arrow

कैलालीमा एसईईको तयारी पूरा : १६ हजार ५ सय ६२ परीक्षार्थी सहभागि हुँदै

logo
गोविन्द बीसी,
प्रकाशित २०७६ फागुन २९ बिहिबार
education1.jpg

बौनिया । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कैलालीबाट १६ हजार ५ सय ६२ परीक्षार्थी सहभागि हुने भएका छन् । आउँदो चैत्र ६ गतेदेखि १७ गतेसम्म संचालन हुने माध्यमिक शिक्षा परीक्षामा साधारण धारतर्फ १६ हजार ३ सय ९ जना र प्राविधिक धारतर्फ २ सय ५२ जना विद्यार्थी परीक्षामा सहभागि हुँदैछन् ।

शिक्षा विकास तथा समन्वय इकाई कैलालीका अनुसार नियमिततर्फ १५ हजार ९ सय ५ जना र ग्रेडवृद्धितर्फ ४ सय ५ जना परीक्षार्थी सहभागि हुने भएका छन् । त्यस्तै, प्राविधिक धारतर्फबाट २ सय ५२ जना सम्मिलित हुने परीक्षा शाखाकी प्राविधिक सहायक पार्वती चौधरीले जानकारी दिइन् ।  

यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा जिल्लाबाट नियमिततर्फ ७ हजार ६ सय ३५ छात्र र ८ हजार ५ सय २२ जना छात्राले सहभागिता जनाउँदै छन् । ग्रेडवृद्धितर्फ १ सय ३८ छात्र र २ सय ७१ छात्राले सहभागिता जनाउँदै छन् । प्राविधिक धारमा १ सय ६९ छात्र र ८३ जना छात्रा रहेका छन् ।

जिल्लाभर ५३ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । प्रत्येक परीक्षा केन्द्रमा एकजना केन्द्राध्यक्ष रहने गरि ५३ जना केन्द्राध्यक्ष तोकिएको छ । त्यस्तै २० जना परीक्षार्थी बराबर एकजना निरीक्षक नियुक्तिको व्यवस्था गरिनेछ । विद्यार्थी संख्याका आधारमा परीक्षा केन्द्रमा आवश्यकता अनुसार एक या दुईजना सहायक केन्द्राध्यक्ष सहित अन्य निरीक्षक तथा  सहायक कर्मचारीको नियुक्ति केन्द्राध्यक्षले नै गर्ने शिक्षा विकास तथा समन्वय इकाई कैलालीका प्रमुख (उपसचिव) बैकुण्ठ सुवेदीले बताए ।

परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन सम्पूर्ण तयारी पूरा भएको छ । केन्द्राध्यक्षको नियुक्तिपछि बिहीबार उनीहरूलाई परीक्षा संचालन तथा व्यवस्थापन सम्बन्धि आवश्यक अभिमुखिकरण समेत दिइएको छ । जिल्लाका सबै परीक्षा केन्द्रमा उत्तरपुस्तिका पुगिसकेको, प्रवेशपत्र सम्बन्धित विद्यालय मार्फत विद्यार्थीलाई दिइसकिएको र गोप्य सामाग्री (प्रश्नपत्र) जहाँ सुरक्षित हुन्छ, केन्द्र नजिक पायकपर्ने ठाँउमा व्यवस्थापन गरिएको इकाई प्रमुख सुवेदीलेे बताए । परीक्षामा सुरक्षाकर्मी बाहेक करिब १ हजार १ सय जनशक्ति परिचालन गरिने उनले बताए । परीक्षाको अनुगमन तथा निरीक्षणका लागि शिक्षा विकास तथा समन्वय इकाई, जिल्ला परीक्षा समन्वय समिति, माथिल्लो निकाय प्रदेश शिक्षा विकास तथा समन्वय निर्देशनालय, राष्ट्रिय परीक्षा बोर्ड लगायतले गर्ने उनले बताए ।

जिल्लाभित्र रहेका १ सय ७२ सामुदायिक र १ सय ५ संस्थागत गरि कुल २ सय ७७ विद्यालयका विद्यार्थीहरु माध्यमिक शिक्षा परीक्षामा सामेल हुने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ