- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । माथिको तस्वीर हो, पोहोर मनाइएको विश्व मिर्गौला दिवसको । प्रधानमन्त्री केपी शर्मा ओली र पत्नी राधिका शाक्य र्यालीमा सहभागी भएका थिए यसरी । हरेक वर्ष मार्च १४ का दिन विश्व मिर्गौला दिवस मनाइन्छ ।
अब त्यो दिन आउन धेरै दिन बाँकी छैन । जम्मा १० दिन छ । सन् २००७ मा मिर्गौला प्रत्यारोपण गरेका ओलीको यो पल्ट यो दिवस आउनु भन्दा ठीक १० दिन अघि दोस्रो पल्ट मिर्गौला प्रत्यारोपण हुँदैछ । त्यो पनि स्वदेशमै, शिक्षण अस्पतालमा ।
यो पल्ट विश्व मिर्गौला दिवसमा नेपालले नयाँ सन्देश दिनेछ, खुसीयाली साट्नेछ । देशको मूली शासक एवं प्रधानमन्त्रीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको दुनियाँलाई भन्नेछ नेपालले ।
र, प्रधानमन्त्री ओलीले फेरि अर्को जन्म मात्रै पाउने छैनन्, यो पल्ट । उच्च ओहोदामा बस्नेहरुलाई लाग्ने गरेको ‘ट्याग’ हटाउने अवसर जुरेको छ । त्यो हो–नेपालका नेता उपचारका लागि विदेश जान्छन्, दुर्गमका नागरिक रिटामोल नपाएर मर्छन्’ भन्ने गरिएको ट्याग । यद्यपि, यसअघि ओलीको मिर्गौला प्रत्यारोपण भारतमा भएको थियो । र, त्यसपछिका नियमित जाँचका लागि पनि उनी विदेश धाइरहे ।
पछिल्लो समय भने उनको एपेन्डिसको शल्यक्रिया र नियमित डायलासिस स्वदेशमै गरियो । यस कारण पनि प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण ऐतिहासिक हुनेछ ।
मुलुकको कार्यकारीकै अंग प्रत्यारोपण भन्दा नेपालको चिकित्सा क्षेत्रको मात्रै नाक उँचो हुनेछैन ।
राजनीतिक नेतृत्वप्रतिको इज्जत बढेर आउनेछ । यो घडिमा राज्यका हरेक निकाय र हरेक नागरिकको ध्यान प्रधानमन्त्रीको स्वास्थ्यमा हुनु स्वभाविक छ । र, प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना सबैले गरिरहेका छन् ।
अर्कोतिर उनको आत्मवललाई मान्छेहरु चकित छन् । मात्रै कुरा के भने जस्तो सद्भाव आम नागरिकले प्रधानमन्त्रीप्रति देखाए त्यो सद्भाव प्रधानमन्त्रीमाथि जनताको ऋण हो । यसलाई ऋणको रुपमा लिएर प्रधानमन्त्रीले एक–एक पाइ चुकाउनु पर्ने छ ।
नभए यहाँ, सुनीता विक जस्ता कयौँ मिर्गौला पीडितले मृत्यु पर्खिरहेका हुनेछन् । केही दिन पहिले अर्थात् ६ फागुनमा अर्घाखाँची छत्रदेव गाउँपालिका–८ सिठेनीकी सुनीता विकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुलापत्र लेखिन् ।
उनको उमेर जम्मा २४ वर्ष । यस्तो कलिलो उमेरमा दुई छोरा छन्, सुनीताका । लामै चिठ्ठी लेखेकी छिन् उनले प्रधानमन्त्रीलाई । उनले आफ्नो पारिवारिक अवस्था र नाबालिकदेखि हुँदैदेखि पाएको दुःख पोखेकी छन् चिठ्ठीमा ।
प्रधानमन्त्रीलाई मागेको गुहारमा यस्तो लेखिएको छः
‘दिल्लीको वर्धमान महावीर मेडिकल कलेजमा मलाई ‘लुफस मेट राइटिस’ रोग लागेको पत्ता लाग्यो । सोही रोगका कारण मेरो दुवै मिर्गौला बिग्रिएका रहेछन् ।
म धेरै रोएँ । ऋण खोजेको पैसा सकियो, उपचार गर्न पैसा थिएन । बाँच्ने आशा म-यो । गरीबले बाँच्ने आशा राख्नु पनि मुर्खता रहेछ । बाँच्ने रहर आर्थिक औकात हुनेहरूका लागि मात्रै रहेछ ।
मलाई श्रीमानले गाउँमा फर्काउनु भयो । म अहिले मृत्यु पर्खिरहेकी छु । नाबालकहरूलाई छोडेर मर्दैछु भन्ने पीडाले दिन–रात सताइरहेको छ ।
तपाईं हाम्रो अभिभावक, मेरो पीडा सुन्नु प्रधानमन्त्रीज्यू । म बाँच्न चाहन्छु, तर उपचार गर्ने पैसा छैन । सम्पत्तिका नाममा एउटा टिनको छाप्रो छ । मिर्गौला बिग्रिएका बिरामीलाई नियमित डाइलासिस गर्नुपर्छ भन्छन् । तर तम्घाससम्म पुगेर सिटामोल किन्न सक्ने क्षमता छैन मेरो ।’
यति मात्रै होइन उनले आफ्ना नाबालक छोराहरुका लागि पनि याचना गरेकी छन् प्रधानमन्त्रीसँग ।
‘मेरोे समस्या पनि तपाईंको जस्तै भएको हुँदा कुरा सन्नु हुन्छ भन्ने आशा छ । फेरि तपाईं त प्रधानमन्त्रीको कुर्सीमा हुनुहुन्छ । चाहानु भयो भने मजस्ता मिर्गौल पीडितहरूका लागि निःशुल्क उपचारको बन्दोबस्त गर्न पनि सक्नुहुन्छ । प्रधानमन्त्रीज्यू, मलाई बचाउनुस् । मलाई नबचाउने भए मेरा नाबालक छोराहरूलाई पढ्ने व्यवस्था मिलाई दिनुहोला । उनीहरूले पढेर मजस्ता थुप्रै मिर्गौला रोगीहरूको उपचार गर्नेछन् ।’
उत्साही ओली र मृत्यु पर्खिरहेकी सुनीता
प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल छिर्दै गर्दा पनि कमजोर देखिएनन् । अनुहार धपक्कै बल्ने ! कस्तो आत्मबल ? यही कुराले मान्छेहरु चकित छन् । त्यति मात्रै कहाँ हो र उनले चिकित्सकसँगको साक्षात्कारमा राखेका कुरा अझै उर्जावान् छन् ।
जस्तैः ‘चिन्ता नलिनुस् एक हप्तामै क्याविनेट राख्छुँ’ । ‘राम्रो खेलाडीले बिचैमा खेल छोड्दैन’ जस्ता शब्दावलीले आम नागरिकलाई पर्याप्त आशा बाँडेका छन्, उनले । तर, सँगसँगै प्रश्न पनि उब्जिएका छन्, प्रधानमन्त्रीको अंग प्रत्यारोपणकै दौरान ।
राजसी ठाँटमा जन्मदिन मनाउएको कुरा त सेलाइगयो । र, स्वास्थ्यलाभको प्रार्थनाका बेला यस्ता कुरा कोट्याउनु शोभनीय हुँदैन । तर, उपचारकै सवालमा प्रधानमन्त्री दोस्रो पल्ट अंग प्रत्यारोपण गरे स्वास्थ्य लाभ गर्दै गर्दा सुनीता विक र उनी जस्तै कयौँ मिर्गौला पीडितका आँशु पुछ्ने की नपुछ्ने ? प्रश्न उठिसक्यो–प्रधानमन्त्रीलाई सजिलै मिर्गौला प्राप्त हुने र आम जनसाधारणले छट्पटीछट्पटी मर्नु पर्ने ?
यो वर्ष स्वास्थ्यका लागि छुट्याइएको ६८ अर्ब ७८ करोड रकम कहाँ खर्च भयो होला रु सुनीता जस्ता पीडितले तम्घाससम्म पुगेर सिटामोल किन्न सक्ने क्षमता किन राखेनन् होला रु लगायतका प्रश्नको निरुपण कसरी होला ? प्रधानमन्त्रीको स्वास्थ्यलाभ सँगै यस्ता प्रश्नको जवाफको प्रतिक्षा गरिरहेका छन् आम नागरिकले ।
विपन्न नागरिकलाई आठ प्रकारका जटिल र असाध्य रोगको निःशुल्क उपचारका लागि अनुदानमा २ अर्ब २० करोड बनाएको भनेर बजेट भाषण गर्ने अर्थमन्त्रीले राजीनामा दिएका छन् ।
उनलाई प्रधानमन्त्रीले कति विपन्नले निःशुल्क उपचार पाए भनेर सोध्लान् कि नसोध्लान् ? यसको जवाफ कुरिरहेका छन्, आम पीडितहरु । र, प्रधानमन्त्रीकै भाषामाः ‘दुई वर्ष पूर्वाधार निर्माण गर्न लाग्यो, अब फल खाने समय आयो’ भने झैँ अब आउने वर्षका लागि बनिरहेको बजेटमा आम नागरिकको स्वास्थ्य उपचार कति प्राथमिकतामा पर्छ र प्रधानमन्त्रीले यो पल्ट मानव अंग प्रत्यारोपणको शय्याबाट के सिक्छन् हेर्न बाँकी छ ।