arrow

माल पाएर चाल नपाएको नेपाली क्रिकेट

logo
गौरव पोखरेल
प्रकाशित २०७३ वैशाख ९ बिहिबार
1umpire.jpg.jpeg

काठमाडौं। विश्व क्रिकेट लीग अन्तर्गत नामिबिया बिरुद्ध नेपाली क्रिकेट टोलीका परामर्शदाता कोच पुबुदु दाशानाएकेले नेपाल क्रिकेट टि-२० विश्व कप बिजेता टोली वेष्टईन्डिजसँग प्रेरणा लिनु पर्ने बताएका थिए।

सायद पुबुदुले भने जस्तै भयो र नेपाली टोलीले नेपाल क्रिकेट सँघ बिना नै नामिबियालाई दुवै खेलमा पराजित गरेको छ।नेपाली टोलीकालागि परामर्शदाता कोच र म्यानेजर आईसीसीले नै उपलब्ध गराएको थियो भने  खेल आयोजनाको पुरै जिम्मेवारी आइसीसी आफैले लिएको थियो।

नेपाल क्रिकेट सँघ विवादका बिच अदालतको आदेश कुरेर बस्न बाहेक अरु कुनै कार्य गर्न सक्ने स्थितीमा रहेको थियो। नेपालले क्रिकेटमा पाएको सफलताकालागि ठुला ठुला राजनितिक पार्टीका तथा कथित ठुल्ठुला नेताहरुले क्रिकेटको बिकास गर्नु पर्छ भनेर कहिले थाकेनन् तर बोली एउटा ब्यवहार अर्को देखाउन नछाडेको हुनाले सरकार पिच्छे क्यानको बोर्ड बन्नाले समस्या गहिरिंदै गईरहेको छ।

नेपालका राजनितिक दलहरुमा 'म' भन्ने अहमले गाँजेको प्रष्ट देखिन्छ र त मैले बाहेक अरु कसैले गर्न सक्दैन् भन्ने भ्रमका कारण सरकार परिवर्तन पिच्छे क्रिकेटमा हमला बोलिन्छ। यस्तै परम्परा रहिरहे सायद नेपाली क्रिकेट मरेको दिन शोक मनाउन बाहेक नेपाली क्रिकेटका प्रशंसकहरुले अरु केहि गर्न सक्ने छैनन्। सबैले हामी र हाम्रो क्रिकेट भनेर अगाडी बढे राम्रो हुने प्रष्ट छ।

नामिबियासँगको दोस्रो जीत पछि पारसले पत्रकार सम्मेलनमा प्रष्ट भनेका छन् -'नेपाली राष्ट्रिय टोलीले जित्नु एउटा पाटो हो भने क्रिकेटको बिकास अर्को पाटो हो।' 'क्रिकेट बिकासकालागि योजनाबद्ध तरिकाले अगाडी बढ्नु पर्ने हुन्छ' उनले अगाडी भने ।

कप्तान खड्काले शुरुवातदेखि एउटै कुरा दोह्रयाईरहेका छन् तर उनको सुन्ने सायद कोही छैनन् । त्यसैले त नेपालका सबैभन्दा ठुला खेलाडी परास खड्काले भन्दा पनि केहि हुन सकिरहेको छैन्। 

आफनै क्रिकेट सँघसँग जुधिरहनु पर्ने खेलाडीहरुको मनोदशा कस्तो हुन्छ होला ? सहजै अनुमान लगाउन सकिन्छ। तर पनि हाम्रा खेलाडीहरु मानसिक रुपमा बलिया रहेछन् र खेलहरुमा सफलता पाईरहेका छन्।

टि-२० विश्वकप बिजेता वेष्टईण्डिज क्रिकेट टोलीका कप्तान डारेन सामीले जसरी फाईनलमा आफ्नो बोर्ड बिरुद्ध बोले त्यसैगरि हाम्रा खेलाडीहरुले पनि बोल्न नपरोस भन्ने सबै क्रिकेट प्रेमीहरुको आशा रहेको छ। सायद खेलाडीहरु पनि सबै सहज होस भन्ने आशामा रहेका छन्।

पुबुदुले भनेका थिए - 'वेष्टईन्डिज क्रिकेट टोलीको सफलताका पछाडी खेलाडीहरुले विश्वभर ठूला ठूला लीग खेलिरहे र आफुलाई म्याचकालागि तयार राखीरहनु नै हो '। वेष्टईन्डिजका खेलाडीहरु विश्वका भिभिन्न देशमा हुने क्रिकेट प्रतियोगितामा लगातार खेलिरहेका हुन्छन्।

नेपालका खेलाडीहरुलाई त्यस्तो कुनै मौका छैन्। अन्तराष्ट्रिय क्रिकेट त परको कुरा स्थानिय प्रतियोगिताहरु पनि नहुने हुनाले क्रिकेटकालागि चाहिने फिटनेस राख्न सकेका छैनन्। दुई-तीन महिनामा क्रिकेट खेलेर पहिलो डिभिजनमा सफलता हात लाग्न मुश्किल हुने पनि पुबुदुले बताएका थिए।

नेपालले करिब ३ महिना पछि नेदरल्याण्डमा विश्व क्रिकेट लीग खेल्ने छ। नेदरल्यण्ड्स विरुद्ध उसको घरेलु मैदानमा खेल्नु नेपाली टोलीकालागि चुनौती हुनेछ। पारसले भनेका छन् ‘ नेदरल्याण्ड्स राम्रो टोली हो र उ बिरुद्ध उसको घरमा खेलेर जित्न हामीले धेरै मिहिनेत गर्नु पर्छ।‘ ‘अब २-३ अप्ता भित्र नेदरल्याण्ड्स बिरुद्ध खेलको तयारीमा जुट्नु पर्छ’ नामिबिया बिरुद्ध दोस्रो खेल जितेपछि नेपाली कप्तानले भनेका थिए।

नामिबिया बिरुद्ध दुवै खेलमा जीतकालागि ब्याटिङ मार्फत प्रमुख भुमिका निभाएका शरद भेषावकर जुन फर्ममा रहेका छन् उक्त फर्म जारी रहनकालागि लगातार खेलिरहन जरुरी हुन्छ। लगातार खेलिरहने वातावरण नभएकाले कुनै पनि खेलका अगाडि नेट प्रयाक्टिसका भरमा मैदानमा ओर्लिंदा नतिजा राम्रो आउन गाह्रो हुने पक्का छ।

माथिल्लो स्तरको क्रिकेटमा सफलताकालागि धेरै पक्षहरु अनुकुल हुन जरुरी हुने पुबुदुले बताएका थिए। नियमित खेल, फिटनेस, मानसिक तन्दरुस्ती, आर्थिक पक्ष, मानसिक परामर्शदाताको सहयोग, सबल संस्था आदि आवश्यक रहेको पुबुदुले बताइका थिए।

नेपाली क्रिकेटको बिकासको कुरा गर्दा पारसले स्पष्ट भनेका थिए । ‘उन्नाईस बर्ष मुनीको विश्वकपमा राम्रो प्रदर्शन गरेर फर्केको नेपाली टोलीका २ सदस्य सिनियर टिममा छन् तर बाँकी कहाँ छन् , के गर्दैछन्? कसैलाई थाहा छैन्। यसरी कसरि क्रिकेटको बिकास होला ? ‘ उनले प्रश्न गरेका थिए।

नामिबिया बिरुद्धको खेलमा नेपाली टोलीका ब्यवस्थापक भेंकटपति राजुले नेपालको क्रिकेटको भविष्य उज्जवल रहेको बताएका थिए। आफुले केही बर्षदेखि नेपाली टोलीको प्रदर्शन बारे जानकारी राखी रहेको र नेपालमा धेरै ट्यालेण्टहरु रहेका छन्।

उनले नेपाली स्पिनरहरुको खुलेर प्रशंसा गरेका थिए। ‘पारस खड्काको नाम धेरै सुनेको र आफुले आँखा अगाडी उनको खेल हेरेपछि फ्यान भएं’ राजुले भनेका थिए। उनले शक्ति गौचन र बसन्त रेग्मीको पनि तारिफ गरेका थिए।

नेपाली क्रिकेटका प्रशंसकहरुको कुरा नगर्दा त नेपालि क्रिकेट अधुरै रहने छ। एसोसियट्स देशहरुमा नेपालमा जति क्रिकेटको क्रेज सायदै अरु देशमा छ होला। आफ्नो देशको खेल हेर्न हजारौंको संख्यामा दर्शक मैदानमा उपसथित हुनु नै यसको प्रमाण रहेको छ। देशभरिमा टेलिभिजनमा आफ्नो देशको खेल हेर्नेको संख्या त लाखौंमा पुग्छ।

नेपाली क्रिकेटको प्रगतिकालागि चाहिने अधिकांश कुरा हामीसँग रहेको छ। नेपालमा क्रिकेट प्रतिभाको कमी नरहेको देश र बिदेशका पुर्व खेलाडीहरुले जहिले भन्ने गरेका छन्। दर्शकहरुको उतिकै स्नेह र माया प्राप्त गरेको नेपाली क्रिकेटकालागि चाहिने सबल र स्थापित बोर्ड राजनितीका कारणले समस्याग्रस्त रहेको छ। क्रिकेट सँघको समस्याबाट जति चाँडो मुक्ति पाउँछ उती राम्रो नेपाली क्रिकेटलाई हुने निश्चित रहेको छ।

आइसीसीका विकास निर्देशक टिम एन्डरसनले नामिबियासँग नेपालको पहिलो खेलपछि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निकट भविश्यमा क्रिकेटमा देखिएको विवाद समाधान भएको हेर्न चाहेको बताएका थिए।

‘हामी नेपालमा देखिएको क्रिकेट क्रेजप्रति सकारात्मक छौं, तर यसो भन्दैमा विवादको विषयमा धेरै समय धैर्य गर्न सक्दैनौं’ उनले भने। एन्डरसन विश्व क्रिकेट लिग अन्तर्गत नेपाल र नामिबियाको खेलका लागि आएका हुन्। एन्डरसनले विवाद लम्बिरहे नेपाल क्रिकेट संघलाई प्रतिवन्ध लगाउनेसमेत संकेत गरेका थिए।

चारैतिरबाट समस्यामा परेको नेपालमा केहि आशाको किरण देखाएको क्रिकेटमा पनि समस्या देखिएपछि ‘ माल पाएर चाल नपाएको’ भन्ने  उखान चरितार्थ हुने जस्तो देखिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ