arrow

देशको शासन कसले चलाइरहेको छ ?

मन्त्रीको शपथमा प्रधानमन्त्रीको अनुपस्थिति कस्तो ?

logo
केदार सुवेदी,
प्रकाशित २०७६ फागुन ३० शुक्रबार
pm-teaching-hospital1.jpg

प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनको मिर्गौला प्रत्यारोपणका लागि गरिएको शल्यकृयाको नवौं दिनमात्रै उनकी पत्नीले भेटिन् । २१ फागुनमा उनको शल्यकृया भएको थियो भने यो भेट २९ फागुनमा भएको हो । घरको परिवार र त्यसमा पनि पत्नीले समेत भेट्न नपाएको अवस्थाले नै बुझाउँछ यतिका दिनसम्म प्रधानमन्त्री आफनो स्वास्थ्य र त्यससँग सम्वन्धित विषयमा बाहेक राज्यका कुनैपनि औपचारिक अनौपचारिक कुरामा पुराका पुरै बेखवर नै रहे । उनका मन्त्रीहरुले समेत भेट्न पाएनन् । यसले बुझाउने कुरा हो राजकीय कामका बारे यी दिनमा उनको वा भनौ देशको कार्यकारीणीको कतै सम्वन्ध नै भएन र सम्पर्कनै जोडिएन ।

त्यसैपनि देशको सार्वभौमसत्ताको धारण गरिरहेको कार्यकारीणी आफनो यस्तो हैसियतलाई काम चलाउनसम्मका लागि पनि कतै हस्तान्तरण नगरी कति घण्टाको लागि हो बेहोस नै रहे वा बेहोस पारियो । राज्यमा यस्तो कार्यकारीणी पद एक निमेष पनि खाली रहन हुँदैन । त्यसकारण पनि यो घटनालाई विज्ञहरुले शासकीय मूल्य मान्यता र संविधानमाथि नै जानीबुझिकन खेलवाड गरिएको माने ।

विद्यमान  संविधानलाई आधार मान्ने हो भने शासन गर्ने हैसियत प्राप्त एउटै मात्र प्रमुख कार्यकारी पदाधिकारी हो प्रधानमन्त्री । संविधानले उसैमाथि सार्वभौम सत्ता निहित गराएको छ । त्यसका प्रावधान हेरौं:

७५. कार्यकारिणी अधिकार: (१) नेपालको कार्यकारिणी अधिकार यो संविधान र कानून बमोजिम मन्त्रिपरिषदमा निहित हुनेछ ।

(२) यो संविधान र कानूनको अधीनमा रही नेपालको शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालन गर्ने  अभिभारा मन्त्रिपरिषदमा हुनेछ ।

७६. मन्त्रिपरिषदको गठन: (१) राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषदको गठन हुनेछ ।

यसले नै प्रष्ट पार्छ देशको कार्यकारिणी अधिकार यो संविधान र कानून बमोजिम मन्त्रिपरिषदमा निहित हुन्छ र त्यस्तो  मन्त्रिपरिषदको अध्यक्षता  प्रधानमन्त्रीबाट हुनेछ ।

अहिले प्रधानमन्त्रीको उपचारका नाममा यो कार्यकारिणी कतै कसैलाई कामचलाउनका लागि पनि हस्तान्तरण नगरि जे गरियो त्यसबाट संविधानको यो प्रावधानको कार्यान्वयन भएको देखिएन । कतिपय राजकीय कामहरु कार्यकारी अधिकार भएको पदाधिकारीभन्दा बाहिरबाट भएको अवस्था प्रकट भयो भने त्यस्तो काम कसले गर्‍यो भन्ने पनि गोप्य नै रह्यो ।।

उदाहरणका लागि अर्थमन्त्रीको राजीनामा स्वीकृत, पुन नियुक्ति र शपथमा कार्यकारी प्रमुख प्रधानमन्त्रीको सार्वजनिक तहबाट नै अनुपस्थिति रहेको घटनालाई लिन सकिन्छ । 

यो देशको प्रमुख कार्यकारीणी धारण गरेका सम्वैधानिक पदाधिकारी भनेका प्रधानमन्त्री केपी शर्मा ओली नै हुन् । उनी आफ्नो मिर्गौला प्रत्यारोपणका लागि  त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका भोलीपल्ट  यी अर्थमन्त्रीको राजीनामा आयो । यस्तो राजीनामा आउँदा प्रधानमन्त्रीलाई पुरै दिन चिकित्सकले आफनो चिकित्सकीय सुरक्षा घेरामा लिइसकेका थिए दवाइपानी आदिको सेवन, विभिन्न परीक्षण र शरिर शुद्धिका अन्य प्रकृयाहरु अवलम्वन गर्दै । त्यसबेला शिक्षण अस्पताल, प्रत्यारोपण विभागका प्रमुख प्रा डा प्रेमराज ज्ञवालीको नेतृत्वको टोलीले नै भनिरहेको थियो –‘प्रत्यारोपणका लागि प्रधानमन्त्रीलाई आज (२० फागुन) देखि प्रत्यारोपणको पूर्वतयारीमा राखिनेछ ।’ उनी १९ गते भर्ना भएका थिए ।

शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाका अनुसार पनि ‘कुनै पनि ‘अप्रेशन’ गर्नका लागि केही तयारी गर्नुपर्छ, त्यही तयारीका लागि प्रधानमन्त्रीलाई आजै (१९ गते नै) अस्पताल भर्ना गरिएको हो ।’ यो भनाइले पनि बुझाउछ यो दिन वा बेलादेखि प्रधानमन्त्री आफनो खटनमा छैनन त्यसको भोलीपल्ट २० गते पनि र  यसको यसको पर्शीपल्ट २१ फागुनमा उनको धेरैनै गम्भीर प्रकारको शल्यकृया हुँदै थियो प्रत्यारोपणको । 

त्यसदिन यी कार्यकारीणी अर्थात प्रधानमन्त्रीलाई कतिघण्टा लामो हो ( बेहोसको  यस्तो समय चिकित्सकले गोप्यनै राख्न रुचाए) बेहोस पारेर शल्यकृया गरिरहिँदाको बेला अर्थात यसैदिन यता शासकीय रुपमा धेरै ठूला काम भए । अर्थमन्त्रीले दिएको राजीनामा स्वीकृत भयो, उनलाई त्यही क्षण होला पुन नियुक्ति गरियो अर्को मन्त्रालय समेत थपिएर । त्यसपछि राष्ट्रपतिबाट प्रधानमन्त्रीको अनुपस्थितिमानै सपथ खुवाइयो । मन्त्रीको शपथमा पधानमन्त्रीको. उपस्थिति अनिवार्य नै हुन्छ । तर यो ठाउँमा प्रधानमन्त्रीको उपस्थिति भएन । यसको अर्थ हुन्छ यो बेला वा यो दिन प्रधानमन्त्री कुनै पनि राजकीयकार्य सम्पन्न गर्ने अवस्थामा थिएनन् । उनले गर्ने काम अरुकसैले कार्यवाहक भएर सम्पन्न गरे कि भन्ने पनि रहेन । तर कामचाहिँ त्यस्तै औपचारिक रुपको राजकीय नै भयो ।

त्यसकारण प्रश्न उठ्यो –यी काम कहाँबाट भए ? कार्यकारी प्रमुख पधानमन्त्री अस्पतालको शैयामा लडिरहेका बेला मन्त्रीको राजीनामापत्र राष्ट्रपतिसमक्ष कसले पुर्‍यायो, त्यसलाई स्वीकृति दिएको पत्र प्रधानमन्त्रीले कसरी पाए, उनले तीनै मन्त्रीलाई अर्को मन्त्रालय समेत थपेर पुन नियुक्ति गरेको  शिफारिसपत्र कसरी राष्ट्रपतिसमक्ष पुग्यो र राष्ट्रपति आफैले मन्त्रीलाई प्रधानमन्त्रीको अनुपस्थितिमा नै शपथ खुवाउन कसरी तयार भइन भन्ने हेर्दा सामान्य लागे पनि राजकीय काममा पालना गर्नै पर्ने औपचारिकता यो ठाउँमा देखिएन । अरु सबैकाम प्रधानमन्त्रीले भित्रभित्रै गरेअरे भनेर मानियो भने पनि आफना मन्त्रीको शपथको काममा त उनको हुनै नहुने अनुपस्थिति भयो नै ।

हुन पनि प्रधानमन्त्रीको यो उपचार गम्भीर नै देखियो । अस्पतालका कार्यकारी निर्देशकले छ दिनमा घर पठाउँछौँ भनेका थिए त्यसबेला ।  मिर्गौला प्रत्यारोपण गरेका बिरामी सामान्यतयाः छ दिनमा घर फर्कने गरेका उदाहरण दिदै  अस्पतालका निर्देशकले प्रत्यारोपण सम्पन्न भएको छ दिनमा प्रधानमन्त्रीलाई घर पठाइने भनी बताएका कुरा मिलेन । उनले भनेका थिए ‘अहिलेसम्मको हाम्रो अनुभवले त्यही बताउँछ, हाम्रो लक्ष्य पनि त्यही छ, प्रत्यारोपण भएको छ दिनमा ‘डिस्चार्ज’ गर्छौ, हाम्रो ‘रुटिन’ त्यही हो, कुनै पनि बिरामीलाई पाँचदेखि छ दिनमा घर पठाउँछौँ ।’ तर यो कुरा मिलेन । छ दिनमा डिस्चार्ज  गर्नु पर्नेमा नवौंदिनमा मात्र घरका एकजनालाई वल्लवल्ल भेट्न दिइयो । यो भनेको केही सारो गारो भएको भन्ने बुझाउने कुरा नै हो ।

देशको कार्यकारी यस्तो अवस्थामा रहँदा यस्तो बेला शासनको आधिकारिकता वा भनौं निरन्तरता कायम गर्न कसैलाई पनि कार्यबाहाक समेत दिइएन । स्वाभाविक छ प्रधानमन्त्रीको शल्यकृया गरिँदा उनलाई अचेत गराइयो नै । पहिले प्रधानमन्त्री विदेश जाँदाको समयमा  कार्यवहक दिने प्रचलन थियो । यो बेहोस बनाइँदाको क्षणमा त्यतिपनि गरिएन । यसको अर्थहो देशको कार्यकारीणीको अविछिन्न रहनुपर्ने अवस्था कायम रहेन । तर पनि त्यसलाई स्वाभाविक मानियो ।

संविधानले देशको कार्यकारीणीको प्रयोग गर्ने अधिकार मन्त्रिपरिषदको अध्यक्ष प्रधानमन्त्रीबाहेक अरुलाइ दिएको छैन । तर त्यो अध्यक्षले आफनो अनुपस्थितिमा कुनैपनि राजकीय काम गर्न त्यही मन्त्रिपरिषद भित्रको कुनै सदस्यलाई अधिकार प्रत्यायोजन गर्न भने सक्त छ ।  तर त्यस्तो प्रत्यायोजन औपचारिक वा भनौं राष्ट्रपतिबाट नै घोषणा हुनपर्छ, कसैलाई कुनैकामको संयोजन गर भनी अराएको भरमा  पुग्दैन । अझ भन्ने हो भने त्यस्तो अधिकार प्रयोग गर्नेले शपथ नै खानुपर्ने पनि हुन्छ । शपथ नखाइकन गरिएका कामको औपचारिकता वा आधिकारिकता रहँदैन । राजकीयकाम भनेका सानाठूला जस्ता हुन तिनले औपचारिकतानै खोज्छन ।

एउटा विडम्वनायुक्त अवस्थानै भन्नु पर्छ, देश यता गम्भीर संकटमा छ र उता कार्यकारी प्रमुख कसैलाई पनि राजकीय कामको जिम्मा नलगाइ अस्पतालमा लडिरहेका छन् । प्रधानमन्त्रीको यो शल्यकृया कुनै आपतकालीन होइन । सबैकुरा योजनावद्धनै भएका हुन । त्यसो हो भने देशको शासकीय काममा यस्तो खेलवाड किन भन्ने प्रश्न उठ्छ नै ।

देशको कार्यकारी यतिलामो समयसम्म राज्यसत्ता सञ्चालनका कुनैपनि सूत्रसंग सम्पर्कमा नरहनु भनेको सामान्य कुरा होइन । यतिखेर देशको स्थिति सामान्य छैन । प्रत्येक मानिसका गतिविधिमाथि नियन्त्रण गर्नु परेको छ । देशका भूभागमा आवतजावत रोएिकोछ । दर्जनौं देशका नागरिकलाई प्रवेशमा प्रतिवन्ध लगाइयो । देश भित्र हरेक क्षण जीवनमरणको सवाल उत्पन्न भैरहेको छ । संयुक्त राष्ट्रसंघले विश्वव्यापी महामारीको घोषणा गरिसकेको छ । 

स्थिति कति भयावह भने यो सरकारको वितेको दुइवर्षको शासनकालमा दुइवटा सर्वदलीय बैठक भए । एउटा पाँचमहिना अघि छिमेकी देशले राज्यको सिमाना मिचेको बारे गएको मंसिरमा र दोस्रो कोरोनाभाइरसको आक्रमण सन्दर्भमा हालै फागनुन २८ मा । तर पछिल्लो समय यस्तो सर्वदलीय बैठक हुँदा देशको प्रधानमन्त्री अनुपस्थित थिए । यसले त्यो बैठकको अध्यक्षता कसले गरेको थियो  भन्ने समेत प्रश्न खडाभयो । यद्यपि प्रधानमन्त्री अस्वस्थ्य रहेका कारणले मानवीय पक्षबाट पनि यसलाइ ठूलो विषय बनाइएन होला तर राज्य सञ्चालनका सन्दर्भमा त यस्ताकुराले अर्थ राख्छन नै । आफनो कार्यालयमा भएको यस्तो बैठकमा प्रधानमन्त्रीले आफनो भौतिक रुपले हुने अनुपस्थितिमा कसैलाई काम चलाउन दिइएको थियो भने यस्तो संकटका बेला राज्य यो रुपमा कार्यकारी विहीन भएको मानिने थिएन होला ।  प्रधानमन्त्री कार्यालयमा बसेको सर्वदलीय बैठकमा स्वाभाविक छ प्रधानमन्त्रीको अनुपस्थिति खड्कने भयो नै । त्यसमाथि यस्तो प्रकोप संग भिडने सरकारको तयारी जस्तो फितलो देखियो त्यसको पनि कसैले जवाफ दिएको पाइएन । कारण थियो त्यस्तो सरकारका तर्फबाट समुच्च रुपमा जवाफदिने पदाधिकारी नतोकिनु ।

यसले कस्तो भयो भने अघिल्लो दिन स्वास्थ्यमन्त्रालयले कोरोना संक्रमित मुलुकबाट आउने नेपालीलाई क्वारेन्टाइनमा राख्न नसकिने, आफैले त्यस्तो क्वारेन्टाइन बनाएर बस्नु पर्ने भनी बक्तव्यनै जारी गरेको थियो । त्यसको भोलीपल्ट कोरोना संक्रमित मुलुकबाट आउने नेपालीलाई क्वारेन्टाइनमा राख्नुपर्ने दलहरुको दवाव आयो तर सरकारले यसबारे के गर्नेभन्ने सुझाउनै सकेन । संक्रमित मुलुकबाट आउने नेपालीलाई क्वारेन्टाइनमा नराख्ने वा राख्न नसकिने भन्ने कुराले आफना नागरिकको सुरक्षा प्रति सम्वेदनशील नभएको भन्ने सन्देश फैलिन गयो जो आफैमा आपत्तियुक्त थियो ।

प्रधानमन्त्रीको अस्पतालबास र छिसिक्क भेटघाट नभएको नवौं दिन वित्दा विश्वको तथ्यांकमा १ लाख २९ हजार कोरोना भाइरसबाट संक्रमित भएका, ४ हजार ७ सय ४९ ले मृत्युवरण गरेका विवरण सावजनिक भैरहेका थिए जसमा नेपाल जोखिमको आठौ स्थानमा स्थानमा थियो । विश्व स्वास्थ्य संगठनले नै नेपाललाई अत्यन्त जोखिमको मुलुकको सूचीमा राखेको अवस्थाको विवरण हो यो । यतिबेलासम्म विश्वका १ सय २४ मुलुकमा यो भाइरस फैलिसेको थियो ।

नेपाल भित्र भएको सुरक्षात्मक तयारीमा प्रश्न खडाभएका अवस्था पनि हो यो । साधारणले त तयारीमा कमजोरी देखे वरिष्ठ चिकित्सकको बुझाइपनि त्यस्तै रह्यो । डा. सुन्दरमणि दीक्षितको भनाइ मात्रै हेरियो भने यो भयावहता र सरकारको उदासिनता बुझाउछ । उनकै शव्द –‘सरुवा प्रकृतिको रोग नियन्त्रणका लागि समयको ठूलो महत्व हुन्छ, आज गर्ने काम भोलि गरौंला भनेर राखियो भने त्यसको मूल्य भयानक हुनसक्छ । चीन सरकारले अरू देशमा नजानू, अरू देशको मान्छेलाई सर्ला भनिराखेको छ, नेपाल सरकारचाहिँ चूप लागेर विदेशीहरूलाई आउन दिइराखेको छ । एयरपोर्टको सामान्य थर्मोमिटरले जाँच गरेर यो रोग आउनबाट बच्न सकिँदैन । त्यसमाथि स्वास्थ्यमन्त्रीले कोरोना भाइरस लागेमा आफ्नै क्वारेन्टाइनमा बस्नुपर्छ, सरकारले हेर्न सक्दैन भनिरहिएको छ, यो कस्तो कुरा हो ? ।’

विज्ञहरुका यस्ता भनाइले पनि आपत परेको बेला देशमा शासनको जिम्मालिने कोही नभएको वा शासननै वारिस जस्तो भएको नै बुझाउँछ ।



नयाँ