arrow

कोरोना भाइरस प्रभावः अस्पतालमा आइसोलेसन कक्ष स्थापना

logo
प्रकाशित २०७६ फागुन २३ शुक्रबार
coronavirus-molecular.jpg

गलकोट । विश्वभर चुनौतीका रुपमा देखिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई ध्यानमा राखेर धौलागिरी अस्पताल बागलुङमा आइसोलेसन कक्ष स्थापना भएको छ । 

सो भाइरसको सङ्क्रमण बढ्दै गएमा धौलागिरीकै ठूलो अस्पतालमा सम्भावित बिरामी आउनसक्ने भन्दै दुई श्ययाको सो कक्ष स्थापना गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र विक पोखरेलले जानकारी दिए ।

शङ्कास्पद बिरामीलाई विशेष निगरानीमा उपचार तथा परामर्शका लागि आइसोलेसन कक्ष तयार गरिएको उनले बताए । उनले भने, “आइसोलेसन कक्षमा अहिले दुई श्ययाको छ । यदि सङ्क्रमणका बिरामी देखा परेमा बढ्न अन्य कक्ष थप हुन्छ ।” 

विशेषगरी ज्वरो, रुखा र खोकीका बिरामी अस्पतालमा आउनासाथ उच्च सतर्कताका साथ उपचार तथा परामर्श गरिने अस्पतालले जनाएको छ । 

निजी अस्पताललाई पनि सम्भावित जोखिमलाई ध्यानमा राखेर आइसोलेसन कक्षको तयारी गर्न प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले आग्रह गरेका छन् । 

उनले जिल्लामा सार्वजनिक सभा, समारोह, मेला उत्सव नगर्न आह्वान गरिएको जानकारी दिए । सरोकारवालासँगको बैठकले जिल्लामा सभा समारोह, भोज भतेर, वार्षिकोत्सव, महोत्सव, महायज्ञ, खेलकुद कार्यक्रमहरु नगर्न आग्रह गर्ने निर्णय गरेको  छ ।  

गण्डकी प्रदेश कार्यालय स्वास्थ्य कार्यालयले सो भाइरसको सङ्क्रमण फैलिन नदिनका लागि तयारी गर्न फागुन २९ र ३० गते दशवटै पालिका प्रमुखहरुलाई भेला गर्न लागिएको स्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी घनश्याम सापकोटाले जानकारी दिए ।

भाइरसबाट बच्न  हात नमिलाउन बागलुङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले आग्रह गरे । उनले नियमित साबुन पानीले हात धुने, घर पालुवा पशुपन्छीको सम्पर्कबाट टाढा रहने, हाछ्यु गर्दा मुख छोप्नुपर्ने तथा मासु तथा अण्डा राम्ररी पकाएर मात्र खानुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ