arrow

कालोबजारी भए ११३७ मा फोन गरौ

logo
प्रकाशित २०७६ फागुन २६ सोमबार
rice_In_Bhairahawa.jpeg

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलेले आपूर्ति तथा अन्य कुनै समस्या आए ११३७ नम्बरमा फोन गर्न आग्रह गरेका छन् । पैसा नलाग्ने सो नम्बरमा फोन गरेर आफ्ना समस्या तथा गुनासो राख्न सकिनेछ । कालोबजारी भए, परल मूल्यभन्दा बढी मूल्यमा कुनै सामान बिक्री वितरण गरेको पाइए सो नम्बरमा गुनासो गर्न सकिने मन्त्री भट्टको भनाइ छ । उनले केही दिनभित्रैमा साल्ट ट्रेडिङलगायतका स्थानमा पनि हटलाइन सेवाको शुरुआत गरिने जानकारी दिए । सबै प्रकारका उपभोग्य सामग्रीको अभाव नभएको तर बजारमा केही व्यापारीले अनावश्यकरूपमा नकारात्मक हौवा फैलाएको बताए ।

हाल साल्ट ट्रेडिङसँग आगामी दशैँसम्म पुग्ने गरी नुन स्टकमा छ । “तर नुन सकिए जसरी प्रचार भयो, यसलाई चिर्न जरुरी भयो”, मन्त्री भट्टले भने । यस्तै साविकको खाद्य संस्थानसँग कूल २० हजार मेट्रिक टन धान स्टक छ । उक्त परिमाणको धानबाट मात्रै १४ हजार मेट्रिक टन चामल उत्पादन हुन सक्छ । सरकारी मिलले मात्रै दैनिक एक हजार क्विन्टल बढी चामल उत्पादन गर्ने क्षमता राख्दछ ।

बजार अनुगमनलाई अब एकीकृत योजना र कार्यदलमार्फत अगाडि बढाउने सरकारको योजना रहेको मन्त्री भट्टको भनाइ छ । मुलुकका ३७ वटै नाकाबाट प्रवेश गर्ने यात्रुको स्वास्थ्य परीक्षण क्वारेन्टाइन निर्माण तथा तथ्याङ्क सङ्कलन गर्नेसम्मको काम भइरहेको उनले जानकारी दिए ।

सो अवसरमा वाणिज्य सचिव वैकुण्ठ अर्यालले सरकारी बिदाको समयमा समेत बजार अनुगमनलाई तीव्र पारिएको, अनुमगन प्रक्रियालाई समेत केही परिवर्तन गरिएको जानकारी दिए । उपभोक्ताले पनि सरकारलाई सहयोग गर्नुपर्ने उल्लेख गर्दै उनले व्यापारीले बढी मूल्य लिए किन भनेर प्रश्न गर्न र सरकारी निकायलाई खबर गर्न उनले आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ