arrow

भ्रमण बर्षको लाज राख्यो कोरोनाले

लक्ष्यमा पुग्ने कतै थिएन छाँट

logo
प्रकाशित २०७६ फागुन १९ सोमबार
visit-nepal-corona.jpg

काठमाडौं । चीनको वुहानबाट गत डिसेम्बरको अन्तिमदेखि फैलिन थालेको कोरोना भाइरस (कोभिड–१९) को प्रकोपले विश्वलाई नै असर पारेको छ ।

आर्थिक क्षेत्र त डामाडोल नै भएको छ । पर्यटन क्षेत्र त झन् तहसनहस नै भएको छ । यसको प्रत्यक्ष र अझ ठूलो असर नेपाल जस्तो देशलाई परेको छ ।

नेपाल भ्रमण वर्ष २०२० को नाममा अरबौं रुपैयाँ खर्च गरिसकेको केपी शर्मा ओली नेतृत्वको सरकारले वाध्य भएर नेपाल भ्रमण वर्ष २०२० स्थगित गर्ने निर्णयमा पुगेको छ ।

सबैभन्दा बढी पर्यटक चीनबाटै भित्र्याउने योजना बनाएको नेपालले कोरोनाका कारण चीनबाट त भित्र्याउन सम्भव भएन नै अन्य देशबाटसमेत पनि आउने सम्भावना कम भएर गयो ।

त्यतिमात्र हैन निकै खतरनाक सरुवा रोग कोरोनाले गर्दा पर्यटक आउन भन्दा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नआइदिए हुन्थ्यो भन्ने अवस्थामा पुगिसकेको पर्यटन मन्त्रालयका एक अधिकारीले बताए । उनले भने, ‘रिपोर्ट लिन जानै पर्यो । डरै लाग्ने भयो । यो भन्दा त विदेशी नआए हुन्थ्यो जस्तो भएको छ ।’

औपचारिक घोषणा हुन बाँकी रहे पनि नेपाल भ्रमण वर्ष र सगरमाथा सम्वाद स्थगित गर्ने तयारी भएको जनाइएको छ ।

सन् २०२० भित्र २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित भ्रमण वर्षको घोषणा गरिएको थियो । लाखौं रुपैयाँ खर्च गरेर काठमाडौंको टुडिखेलमा भ्रमण वर्षको उद्घाटन गरिएको थियो ।

त्यसैगरी सातै प्रदेशका राजधानीमा पनि विशेष कार्यक्रम गरिएको थियो । अहिले सबैजसो प्रदेशले आर्थिक मेला र प्रर्दशनी चलाए पनि अन्तर्राष्ट्रिय त्यस्ता मेला स्थगित भएका छन् ।

पर्यटन मन्त्रीको घुमफिर प्रभावित

भ्रमण वर्षको योजना नबनाई सरकारले हचुवागिरीमा यो निर्णय गरेको थियो । जुन देशमा प्रचारप्रसार गर्ने हो त्यहींको संयन्त्र प्रयोग नगरी पर्यटक खोज्न जाने बहानामा पर्यटन मन्त्री योगेश भट्टराईले विदेश घुमघामलाई तीव्रता दिइरहेका थिए ।

उनी वस्तुस्थिति नबुझी अष्ट्रेलिया जाँदा आरोपित नै हुनुपरेको थियो । अष्ट्रेलियालीहरु डढेलोले आक्रान्त बनिरहेका बेलामा मन्त्री भट्टराई नेपाल घुम्न निम्तो बाँडिरहेका थिए ।

उक्त क्रममा उनी नेतृत्वको र्यालीलाई समेत अष्ट्रेलियामा रोकिएको थियो । सरकारले जुन देशबाट पर्यटक ल्याउन खोजिएको हो त्यहींको स्थानिय जनशक्तिलाई प्रचारप्रसारमा लगाउन सकेको थिएन ।

केवल मन्त्रीको घुम्ने बहाना बनिरहेको थियो । त्यसबाट भने मन्त्री भट्टराईले मुक्ति पाउने भएका छन् ।

कोरोनाको प्रकोप यूरोप र मध्य पूर्वसम्म फैलिएकाले गत शनिबार (फागुन १७ ) देखि नै विदेशमा भ्रमण वर्षको प्रवद्र्धनात्मक कार्यक्रमहरु स्थगित गर्ने निर्णय भएको थियो ।

त्यसैगरी अतिप्रभावित मुलुकहरुको उडान समेत रोक्ने सरकारले तयारी गरेको छ । सरकारले जापान, दक्षिण कोरिया, हङकङ र इरानबाट आउने उडान रोक्ने तयारी गरेको जनाइएको छ ।

विमानस्थलमा कोरोना कडाइ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोरोना भाइरसका सम्बन्धमा सावधानी अपनाउन आगमनतर्फका सम्पूर्ण यात्रुहरुको शरीरको तापक्रम (थर्मल स्क्यानरबाट) चेकजाँच गर्दै आइरहेकामा आइतबारदेखि थर्मल गन समेतको प्रयोग गरी सम्पूर्ण यात्रुको शरीरको तापक्रम चेकजाँच गर्ने काम सुरु गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले विज्ञप्ति जारी गर्दै थर्मल गनको प्रयोग गरिएको जानकारी दिएका हुन् ।

त्यसैगरी सूचनामुलक सन्देश नेपाली, अंग्रेजी र चाइनिज भाषामा प्रशारण गर्नसमेत थालिएको छ । साथै यात्रुहरुको शरीरमा लिक्विड सेनिटाइजर एजेन्ट स्प्रे गर्ने व्यवस्था समेत मिलाइएको विज्ञप्तिमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ