arrow

इजरायली आमनिर्वाचनमा नेतन्याहूको दललाई अग्रता, बहुमत पुगेन

logo
एएनआई,
प्रकाशित २०७६ फागुन २१ बुधबार
israel-PM-benjamin-netanyahu.jpg

तेल अभिभ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टीले सोमबार सम्पन्न संसदको आमनिर्वाचनमा ३६ स्थान जितेर संसदभित्र सबैभन्दा ठूलो दल बनेको छ। केन्द्रीय निर्वाचन समितिले करिब ९७ प्रतिशत मतगणना सम्पन्न गर्दा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गर्न नसक्ने देखिएको छ।

समितिका अनुसार नेतन्याहूका मुख्य विपक्षी बेन्नी गान्ज र उनको ब्लू एन्ड ह्वाइट पार्टीले ३२ स्थान जितेको छ। पछिल्लो गणना अनुसार लिकुड पार्टी र यसको गठबन्धनले कूल ५९ सिट जितेका छन्, तर सरकार गठन गर्न अझै दुई स्थान कमी भएको छ। इजरायलको संसद १२० सदस्यीय रहेको छ, र बहुमतको सरकार गठन गर्न ६१ स्थान आवश्यक पर्दछ।

प्रधानमन्त्री नेतन्याहूले मतदान सम्पन्न भएपछि सोमबार राति नै विजयी भएको दाबी गरेका थिए। चुनावी मतसर्वेक्षणले लिकुड पार्टीले बहुमत ल्याउन सक्ने अड्कलबाजी गरेका थिए। बहुमतका लागि दुई स्थान कमी भएको अवस्थामा लिकुड पार्टीले अरु दलसँग आबद्ध सांसदहरुलाई सरकारमा सहभागी हुन आह्वान गरेको छ। लिकुड पार्टीका प्रवक्ता जोनाटन उरिचले संचार माध्यमसँग कुरा गर्दै विपक्षी बेन्नी गान्जले सरकार गठन गर्न नसक्ने परिस्थिति रहेकाले आफूहरुलाई समर्थन गर्न अन्य दलका सांसदहरु समक्ष आग्रह सहित छलफल गरिरहेको बताए। उनले अन्य दलका चारदेखि छ जना सांसदसँग कुराकानी भइरहेको छ भने लिकुड पार्टीले केही दिनभित्रै सरकार गठन गर्न दाबी प्रस्तुत गर्ने उनले बताए।

तर, इजरायलका पूर्व सैन्य प्रमुख बेन्नी गान्जले आफ्नो दलले अझै हार स्वीकार नगरेको बताए। मंगलबार बिहान चुनावको अन्तिम परिणाम नआउन्जेल धैर्य गर्न आग्रह गरे। उनले राष्ट्रिय एकताको सरकार निर्माणका लागि प्रयास गर्ने बताए। इजरायलमा कुनै पनि दलले संसदमा बहुमत ल्याउन नसक्दा एकै वर्षको अवधिमा यसपटक तेस्रो आमनिर्वाचन भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ