arrow

कोरोनाले पर्यटक घटेपछि बजार खोज्दै वायु सेवा प्रदायक

logo
सिबी अधिकारी, रासस
प्रकाशित २०७६ फागुन २५ आइतबार
nepal-airlines1.jpeg

काठमाडौं । कोरोना भाइरसको सन्त्रासका कारण विदेशी पर्यटक घटेपछि मुलुकको आन्तरिक उडानमा रहेका वायु सेवा प्रदायक कम्पनीले वैकल्पिक बजारको खोजी शुरु गरेका छन् । कोरोनाको हल्लाले सबैभन्दा बढी पर्यटन क्षेत्रलाई असर पार्ने खतरा देखेका व्यवसायीले पर्यटनसँग प्रत्यक्ष सरोकार राख्ने ठूलो लगानी भएको हवाई क्षेत्रले बढी मार खेप्नुपरेको जनाएका हुन् ।

मुख्य पर्यटकीय याममै कोरोनाको त्रासले पर्यटन क्षेत्रलाई नराम्रोसँग प्रभाव पारेको छ । होटल क्षेत्रमा धमाधम बुकिङ रद्द भइरहेको छ भने हवाई क्षेत्रमा पनि व्यवसाय ह्वात्तै घटेको छ । कोरोनाको सबैभन्दा बढी प्रभाव नेपालको पर्यटन क्षेत्र त्यसमा पनि हवाई उद्योगमा पर्ने भएकाले वैकल्पिक बजारको खोजी थालिएको वायु सेवा सञ्चालक संघका महासचिव योगराज कँडेल शर्माले बताए ।

हेली एभरेष्टका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका शर्माले हवाई क्षेत्रमा पनि सबैभन्दा बढी हेलिकप्टर व्यवसाय मारमा परेको बताए । वसन्त ऋतुको अगाडि आरोहीलगायतका विदेशीले धमाधम बुकिङ रद्द गरिरहेको उनले जानकारी दिए । हेली एभरेष्टको मात्रै १३२ बुकिङ भएकामा ५२ वटा रद्द भइसकेका छन् । सोही अनुपातमा अन्य हेलिकप्टरको पनि बुकिङ रद्द हुनेक्रम बढेको संघले जनाएको छ । अहिले सार्वजनिक सेवामा रहेका १० हेलिकप्टर कम्पनीका ३३ हेलिकप्टर छन् यिमध्ये ३० हेलिकप्टर उडानयोग्य छन् । अहिले देनिक एक÷दुई वटा मात्र उडान भइरहेको कम्पनीले जनाएका छन् । त्यसैगरी जहाजतर्फ आन्तरिक उडानमा नौ वायु सेवा प्रदायक कम्पनीले उडान गरिरहेका छन् ।

महासचिव शर्माका अनुसार अघिल्लो वर्षको तुलनामा अहिले कोरोनाको हल्लाले दैनिक तीन हजार यात्रु घटेका छन् । नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा यो सङ्ख्या दैनिक चार हजार बढाएर सात हजार पुर्‍याउने योजना थियो । सबैभन्दा बढी हेलिकप्टरको ५० प्रतिशतभन्दा बढी उडान कटौती भएको छ । जहाजतर्फ ठूला वायु सेवा कम्पनी बुद्ध एयर, यति एयरलाइन्स, श्री एयरलाइन्सलगायतको उडान सङ्ख्या सन्तोषजनक रहे पनि डलर यात्री घटेपछि आर्थिक कारोवार ह्वात्तै घटेको महासचिव शर्माको भनाइ छ ।

विदेशीको चहलपहल घटेपछि देशका प्रमुख पर्यटकीय गन्तब्यमा व्यावसायिक सम्भावनाको खोजीका लागि प्याकेज बनाएर सहुलियत मूल्यमा हेलिकप्टर तथा जहाज सञ्चालन गर्ने योजना बनाइएको संघले जनाएको छ । व्यवसायीले उपत्यकाको पर्यटकीय क्षेत्र चन्द्रागिरि हिल्सबाट हेलिकप्टर चढेर काठमाडौँ उपत्यका राउन्ड लगाउन रु १० हजारको प्याकेज बनाएर उडान अनुमतिका लागि नियामक प्राधिकरणलाई पत्राचार गरिएको महासचिव शर्माले जानकारी दिए ।

त्यसैगरी मुख्य पर्यटकीय क्षेत्र पोखरालगायत गन्तव्यमा पनि यस्तो प्याकेज बनाइनेछ । आन्तरिक गन्तव्यमा जाने यात्रुलाई विशेष छुट ‘अफर’लगायत व्यवस्था गरिने व्यवसायीको भनाइ छ । अहिलेको अवस्था निरन्तर रहे हेलिकप्टर तथा जहाज ग्राउण्डेड गर्न बाध्य हुने बताउँदै संघका महासचिव शर्माले अहिले कम्पनी बचाउनका लागि खर्च कटौती र विभिन्न तौरतरिका अपनाइएको उल्लेख गरे । उनले भने, “कोरोनाको प्रभावले हवाई क्षेत्रमा अबको तीन महिनामा रु चार अर्ब क्षति हुने अनुमान गरेका छौँ, अहिले जहाजको इन्स्योरेन्स तिर्न र मर्मत खर्च निकाल्न धौधौ परेको छ, त्यसैले हवाई उद्योग बचाइदिन सरकारलाई गुहारेका हौँ ।”
 
लाखौँ खर्चेर नेपाल आउने विदेशी जोखिमयुक्त देशको यात्रा गर्न रुचाउँदैनन् । त्यसको प्रत्यक्ष असर हवाई क्षेत्रमा पर्ने व्यवसायीको भनाइ छ । वायु सेवा सञ्चालक संघले यही फागुन २३ गते विज्ञप्ति निकालेर कोरोना भाइरसको हल्लाका कारण आन्तरिक हवाई यात्रु ४० प्रतिशतले घटेको जनाएको थियो ।

नेपालको आन्तरिक उडानमा कोरोनाको प्रभावका कारण करिब रु चार अर्ब क्षति हुने संघको अनुमान छ । अहिले प्रतिमहिना आन्तरिक हवाई यात्रु ४० प्रतिशतले घटेको जनाइएको छ । अबको तीनदेखि छ महिना यसको असर देखिने व्यवसायीको आँकलन छ ।

नेपालमा अहिलेसम्म कोरोनाको सङ्क्रमण देखिएको छैन तर पनि विशेष सजकता अपनाइएको छ । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई उच्च जोखिमयुक्त मुलुक भनेको छ । कोरोनाको प्रभावले मुलुकको कूल गार्हस्थ उत्पादन (जिडिपी) मा शून्य दशमलव चार प्रतिशत असर पुग्ने एशियाली विकास बैंकले प्रारम्भिक प्रक्षेपण गरेको छ ।

वायु सेवा सञ्चालकले सरकारसँग सहुलियत, बैंकमा तिर्नुपर्ने ब्याजमा पुनःकर्जाको सुविधा दिएर भुक्तानीको व्यवस्था मिलाउन माग गरेका छन् । व्यवसायीको मागका सन्दर्भमा सरकारले पनि कोरोनाको हवाई क्षेत्रमा के कस्तो असर परेको छ भनी नियामक निकायसँग विवरण लिएको छ ।

नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले कोरोनाको प्रभावले पर्यटन र नागरिक उड्डयन क्षेत्रमा कति क्षति पुग्छ भनी व्यवसायीसँग यकिन विवरण लिएर सरकारलाई सिफारिस गरिने बताए । अङ्ग्रेजी वर्ष सन् २०२० को फेब्रुअरीसम्मको अवस्थालाई हेरेर केकति क्षति हुने र कस्ता विषयमा राहत र सहुलियत दिने भन्नेबारे सिफारिस गरिने उनले उल्लेख गरे ।

वायुसेवा प्रदायकले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट अमेरिकी डलर र नेपाली रुपैयाँमा लिएको ऋणको साँवालाई पुनर्तालिकीकरण र पुनःसंरचनाको व्यवस्था गर्न माग गरेको छ । हवाई इन्धनमा सरकारले लगाएको मूल्य अभिवृद्धि कर हटाउन र हवाई इन्धनको मूल्य कम्तीमा ३० प्रतिशत घटाउनसमेत व्यवसायीले अनुरोध गरेका छन् ।

छिमेकी मुलुक चीनमा देखा परेको कोरोनाको सङ्क्रमणले विश्वव्यापी रुप लिएसँगै संसारको अर्थतन्त्रलाई असर पार्ने र अर्थतन्त्रको मुख्य पाटो पर्यटन क्षेत्रमा नराम्रो असर पर्ने खतरा औँल्याउँदै संघले आन्तरिक वायुसेवा कम्पनीकोसमेत व्यापार घटेको जनाएको छ । विदेशी पर्यटक नआउँदा अहिले उपलब्ध जहाजलाई मागअनुसार यात्रु नपुग्ने भन्दै संघले सोही कारण अब अनुपात मिलाएर सबै कम्पनीका जहाज ग्राउन्डेड गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

संघले सम्पूर्ण खर्चमा मितव्ययिता अपनाउने, अहिले भएको वायुयानको सङ्ख्याअनुसार माग नहुने अवस्थामा सबै कम्पनीले आफ्नो जहाज ग्राउण्डेड गर्ने, कर्मचारीलाई बिनातलब छुट्टीमा जान प्रोत्साहित गर्ने र सेवासुविधा कटौती गर्ने समेतका कार्य गरिने निर्णय गरेको छ । विश्वका ९५ देशमा ‘कोभिड–१९’ को सङ्क्रमण फैलिसकेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोना सङ्क्रमित व्यक्तिको सङ्ख्या एक लाख नाघिसकेको छ । यस रोगबाट हालसम्म तीन हजार ५०० जनाको मृत्यु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ