arrow

हुलाकी राजमार्ग विस्तार गर्न घर भत्काइँदै

logo
रासस,
प्रकाशित २०७६ चैत ३ सोमबार
postal-highway-road-hulaki.jpg

तुलसीपुर। हुलाकी राजमार्गअन्तर्गत दाङको लमही–कोइलावास सडकखण्डमा मिचेर बनाइएका घर टहरा भत्काउन शुरु गरिएको छ। गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले आफ्नो गाउँपालिकाअन्तर्गत सो राजमार्गभित्र पर्ने घर टहरा भत्काउन शुरु गरिएको जानकारी दिए। सडक मिचेर बनाएका घर टहरा हटाउन १५ दिने सूचना जारी गर्दा पनि सम्बन्धित घरधनीले अटेर गरेपछि गाउँपालिका आफैँले टहरा हटाउन शुरु गरेको उनले बताए। “हामीले हुलाकी राजमार्गअन्तर्गत सडक मिचेर बनाएका घर टहरा हटाउन १५ दिने सूचना जारी गरेका थियौँ”, अध्यक्ष यादवले भने, “तर अटेर गरेपछि गाउँपालिकाले डोजर चलाएर हटाउन शुरु गरेका हौं।

अहिले सडक विस्तारको काम अघि बढिसकेको जनाइएको छ। “घर टहराले गर्दा राजमार्ग विस्तारमा समस्या हुँदै आएको थियो”, उनले भने, “अहिले भने टहरा हटाएपछि राजमार्ग विस्तारमा सहज हुँदै गएको छ।”

जग्गाको मुआब्जा पाएर पनि केहीले घरको मुआब्जा पाउनुपर्छ भन्ने माग राखेकाले पनि यस्तो समस्या आएको थियो। केहीले जग्गा बैंकमा राखेर ऋण लिएकाले पनि मालपोत कार्यालयले जग्गा रोक्का गरेको छ। त्यही कारणले पनि केहीलाई मुआब्जा वितरणमा पनि समस्या हुँदै आएको अध्यक्ष यादवले बताए।

सडक निर्माण गर्दा लमहीदेखि कोइलावाससम्मै धेरै समस्या भएको सडक निर्माण कम्पनी कालीका कुमार जेभीका प्रतिनिधि राजेन्द्र श्रेष्ठले जानकारी दिए। धेरैजसो स्थानमा स्थानीयको अवरोधका कारण निर्माण कार्य ढिलाइ भएको उनले बताए। “अहिले दाङ खण्डमा निर्माणको काम पूरा गर्ने समय सकिनै लागेको छ”, उनले भने, “स्थानीयकै अवरोधकै कारण सडक निर्माण ढिला हुँदै गएको छ।”

लमहीमा पनि भत्काइने
हुलाकी राजमार्गअन्तर्गत लमही नगरपालिका खण्डमा घर टहरा भत्काउने तयारी थालिएको छ। यसका लागि घरको अभिलेख लिने कार्य भइरहेको नगरपालिकाका प्रमुख कुलबहादुर केसीले जानकारी दिए। “हामीले पनि हुलाकी राजमार्गअन्तर्गत सडक मिचेका घरहरु भत्काउने तयारी थालेका छौँ”, उनले भने, “त्यसका लागि अहिले घरको अभिलेख तयार पार्ने काम गरिरहेका छौं।” 

पूर्व–पश्चिम राजमार्गदेखि लमही बजार हुँदै कोलहीको बगइसोतासम्म सडक मिचेर बनाएका घर भत्काउनका लागि अभिलेख तयार पार्ने काम भइरहेको जनाइएको छ। अभिलेख सङ्कलन गरेपछि सर्वदलीय बैठक बोलाएर घर हटाउने विषयमा छलफल गर्नेसमेत नगरप्रमुख केसीले बताए। उनले लमही बजार क्षेत्रका धेरैजसो जग्गाधनीले जग्गाको मुआब्जा पाइसकेको र केहीले आफ्नै कारणले पाउन नसकेको जानकारी दिए। भत्काउने घरको अभिलेख निकालेपछि मुआब्जाको लागि हुकाली राजमार्ग कार्यालय पठाउने र कार्यालयको निर्णयअनुसार काम अगाडि बढाइने प्रमुख केसीको भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ