युवाको आकर्षण भएन मकै खेतीमा

रासस, प्रकाशित मिति : २०७६ फाल्गुण १७ शनिबार
तस्बिर : फाइल

फिदिम। कृषि ज्ञान केन्द्रले मकैको उत्पादन र उत्पादकत्व वृद्धि गर्न पाँचथरमा १३५ हेक्टर क्षेत्रफलमा विशेष कार्यक्रम लागू गरेको छ।  मकैको सघन उत्पादनका लागि तीन प्रकारका कार्यक्रम कार्यान्वयन गरेको हो। जिल्लाको तुम्बेवा गाउँपालिकाको २०० रोपनी क्षेत्रफलमा मकैको पकेट क्षेत्रको कार्यक्रम सञ्चालनमा छ। पकेट क्षेत्र कार्यक्रममा कृषकलाई उन्नत जातिको मकैको बीउ, मल, मकै खेतीका लागि आवश्यक औजार उपकरण ५० प्रतिशत छुटमा उपलब्ध गराइएको छ।

ती क्षेत्रमा साना सिँचाइको प्रवन्ध, रोग किरा व्यवस्थापनका लागि एकीकृत शत्रु जीव व्यवस्थापन प्रणालीसम्बन्धी कार्यक्रम र कृषकलाई तालीमको प्रबन्ध गरिएको केन्द्रका निमित्त प्रमुख सागर विष्टले जानकारी दिए। यस्तै जिल्लाको हिलिहाङ र कुम्मायक गाउँपालिकामा मकै सघन बाली क्लष्टर कार्यक्रम सञ्चालनमा ल्याइएको छ। यस कार्यक्रममा पनि मकैको पकेट क्षेत्र कार्यक्रममा जस्तै सरकारी सहयोग रहे पनि सहुलियतको प्रतिशत फरक छ। यी दुई स्थानीय तहमा गरी १२०० रोपनी क्षेत्रफलमा मकै सघन बाली क्लष्टर कार्यक्रम सञ्चालन हुने उनले बताए।

यस्तै यी दुई कार्यक्रम सञ्चालन नभएका जिल्लाका अन्य पाँच स्थानीय तहमा मकैको उत्पादकत्व प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको छ। यो कार्यक्रम चार स्थानमा गरी कूल चार हजार रोपनी क्षेत्रफलमा सञ्चालन हुनेछ। कार्यक्रमअन्तर्गत यहाँ उपयुक्त विउ मानिने मनकामना–३ ७५ प्रतिशत छुटमा वितरण गरिनेछ। यस्तै खेतीका लागि यन्त्र उपकरण र मलमा समेत कार्यालयले सहयोग गर्ने छ।

जिल्लामा १८५३० हेक्टर क्षेत्रफलमा मकै उत्पादन हुने गरेको छ। उक्त क्षेत्रफलमा वर्षेनी करिब ४३ हजार मेट्रिक टन मकै उत्पादन हुने गर्दछ। यहाँका अधिकांश कृषकले मनकामना–३ र देउती प्रजातिको मकैको खेती गर्ने गरेको ज्ञान केन्द्रले जनाएको छ। पहाडी र उच्च पहाडी भूभाग रहेको यहाँका अधिकांश कृषकले मकैको खेती गर्ने गरेका छन्। अदुवा, टमाटरलगायत बालीसँग पनि लगाउन सकिने भएका कारण मकै ठूलो मात्रामा उत्पादन हुने गरेको छ।

तर गत वर्षबाट मकै उत्पादनमा ह्रास आउने थालेपछि सरकारी निकाय र कृषक चिन्तित बनेका छन्। गत वर्ष मात्रै मकै उत्पादन अघिल्लो वर्षभन्दा १२ हजार मेट्रिक टन कम भएको थियो। गत वर्ष फौजी किराको प्रकोपले जिल्लाको तुम्बेवा र कुम्मायक गाउँपालिकाको १२०० रोपनी क्षेत्रफलमा लगाइएको मकै बाली नष्ट भएको ज्ञान केन्द्रको तथ्याङ्क छ।

यस्तै बढ्दो बसाइँसराइ, वर्षात्को अभाव, युवा पलायनलगायत कारणले मकै खेतीमा ह्रास आइरहेको छ। मकै खेतीका लागि सिँचाइको प्रबन्ध छैन। वर्षातकै भरमा मकैको खेती हुने गरेको छ। यहाँ उत्पादित अधिकांश मकै स्थानीयस्तरमै खपत हुने गरेको छ। यहाँका कृषकले आफूले उत्पादन गरेको मकै आफैँले खाने तथा गाईवस्तुलाई खुवाउने भएकाले चोकर, गाइदानालगायत वस्तुको आयातबिनै पशुपालन गरिरहेका छन्।

नयाँ