सिस्नोको स्वाद : माछा मार्न जाने भन्दै खोला गएर सिस्नो टिपेर ल्याउँथे

यमुना भण्डारी, प्रकाशित मिति : २०७६ चैत ४ मंगलबार
तस्बिर : सिस्नोको पात

काठमाडौं। सिस्नो भन्नेवित्तिकै पहिले–पहिले दूरदराजका भोक टार्ने ‘खुराक’भन्ने गरिन्थ्यो। अझ कर्णालीमा भोकमरी हुँदा सिस्नोले छाक टारेका खबर सुनिन्थे। तर, अहिले सिस्नो विपन्न परिवारको छाक टार्ने खुराकमा सिमित रहेन। प्रशोधित सिस्नो अहिले देशका तारे होटेलमा मात्रै होइन विदेशसम्म पुग्न थालेको छ।

नेपालका पहाडी प्राय सबै जिल्लामा पाइने सिस्नोको व्यवसायीक प्रवद्र्धन सुरु भइसकेको छ। जसरी अहिले यत्रतत्र पाइने वनस्पतिजन्य झार ‘गाँजा’को वैधानिकतामा जोडबल दिन अभियान थालिएको छ। त्यसरी जताततै पाइने सिस्नोको प्रर्वद्धन गर्न सके असाध्यै राम्रो हुने बताउँछन्, यसको गुणवत्ताका जानकारहरु।

हुनेखानेका लागि बेवारिसे झार थियो, यो सिस्नो। तर, विपन्नको ज्यान यही सिस्नोमा निर्भर रहेको सन्दर्भ पुरानो भइसकेको छैन। मुलुकले व्यवस्था एवं रुपमा कोल्टे फेरेको छ। सारमा अझै कोल्टे फेर्न बाँकी छ। दूरदराजमा अझै यही सिस्नोले कयौँका छाक टारिरहेको छ।

विस्तारै यसले अर्को परिचय पाउन थालेको छ र जीविकोपार्जनको उपयुक्त माध्यम बन्न थालेको छ। प्रशस्त पौष्टिक तत्व पाइने सिस्नो पहिले तरकारीको स्रोतका रुपमा लिने गरिन्थ्यो। सिस्नो अहिलेसम्म तीन्, चार प्रकार भेटिएका छन्। सिस्नोले स्वास्थ्यलाई राम्रो मात्रै गर्दैन। यसले औषधिको काम पनि गर्छ। सिस्नो स्वस्थ र विरामी दुबैका लागि अति उपयोगि छ।

सिस्नो मानव स्वास्थ्यको लागि त फाइदाजनक छ नै जनावरलाई पनि त्यतिकै फाइदाजनक छ। सिस्नोमा क्याल्सियम, प्रोटिन, भिटामिन सी, कार्बोहाड्रेट, फाइवर, फस्फोरस र आइरन जस्ता तत्व पाईन्छ। सिस्नोले मधुमेह, उच्चरक्तचाप, ग्यास्टिक, अनियमित महिनावारी, खाना अरुची, पथरी, क्यान्सर, जन्डिस, रक्तअल्पता, जोर्नी दुःखेको सुनिएको शरीरमा रगतका नयाँ सेल बनाउन महत्वपूर्ण योगदान गर्छ। पिसावको संक्रमण हुनेहरुले सिस्नो खादा फाइदा छ। गर्भवती तथा सुत्केरी महिलालाई खुवाउनु अझ फाइदाजनक छ।  

सिस्नो खाने घरेलु तरिका अलिक फरक छ। सिस्नोलाई सजिलै हातले टिप्न सकिदैन। चिम्टाले टिप्नुपर्छ। सिस्नो शरीरमा लाग्नसाथ पोल्छ। पोलेको ठाउँमा फोका उठ्छ। त्यसैले सावधान भएर टिप्नुपर्छ।

टिपेर ल्याएको सिस्नो फोहोर भए कसरी पखाल्ने ? अन्य साग धोए जस्तो हातले धुन सकिँदैन। अझ पानी लागे त सिस्नो झन् झरझराउँदो अर्थात् ज्यूँदो हुन्छ। चिम्टाकै सहायताले पखाल्ने हो। पानीमा चामलको पीठो वा आँटा राखेर नुन हालेर पखाल्दा मात्रै त्यसमा भएका किरा र किटाणु जान्छ। धोएको सिस्नो, चामल वा पिठो हालेको तातो पानीमा घोटेर पकाइन्छ। र अन्यमा तेलले झान्ने गरिन्छ।

सिस्नोको कुरा गर्दा–गर्दै महेन्द्र भुजेल मुख मिठ्याउँछन्, ‘यो सिस्नो हामीले धेरै खायौँ। अझ सिस्नोको फुलको त कूरै नगरौँ। दाल जसरी पकाउदाँ मलाईत झन् मिठो लाग्छ।’

ससुरा’बालाई सुगर छ। गाउँबाट ल्याएको सिस्नो टिमुर हालेर पकाउँदा स्वादैँ फरक हुने क्या, उनले भने, ‘हाम्रो घर, गाउँतिर त तरकारी नहुँदा माछा मार्न जाने भनेर खोला तिर जान्छन्  अनि सिस्नो ल्याएर पो आउँछन्।’

नयाँ