arrow

बैदेशिकमा हाकिम फेरिए, घुस असुली रोकिएन

logo
प्रकाशित २०७६ फागुन २१ बुधबार
foreign-labor-employment-dept.jpg

काठमाडौं। सरकारले म्यानपावर ब्यवसायीलाई कामदार विदेश पठाउँदा फ्री टिकट फ्री भिसामा पठाउनुपर्ने नीति लागू गरेको छ। तर बैदेशिक रोजगार विभाग अन्तर्गतको काठमाडौं कार्यालयमा घुसविना श्रम स्वीकृति नै नदिने गरेको गुनासोको हल हुन सकेको छैन।

कामदारको मागपत्रमा कमा र फुलस्टप यताउता भए पनि ताहाचल कार्यालयका कर्मचारीले एक कामदार बराबर १० हजार घुस लिने गरेका छन्। जसका कारण ब्यवसायी मारमा छन्। एकातिर फ्री भिसा भनेकाले शुल्क लिए कारबाहीमा पर्ने डर, अर्कोतिर श्रम स्वीकृति निकाल्नका लागि बैदेशिक रोजगार कार्यालय ताहाचलमा घुस नदिएसम्म काम नहुने अवस्था। बैदेशिक रोजगार कार्यालय काठमाडौंमा कामदारको पूर्वस्वीकृतिदेखि अन्तिम स्वीकृतिसम्म प्रतिकामदार १० देखि २० हजार घुस नै दिनुपर्ने बाध्यता रहेको व्यवसायीको गुनासो छ।

ब्यवसायीसँग घुस असुलीका बारेमा बिभिन्न मिडियामा समाचार प्रकाशित भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले काठमाडौं बैदेशिक रोजगार कार्यालयका निमित्त प्रमुख देवेन्द्र कार्की र सुरेश जोशीलाई तानेका छन्। तर घुस संकलन गर्ने रैथाने कम्प्युटर अप्रेटर बिपुल पराजुली, नायबसुब्बा योगेन्द्रविक्रम शाह, टेकबहादुर थापा,राजकुमार पोखरेलहरु यथावत छन्।

श्रम मन्त्रालयको कर्मचारी प्रशासन शाखाका प्रमुख युवराज खतिवडालाई पनि जिम्मेवारी हेरफेर गरिएको छ। उनको ठाउँमा काठमाडौं बैदेशिक रोजगार कार्यालयबाट मन्त्रालयमा ल्याइएका देवेन्द्र कार्कीलाई जिम्मेवारी दिइएको छ। 

काठमाडौं कार्यालयका कामु प्रमुख रहेका उनै कार्कीलाई कर्मचारी प्रशासनको हाकिम बनाएकोमा भने श्रम मन्त्री रामेश्वर राय यादव आलोचित भएका छन्। कम्प्युटर अप्रेटर बिपुल पराजुली काठमाडौं कार्यालयमा १० बर्षदेखि कार्यरत छन्। सबै सेटिङका काम उनीबाटै हुँदैआएको जानकारहरु बताउँछन्। यसअघि सामान्य प्रशासन मन्त्रालयको काजसरुवाको पत्र समेत कीर्ते बनाएर करिब ११ बर्ष नायबसुब्बा पेशल कोइराला बैदेशिक रोजगार कार्यालय ताहाचलमा कार्यरत थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ