arrow

मानव जीवनको परम लक्ष्य जीवन मुक्ति

logo
प्रकाशित २०७६ चैत १ शनिबार
life-heaven.jpg

काठमाडौं। अध्यात्म उपनिषदमा ऋषि भन्छन्-अहंकारबाट मुक्त भएको मनुष्यले नै आत्मस्वरूपलाई प्राप्त गर्दछ। अहंकार एकदमै सूक्ष्म छ। मनुष्यलाई थाहै लाग्दैन कि ऊ कहिले त्यसको फन्दामा पर्यो। अहंकार अत्यन्त सूक्ष्म छ, यसकारण त्यसलाई पक्रनको निम्ति सूक्ष्म यन्त्रको जरुरत पर्छ। त्यो सूक्ष्म यन्त्र हो-आत्म-तत्त्व।

आत्म-तत्त्वमा स्थिर व्यक्तिले नै अहंकारलाई चिन्न सक्छ अनि त्यसको फन्दामा पर्न सक्दैन। आत्मालाई तत्त्वद्वारा नजान्ने व्यक्ति स्वयं आत्म-विकासको मार्गमा बाधक बन्छ अनि उसले पतनलाई आमन्त्रण दिन्छ। अहंकारको बन्धनबाट मुक्त भएको मनुष्यले नै आत्म-स्वरूपलाई सही अर्थमा प्राप्त गर्दछ। अनि चन्द्रमा जस्तो निर्मल भएर सदा आनन्दरूप तथा स्वयं प्रकाश बन्छ।

ऋषिले शिष्यलाई अहंकारबाट छूटने तरीकाहरू सम्झाउँदै भन्छन्- हे शिष्य! क्रिया नाश भएपछि (अर्थात् कर्म गर्दै निरासक्त भाव) चिन्ताको नाश हुन्छ। जब मनुष्यले कुनै काम गर्छ, तब त्यो कर्म उसको बन्धनको कारण बन्छ। उसको कर्त्तापनको भावले अहंकारलाई पुष्ट्याउँछ-'यो अमुक काम मैले गरेको हो, यो मेरो अधिकार हो।' यो अहंकारको प्रवृत्ति, कर्मप्रति आसक्ति नै मानिसको चिन्ताको विषय बन्न जान्छ।

यसकारण ऋषि भन्छन् कि क्रिया नाश भएपछि चिन्ताको नाश हुन्छ अनि चिन्ता नाश भएपछि वासना नाश हुन्छ। वासनाको नाश हुनु नै मोक्ष हो, यहि मुक्ति हो। जब मानिसको मनमा कर्तापनको अहंकार हुन्छ, तब उसले सबैमाथि शासन गर्न चाहन्छ, सबैबाट आफ्नो बढाई सुन्ने अपेक्षा गर्छ। यदि कसैले उसलाई अहंकार एकदमै नराम्रो चीज हो भनेर सम्झायो भने उसलाई रिस उठ्छ अनि हर समय बदला लिने प्रयास गर्दछ। जसको परिणाम यो हुन्छ कि उसको अहंकार अझै बढदै जान्छ अनि कुरा सम्झनको बदलामा चिन्ता र क्रोधको अग्निमा जल्न थाल्छ। जब मनमा क्रोध हुन्छ, तब काम- वासनाले अझै बेसी पक्रन्छ। मन प्रसन्न छ, आनन्दित छ भने, वासनाहरुले पक्रन सक्दैन। जब मनमा चिन्ता बेसी हुन्छ, तब मन वासनातिर दौडन्छ।

यसकारण ऋषि भन्छन्, चिन्ता नाश भयो भने वासना पनि नाश हुन्छ । यदि तपाई निश्चिन्त हुनुभयो भने वासना क्षीण हुने छ। यदि तपाई एकदमै निश्चिन्त हुनुभयो भने मन वासनातिर दौडने छैन। जब जीवनमा केहि वासना रहँदैन, तब तपाई मुक्त हुनु हुनेछ यहि जीवनमा। अनि जो यो जीवनमा मुक्त हुन सक्दैन, उसले मरेपष्ठि म मुक्त हुनेछु भनेर भरोसा नराख्ने हुन्छ । यस बारेमा गुरुनानक देवले स्पष्ट शब्दमा भनेका छन्-
जीवत समझो, जीवत बूझो, जीवत मुक्ति निवासा।
मुये मुक्ति कहें गुरु लोभी, झुठा देत विश्वासा।।

गुरुनानक देव भन्छन् कि यहि जीवनमा जान, यहि जीवनमा त्यसलाई गहिरो गरि बूझ, किनभने जीवनमा गहिरो गरी बुझ्नेले नै मुक्ति पाउँछ । उनी अगाडी चेताउँछन् कि जसले मरेपछि मुक्ति पाउने आशा गर्छ या जुन गुरुले आफ्नो शिष्यलाई मरेपछि मुक्ति मिल्छ भनेर बताउँछ, उसले शिष्यहरूलाई झूटो आश्वासन दिन्छ, भ्रम दिन्छ। यसकारण ऋषिको कुराको गहिराई सम्झनको लागि अहंकारको सूक्ष्म प्रवृत्तिलाई सम्झनु पर्ने छ। तब हामी चिन्ताबाट मुक्त हुनेछौं। जब चिन्ताबाट मुक्त हुनेछौं, तब वासनाको नाश हुनेछ। वासनाको नाश नै जीवन मुक्ति हो।

अध्यात्म उपनिषदमा ऋषिले अन्तिम गूढ रहस्य सम्झाउँदै  भन्छन्- 'हे शिष्य! ब्रह्मनिष्ठामा कहिल्यै प्रमाद नगर्नु, किनभने यहि मृत्युको कारण हो, यस्तो ब्रह्मवादीहरुको कथन छ।' कतिपटक मानिस राम्रो बाटोमा हिंडछ, राम्रो कामहरू गरिरहन्छ, तर त्यसमा जब सूक्ष्म अहंकार प्रवेश गर्छ, तब उसले प्रमाद गर्न थाल्छ। किनभने प्रमादको मतलब हो- कर्त्तव्यलाई अकर्त्तव्य सम्झेर त्यसलाई छोडन अनि अकर्त्तव्यलाई कर्त्तव्य सम्झेर त्यसमा लाग्नु। भूल-चूक या नशा आदि। जब मान्छे कुनै कुराको नशामा हुन्छ, उसले सही र गलत के हो छुट्याउन  सक्दैन, किनभने ऊ सूक्ष्म अहंकारले प्रेरित हुन्छ। जहाँ उसको  मनमा प्रमाद आउँछ, ब्रह्मचिन्तन जस्तो सर्वश्रेष्ठ मार्गलाई छोडेर पतनको मार्गतिर लाग्छ। 

यसकारण अध्यात्म उपनिषदका ऋषिले शिष्यलाई शिक्षा दिदै भन्छन्, भूलेर पनि ईश्वर चिन्तनको मार्गमा प्रमाद गर्नु हुँदैन, यो मेरै मात्र मत होइन, यो ब्रह्मवादीहरुको जाँच-पर्खेको अनि अनुभव गरेको कुरा हो।

जसरी लेउलाई पानीदेखि केहि समय हटाए पनि त्यसले फेरी पानीलाई ढाक्छ। उस्तै प्रकार समझदार व्यक्ति ब्रह्म-निष्ठादेखि अलिकति पनि विमुख भयो भने, मायाले उसलाई तत्काल ढाक्छ यसकारण सतत् सतर्क रहन पर्दछ। त्यस समयसम्म सतर्क रहनु पर्छ, जबसम्म मायारुपी लेउ अलिकति पनि रहँदैन। जब सारा लेउ बीज सहित नष्ट हुन्छ, तब साधक व्यक्ति जीवन-मुक्तिको अन्तिम स्टेजमा पुग्छ। सदा यो याद राख्नुपर्छ कि जीवनमा कहिले अहंकारलाई आउन दिनु हुँदैन। सतत् जागरुक रहेर, आत्मस्थ रहेर सूक्ष्म अहंकारको पक्राईदेखि माथि उठर सदा निर्मल, आनन्दित मन, जीवन-मतिको मार्गमा अघि बढ्दै जानु पर्दछ। यहि जीवनको मूल उद्देश्य हो।



नयाँ