arrow

कलाकार र साहित्यकारको योगदानको प्रशंसा गर्दछु : सञ्चारमन्त्री खतिवडा

logo
रासस,
प्रकाशित २०७६ फागुन १७ शनिबार
minister-katiwada.jpg

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभारसमेत सम्हालेका अर्थमन्त्री डा युवराज खतिवडाले कला, साहित्य र श्रव्यका माध्यमबाट समाजमा रहेका विसङ्गति र विकृति हटाउन ठूलो योगदान रहेको बताएका छन्। जनचेनता नेपालको छैटौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित सम्मान कार्यक्रममा उनले भने, “राजनीतिक परिवर्तनका लागि मुलुकमा भएका ठूला जनआन्दोलनमार्फत नयाँ नेपाल निर्माणमा कलाकार र साहित्यकारबाट भएको योगदानको प्रशंसा गर्दछु।”

अर्थमन्त्री खतिवडाले लोकतान्त्रिक गणतन्त्रमा जनताका अपेक्षा पूरा गर्न नीति निर्माणमा बस्नेले के–कस्ता विषयमा ध्यान दिनुपर्छ भनी कलाकारले गर्ने खबरदारीले असन्तुष्टिलाई सम्बोधन गर्न र कमजोरी सच्याउन सहयोग पुगिरहेको उल्लेख गरे। मनोरञ्जनभित्र पनि समाज सुधारका लागि महत्वपूर्ण सन्देश बोकेको हुनुपर्छ भन्दै उनले मुलुकको पहिचान र सम्पत्तिका रुपमा रहेका भाषा र संस्कृतिको संरक्षण एवं विस्तारमा साहित्य र कलाका क्षेत्रबाट विशिष्ट योगदान पुगिरहेको बताए।

सरकारले पत्रकार, कलाकार र साहित्यकारलाई जीवनवृत्तिका कार्यक्रम अघि बढाइरहेको बताउँदै अर्थमन्त्री डा खतिवडाले राज्यले समाजमा विविध क्षेत्रमा योगदान पुर्‍याउने स्रष्टाको योगदानलाई कहिल्यै बिर्सने  छैन भने। सो अवसरमा मुलुकका विभिन्न विधामा उत्कृष्ट काम गर्ने ३० भन्दा बढी स्रष्टालाई सम्मान गरिएको थियो। सम्मानित हुनेमा नेपाल टेलिभिजनका नायब महाप्रबन्धक रामेश्वर शुक्ला, अर्बुद्धरोग विशेषज्ञ डा सुदीप श्रेष्ठ, गीतकार उन्नति शीला बोहरा, चलचित्र निर्देशक ऋषि लामिछाने, अभिनेत्री सपना श्रेष्ठ, नायक विनोद श्रेष्ठ, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडालगायत छन्।

समारोहमा सांसद कोमल वली, नेपाल चलचित्र सङ्घका अध्यक्ष रवीन्द्र खड्का, जनचेतना नेपालका अध्यक्ष बालकृष्ण निरौलालगायतले कला र साहित्यका माध्यमबाट समाजमा विविध विषयमा जनचेतना प्रवाह गर्नेलाई सम्मान गर्ने परम्पराले यस क्षेत्रमा क्रियाशील व्यक्तिलाई प्रोत्साहन भएको बताए। उक्त संस्थाले सन्देशमूलक टेलिचलचित्र निर्माण गरी त्यसका माध्यमबाट समाज सुधारको काम गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ