछि स्थगित भएको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकाटोले ‘संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा नेपाली कांग्रेसका देवप्रसाद तिमिल्सिनाले गणपूरक सङ्ख्याका बारेमा नियमापत्ति गरेका थिए ।
नियमापत्तिपछि सभामुखले गणपूरक सङ्ख्या यकिनका लागि संघीय संसद् सचिवालयका कर्मचारीलाई निर्देशन दिएका थिए ।
सचिवालयले ३ मिनेट जनाउ घण्टी बजाएर सांसद सङ्ख्या यकिन गर्दा कम्तीमा एक चौथाइ अर्थात् ६९ जना हुनुपर्नेमा जम्मा ५८ सांसदको मात्र उपस्थिति रहेको पाइएको थियो ।
नेपालको संविधानको धारा ९४ अनुसार सदनमा कुनै पनि प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा हाल कायम सांसद सङ्ख्याको एक चौथाइ उपस्थिति हुनुपर्छ ।
एक चौथाइ सांसदको उपस्थिति नदेखिएपछि सभामुखले कार्यसूचीमा रहेका सम्पूर्ण कार्यक्रम हटाइएको जानकारी दिंदै बैठक स्थगन गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही फागुन १८ गते अपराह्न १ बजे बस्नेछ ।