arrow

मर्मत भएन विद्युत् गृह

logo
रासस,
प्रकाशित २०७६ चैत ३ सोमबार
NEA-hq.jpg

रुकुमपूर्व। रुकुम (पूर्व)को सिस्ने गाउँपालिका– ८ मा रहेको जमाखोला लघुजल विद्युत् गृह एक वर्षदेखि मर्मत भएको छैन । गत वर्ष असोज ३० गते आएको  पहिरोले सो गृहलाई क्षति पुर्‍याएको थियो। क्षति भएको लामो समयसम्म  मर्मत हुन नसकेको उपभोक्ताले गुनासो गरेका छन्।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु दुई करोड १३ लाख र स्थानीयको श्रमदान गरी झण्डै रु चार करोडको लगानीमा सो गृहको २०७२ माघ २६ गते निर्माण सम्पन्न भएको थियो । उपभोक्ताले तीन वर्ष मात्र विद्युत् बाल्न पाएका थिए।  ९० किलोवाट क्षमता रहेको सो आयोजनाबाट सिस्ने गाउँपालिका वडा नम्बर ७, ८ र रुकुम (पश्चिम) मुसिकोट नगरपालिका–छिङका गरी करिब ९२६ घरधुरी लाभान्वित भएका थिए।

ठूलो लगानीमा निर्माण गरिएको विद्युत् आयोजना डेढ वर्षदेखि बन्द हुँदासम्म मर्मततर्फ उपभोक्ता समिति तथा स्थानीय सरकार कसैको ध्यान जान सकेको छैन । अहिले उक्त क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणको विद्युत् जडान गरिए पनि धेरै विद्युत् भार कटौती हुने गरेको स्थानीयको गुनासो छ । जामाखोला लघुजल विद्युत् आयोजना उपभोक्ता समितिका अध्यक्ष बिर्खबहादुर बुढाले पर्याप्त बजेटको अभावमा मर्मत गर्न नसकिएको र स्थानीय सरकारका साथै अन्य कुनै निकायले वास्ता नगरेको बताए। आयोजनामा प्रयोग भएका समान अहिले काम नलाग्ने अवस्थामा पुगेका छन्।  सिस्ने गाउँपालिका–८ का वडाध्यक्ष खर्कसिंह थापाले मर्मत गर्न बोलपत्र आह्वान भएको जानकारी दिए।

हिमपातले विद्युत् सेवा अवरुद्ध
तीनदिन लगातार परेको वर्षा र हिमपातका कारण जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका–२ मा विद्युत् सेवा अवरुद्ध भएको छ । तीन दिनदेखि लगातार परेको हिमपातका कारण वडामा रहेको झालुङ घारीखोला लघुजलविद्युत् आयोजनाबाट उत्पादन भएको २२ किलोवाट क्षमताको विद्युत् सेवा अवरुद्ध भएको हो। 

हिमपातका कारण विद्युत्का पोल ढलेपछि विद्युत् सेवा अवरुद्ध भएको पुथाउत्तरगङ्गा गाउँकार्यपालिका सदस्य जीताराम कामीले जानकारी दिए। हिउँका कारण वडाभित्रका झण्डै २० देखि २५ वटासम्म विद्युत्का पोल ढलेकाले शनिबार रातिदेखि विद्युत् सेवा अवरुद्ध भएको उनले बताए। उनका अनुसार विद्युत्का तारमा अत्यधिक हिउँ जम्मा भई पोलले थेक्न नसक्दा पोल ढलेका हुन्।

विद्युत् सेवा अवरुद्ध हुँदा वडाका पेल्मा, यमाखार, भलारलुङ, हिम, घुइवाङ र जिगावाङका नागरिक अध्यारोमा बस्न बाध्य भएका छन विद्युत् पोल गाड्न करिब एक हप्ता लाग्ने बताइएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ