५ रुपैयाँमा पाइने मास्क शनिवारबाट साताको ५ लाख उत्पादन हुँदै, दिपकले उठाए जिम्मा
प्रकाशित २०७६ चैत ४ मंगलबार
478
Shares
काठमाडौं। व्यवसायी दिपक मल्होत्राले एक सातामा पाँच लाख मास्क बनाउने गरि शुरु गरेको कामले गती लिएको छ। विश्वभर कोरोना भाइरसको संक्रमण देखिँदै गर्दा मल्होत्राले त्यसको जोखिम कम गर्न प्रयोग गरिने मास्कको उत्पादन गर्ने कामको अगुवाई गरेका छन्।
नेपाल चेम्बर अफ कर्मस र सरकारको सहयोगमा मल्होत्राले सातामा पाँच लाख मास्क उत्पादन गर्ने सक्ने क्षमताको मेसिन ल्याएर उत्पादन सुरु गर्न लागेको जानकारी दिए। दक्षिण भारतबाट ल्याइएको मास्क बनाउने मेसिन मंगलवार बेलुकासम्म सुनवल नाका आइपुग्ने छ। भन्सारको प्रक्रिया पुरा गरि मेसिन बुधवार काठमाडौं ल्याइ शुक्रवारसम्म जडान हुने मल्होत्राले जानकारी दिए।
लुभुमा रहेको एक गार्मेन्ट फ्याक्ट्रीबाट मास्क उत्पादन हुनेछ। मास्क स्वास्थ्यका मापदण्ड पुरा गरेर उत्पादन हुने पनि मल्होत्राले बताए। यसरी उत्पादित मास्कको लागत ६ देखि ७ रुपैयाँ भएपनि मूल्य ५ रुपैयाँ कायम गर्ने तयारी छ।
केही दिनअघि मात्रै चेम्बरले मल्होत्राको संयोजकत्वमा कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारलाई सहयोग गर्न कमिटी समेत गठन गरेको थियो। सोही कमिटीले दिएको सुझावका आधारमा मल्होत्राले मास्क बनाउने मेसिन नेपाल ल्याउने भएका हुन्।
मास्क उत्पादन हुने मेसिनमा सरकारसँग केही छुट नलिने र कच्चा पदार्थ आयातमा भने भन्सार छुट लिने गरी काम अगाडि बढाउन लागिएको छ। यसरी उत्पादित मास्क सस्तो दरमा बिक्री गर्नुका अतिरिक्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन र प्रस्थान दुवै कक्षमा यात्रुलाई निः शुल्क वितरण हुनेसमेत योजना उत्पादकको छ।