arrow

पितृ तार्न जहाँ रुखमा झुण्ड्याइन्छ लुगा

logo
यमुना भण्डारी,
प्रकाशित २०७६ चैत १ शनिबार
tree-cloths.jpg

काठमाडौं। सँधै भीडभाड भइरहने ठाउँ। बत्तिबाल्ने मात्रै होइन, फोटो खिच्नेको पनि उस्तै लाइन । काठमाडौंबाट पूर्व, ४३ किलो मिटर गएपछि चैते आउँछ, चैते गुम्बा । त्योदेखि माथि सिढीँ चडेर २० मिनेट उकालो लागेपछि आउँछ, नमोबुद्धको खास गुम्बा।

चारैतिर जंगल छ, पहाडको टुप्पोमा छ, नमोबुद्धको खास गुम्बा । यो गुम्बाबाट टाढा–टाढाका हिमश्रृंखलाको दृष्यपान गर्न सकिन्छ। नमोबुद्धको गुम्बासंगै एउटा मेलको रुख छ । जुन रुखमा विभिन्न थरी लुगा झुण्ड्याइएको देखिन्छ । ती लुगा हुन्, दिवंगत मान्छेहरुका।

त्यहीँ रहेका बज्र लामाले भने, ‘यो रुख मरिसकेका मान्छेको लुगा झुण्ड्याउने रुख हो । यो रुखमा लुगा झुण्ड्यायो भने दिवंगत ति मान्छेले पाउँछन् भने मान्यता छ । त्यही कारण परिवार तथा आफन्तजनले यहाँ लुगा ल्याएर झुण्ड्याउँछन् ।’
तर, त्यो लुगा त्यही मरेको मान्छेले लगाएको लुगा हुनुपर्छ भन्छन्, लामा। लुगामा आ–आफ्नो गच्छअनुसार भेटी (पैँसा) चामल राखेर झुण्ड्याउँछन्, परिवारका सदस्य तथा आफन्तजनले।

बज्र लामाका अनुसार गुम्बाभन्दा बाहिरका रुखमा लुगा झुण्ड्याएर हुँदैन । उनी भन्छन्, ‘नमोबुद्धको गुम्बासँगै भएकाले यही रुखमा लुगा झुण्ड्याइन्छ।’ लुगा झुण्ड्याएकाहरुकै नामा गुम्बामा बत्ति बालिन्छ । विशेष गरेर यसो गर्नेहरु नेवाः समुदायका मान्छेहरु बढी छन्।

लुगा झुण्ड्याउनेहरु गएपछि भने त्यो लुगा गुम्बाका मानिसले निकालिदिन्छन् । लामा भन्छन्, ‘फोहोर हुन्छ । दियो बालेर लुगा  झुण्ड्याउने मान्छे गएपछि हामी निकालीहाल्छौँ ।’ किन ? उनले भने, ‘कोही कपडा त फोहोर हुन्छ । र, जुत्ता तथा मरेका मान्छेको फोटोले नराम्रो देखिन्छ । त्यही कारण निकाल्नु पर्ने हुन्छ । घुम्न आउने मान्छेलाई नराम्रो लाग्छ ।’ उनका अनुसार एक दुईटा होइन, कति हुन्छ कति राखेर साध्य नै लाग्दैन । व्यवस्थापन गर्न कठिन हुन्छ। 

त्यही कारण फोटो र जुत्ता त जंगलतिरै झुण्ड्याउने बनाएका छौँ, उनले भने, ‘तपाईले देख्नु भयो होला ।’ रुखबाट हटाएको लुगा कामलाग्ने अर्थात् सग्लै भए गरिब दुःखीलाई दिने गरिएको छ । काम नलाग्ने लुगा फोहोरसँगै जलाउने गरिन्छ। दशैँको पूर्णिमामा यही ठाउँमा ठूलो मेला लाग्छ । त्यो बेला खुट्टा राख्ने ठाउँ नै हुदैन भन्छन्, लामा । मान्छे मरेको एक वर्षभित्र यहाँ आउनु पर्छ, उनी भन्छन्, ‘विशेष गरी पूर्णिमामा मान्छेहरु धेरै आउँछन् ।’ यो लुगा झुण्ड्याउने ठाउँ अन्त कहीँ पनि छैन । 

यहाँ देशबाहिरबाट पनि मान्छेहरु आउने गर्छन्। पितृ खुशी पार्नेहरु प्राय यहाँ आउने गर्छन्। वार्षिकी सकिएपछि मान्छेहरु आउने गरेको लामाले सुनाए। यो परम्परा नौलो होइन, असाध्यै पूरानो हो। तर, अहिलेसम्म निरन्तरता पाइरहेको छ। यस्तो परम्पराले निरन्तरता पाए पनि यो ठाउँ विकसित नभएकोमा भने स्थानीय असन्तुष्ट छन्। 

पहिले गोरेटो बाटो थियो, अहिले ठूलो भयो । गाई जात्रा आउनु भन्दा अघि गुँला पर्वको मेला लाग्छ। काठमाडौं, भक्तपुर र ललितपुरको नेवाः समुदायका मानिसहरु बाजा बजाएर आउछन् , मेला भर्न। 

यहाँ आउनेहरुसँग अहिले कुनै पनि शुल्क लिने गरिएको छैन। लामाले भने, ‘हामीले व्यवस्थापन राम्रो गर्न सकेका छैनौँ। १०० जनालाई राखेर खाना खाने व्यवस्था छैन।’ अब शुल्क  लिने व्यवस्था हुनसक्छ। 

विदेशी पाहुना आउँछन्। स्कुल, कलेजबाट विद्यार्थी पनि आउँछन्। पहिल्यै पूजा गरिसकेका विश्वम्बर महर्जन भन्छन्, ‘यहाँ अलिकति व्यवस्था राम्रो हुने हो र होटेल खुल्ने हो भने  गज्जब हुन्थ्यो।’ उनले आफु कीर्तिपुरको पाँगा बाट आएको बताए। उनले भने, ‘हामी परिवारकै सदस्यसहित आएका थियौँ। बुबा आमाको लुगा  झुण्ड्याउन। र, पितृ तार्न।’



नयाँ