arrow

इरानविरुद्ध सैनिक कारबाही रोक्न अमेरिकी संसदको प्रस्ताव

logo
सिन्ह्वा
प्रकाशित २०७६ फागुन २९ बिहिबार
Iran-america-deal.jpg

वासिङ्टन । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले बुधबार इरान विरुद्ध सैनिक प्रयोग गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको अधिकार कटौती गर्ने एक प्रस्तावलाई पारित गरेको छ । उक्त प्रस्तावलाई राष्ट्रपति ट्रम्पले अस्वीकार गर्न सक्ने ह्वाइट हाउसका अधिकारीहरुले बताएका छन् ।

संसदमा भएको मतदानमा राष्ट्रपतिको अधिकार कटौती सम्बन्धी प्रस्तावको पक्षमा २२७ र विपक्षमा १८६ मत परेको थियो । डेमोक्रेटिक पार्टीको बहुमत रहेको तल्लो सदनमा सांसदहरुले पार्टी लाइन अनुसार नै मतदान गरेका थिए ।

तल्लो सदनले पारित गरेको उक्त प्रस्तावमा कङ्ग्रेस (संसद) को स्वीकृति बेगर इरान विरुद्ध अमेरिकी फौज परिचालन गर्न नपाइने उल्लेख छ ।

यस्तै प्रस्ताव रिपब्लीकन पार्टीको बहुमत रहेको सिनेटले गत महिना पारित गरेको थियो ।

जानकारहरुका अनुसार राष्ट्रपतिले संसदबाट पारित प्रस्ताव विरुद्ध विशेषाधिकार (भिटो) प्रयोग गर्न सक्ने र राष्ट्रपतिको विशेषाधिकारलाई नकार्न संसदमा डेमोक्रेटिक पार्टीको पर्याप्त मत छैन ।

इरानी सैनिक कमान्डर कासिम सुलेमानी इराकको बग्दादमा अमेरिकी कारबाहीमा मारिएपछि इरान र अमेरिकाबीचको तनाब शिखरमा पुगेको छ । उक्त घटना भएको दुई महिनापछि नै अमेरिकी संसदमा इरान विरुद्ध सैनिक कारबाही गर्नुअघि संसदको अनुमोदन लिनुपर्ने गरी प्रस्ताव पारित गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ