arrow

स्वर्ण पदक विजेता धामीलाई शैल्यशिखरको सम्मान

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७६ फागुन ३० शुक्रबार
sangita-dhami-awarded.jpg

दार्चुला। १३ औ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा नेपाललाई स्वर्ण दिलाउने कुस्ती खेलाडी संगिता धामीलाई शैल्यशिखर नगरपालिकाले सम्मान गरेको छ। कुस्ती ५५ केजी समुहको स्पर्धामा भाग लिइ स्वर्ण पदक जित्ने संगिता धामीलाई शैल्यशिखर नगरपालिकाले विहीबार गोकुलेश्वरमा एक कार्यक्रमको आयोजना गरि नगद  १ लाख ५ हजार र सम्मान पत्रले सम्मान गरिएको हो।

पुर्खौली घर दार्चुलाको मालिकार्जुन गाउँपालिका भएकी संगितालाई नगरपालिकाले नगद १ लाख ५ हजार तथा सम्मान पत्र प्रदान गरी सम्मान गरिएको नगर प्रमुख अमर सिंह धामीले बताए। नगरकार्यपालिकाको बैठकले गरेको निर्णय अनुसार संगितालाई सम्मान गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर बिष्टले बताए। १३ औं दक्षिण एशियाली खेलकुदमा कुस्ती खेलको ५५ केजी समुहको स्पर्धामा भाग लिई स्वर्ण पदक जित्न सफल संगिताको उज्वल भविष्यको कामना गर्दै सम्मान तथा नगद प्रदान गरिएको उहाले बताए।

पदक बिजेता संगितालाई समग्र शैल्यशिखरबासी आम नागरिक एवं दार्चुलाबासीको तर्फबाट चन्द्र र सुर्य अंकित राष्ट्रिय झण्डालाई खेलका माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा फहराउन निर्वाह गरेको भुमिकाको कदर गर्दै सम्मान तथा नगद प्रदान गरिएको उनको भनाई छ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख धामीले खेल प्रतिभाको सम्मान गर्न नगरपालिका संधै प्रतिबद्धा रहेको बताए। खेलाडीलाई खेल क्षेत्रमै टिकाई राख्न तथा नयाँ आउने प्रतिभालाई हौसला प्रदान गर्न स्वर्ण पदक बिजेता संगितालाई सम्मान गरिएको उनको भनाई छ। सम्मानित भएकी कुस्ती खेलाडी संगिता धामीले नगरपालिकाले गरेको सम्मानले खेल प्रतिको रुचि झन बढ्दै गएको प्रतिक्रिया दिएकी छिन्।

पुर्खौली ठाउँमा बोलाएर नगरपालिकाले सम्मान गरेको प्रति संगिताले खुसी समेत व्यक्त गरेकी छन्। खेलमा भाग लिदा पदक जित्छु भन्ने आशा रहेको तथा स्वर्ण पद नै जितेर ल्याउछु भन्ने आश नरहेको उनले बताइन्।

१३ औं दक्षिण एशियाली खेलकुदमा ५५ किलो तौल समुहमा संगिताले कुस्ती तर्फ इतिहास रचेकी थिइन्। १९ वर्षीय संगिताले फाइनलमा बंगलादेशकी सर्केर रिमलाइ हराउदै स्वर्ण पदक जितेकी थिइन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ