उपचार व्यवस्था गर्न नसक्ने भए राजीनामा दिनु स्वास्थमन्त्री ढकाल ज्यू
आदर्श केसि,
प्रकाशित २०७६ फागुन २८ बुधबार
655
Shares
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना संक्रमणको जोखिम भएका अन्य देशबाट उद्दार गरेर क्वारेन्टाइनमा राख्न नसकिने भनी दिएको अभिव्यक्ति आपत्तिजनक छ । मन्त्री ढकालको अभिव्यक्तिलाई धेरैले गैरजिम्मेवार अभिव्यक्तिको संज्ञा पनि दिएका छन । यस्तो आतंकित अवस्थामा राज्यको अभिभावकको प्रतिनिधित्व गर्ने स्वास्थ्यमन्त्रीको हार खाएको जस्तो कमजोर अभिव्यक्तिले सरकारको थप आलोचनामा बल पुगेको छ । मन्त्री ढकालको अभिव्यक्ति कतिलाई सामान्य लाग्न सक्ला । जसरी बाहिर मिडियामा आए जस्तै अब संक्रमितहरुलाई राज्यले क्वारेन्टाइनमा राख्न सक्दैन भनेर मन्त्रीले भनेको साँचो हो भने निकै गम्भिर बिषय हो ।
मन्त्री ढकालको अभिव्यक्ति दुई तरिकाबाट बाहिर आएका छन । एउटा विदेशमा फसेकालाई चीनबाट उद्दार गरेको जस्तो गर्न सकिन्न अर्को ,कोरोनो लागेपछि मात्रै सरकारले जिम्मा लिन्छ क्वारेन्टाइनमा राख्न सक्दैन ? यदि साँचो हो भने यी दुई कुरा सरकारको मन्त्रीले भन्ने नहुने अति कमजोर कुरा हुन । सार्वभौमसत्ताको व्यवस्थामा प्रत्येक नेपाली नागरिकले राज्यबाट एकरत्ति भए पनि आशा गर्छ । नागरिकको आशालाई निराशा बनाउने र राज्यको शक्ति कमजोर छ भन्ने आशयको अभिव्यक्तिको सबै तिर आलोचना हुनु स्वभाविक पनि हो । कोरोनोबाट संक्रमित भएर धेरै नागरिकले राज्यलाई भारि बोकाए जस्तो गरि मन्त्रीले दिएको अभिव्यक्तिसँग मेल खाने अवस्था पनि नेपालमा सृजना भएको छैन । तर उनको अभिव्यक्तिले नेपाली नागरिकमा निराशा र आक्रोश बढाएको छ । कतिपय संक्रमित देशहरुमा नेपाली नागरिकहरु उद्दारको पर्खाइमा होलान । आफ्नो देश र राज्यप्रति विश्वास र भरोषा छ होला । तर यता देशका स्वास्थ्यमन्त्रीको यस्तो भनाइले उनिहरुको मन कस्तो भएको होला ? राज्यको सबै शक्ति सकिएर अन्तिम र भयावह अवस्थामा मात्रै दिनुपर्ने अभिव्यक्ति मन्त्री भट्टराईले आत्तिएर भने या नियतबस भने त्यो थाहा छैन ।
नेपालीहरुलाई यतिबेला राज्यले त आत्मामनोवल बढाउन सान्त्वना दिनुपर्ने अवस्था हो । राज्यले उपचारको सबै व्यवस्था गर्छ सावधानीको उपाय पालना गरौ भन्ने अवस्था हो । यस्तो अवस्थामा म सक्दैन, हामी सक्दैनौं,आफै उपचार गर, सरकारले सक्दैन भन्नुले नागरिकहरुले कस्तो अनुभुति गर्छन् होला ? यहि हो त राज्यले नागरिकको स्वास्थ्य सुरक्षामा अपनाएको संवेदनशीलता ? नागरिकलाई थप छट्पटी गराउने खालको अभिव्यक्ति दिने मन्त्रीलाई कार्वाही हुनुपर्छ । मन्त्रीले हो या राज्यले हो उपचार गर्न सक्दैन भनेको ? कसले हार खाएको यसको जवाफ सरकारले नागरिकलाई दिनुपर्छ । राज्य भनेको शक्ति हो,त्यहि शक्तिलाई नागरिकले आशा गर्ने हो ।
मन्त्रीले शक्ति सकियो भनेर नेपाली नागरिकलाई चिन्ताजनक अवस्थामा पुर्याउने मिल्छ ? विमानस्थलमा सात जना स्वास्थ्यकर्मी राखेर ज्वरो नाप्ने मात्रै शक्ति छ नेपालसँग ? हाम्रो सरकारको स्वास्थ शक्ति टेकु र पाटन मा सय जनाको रुघाखोकी चेकजाँच मात्रै गर्न सक्ने छ ? आपतकालीन अवस्था आयो भने संकटमा परेका नागरिक उद्दार गर्न सक्दैन नेपाल ? मन्त्री ढकाल भन्छन् घरमै उपचार गर,घरमै सुरक्षाको व्यवस्था गर हामी सक्दैनौं ? कति निरीह र लज्जास्पद अभिव्यक्ति मन्त्री ढकाल ज्यूको ? कोरोनोको यस्तो विश्वब्यापि आतंकको बेला नेपालले आफ्नो देशका नागरिकलाई कसरी सुरक्षित राख्ने ? कसरी देशका नागरिकको आत्माबल बढाउने ? कसरी नागरिकको उपचार र उद्दार गर्ने ? यी कुराहरु थाहा छैन होला मन्त्री ढकाललाई ?