पाकिस्तानमा कारखानामा ग्यास चुहावट, ७० जना अस्पताल भर्ना
एएनआई,
प्रकाशित २०७६ फागुन २३ शुक्रबार
387
Shares
कराँची, पाकिस्तान । पाकिस्तानको काराँचीस्थित कसिम क्षेत्रमा रासायनिक कारखानाबाट क्लोरिन ग्यास चुहावट भई ७० जना विरामी परेका छन्। उनीहरू सबैलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको पाकिस्तानी सञ्चारमाध्यमले सम्बन्धित अधिकारीहरूलाई उद्धृत गरी समाचारमा जनाएका छन्।
“कारखानाबाट क्लोरिन चुहावट हुँदा कारखानामा कार्यरत ती कर्मचारी विरामी परेका छन्। अहिले सावधानीका लागि कारखाना वरपरको प्रभावित क्षेत्रमा आवतजावतमा रोक लगाइएको छ,” काराँचीस्थित एङ्ग्रो पोलिमर तथा केमिकल प्लान्टद्वारा जारी विज्ञप्तिलाई पाकिस्तानी समाचार संस्था ‘डन’ले उद्धृत गरेको छ।
ग्यास चुहावटलाई तत्काल नियन्त्रण गरिएको छ भने प्रभावित व्यक्तिलाई नजिकको अस्पतालमा लगी आवश्यक प्राथमिक उपचार सेवा दिइएको थियो । सवै विरामी खतरामुक्त रहेको अस्पताल स्रोतले जनाएको छ। डनले भनेको छ, “घटनामा कुनै मानवीय क्षति भएको छैन । विरामीहरू बेहोस हुने वा गम्भीर विरामी भएको अवस्था छैन।”
घटनापछि ७० जनालाई उपचार सेवा दिइएको र एक जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको उपचार सेवा प्रवाह गरेको जिन्ना मेडिकल सेन्टरका कार्यकारी निर्देशक सिमन जमालीले बताए। यसबारे थप विवरण आउन बाँकी छ।