arrow

कोरोना : नेपाल–भारत मैत्री बस सेवा बन्द

logo
प्रकाशित २०७६ चैत ४ मंगलबार
india-nepal-flag-new-aa.jpeg

कोरोना भइरसको सङ्क्रमण फैलिन नदिन पूर्वतयारी स्वरुप धनगढीदेखि भारतको नयाँ दिल्लीसम्म सञ्चालनमा रहेको नेपाल–भारत मैत्री बस सेवा बन्द गरिएको छ । धनगढीबाट गौरीफंण्टा नाका हुँदै दिल्लीसम्म दैनिक तीन बस सञ्चालनमा थिए ।

यसबाहेक गौरीफंण्टा नाका हुँदै दाङबाट दिल्लीका लागि दैनिक छुट्ने थप दुई बस सेवा पनि बन्द गरिएको छ । कैलालीको त्रिनगर प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक महादेव भट्टले धनगढीबाट नयाँ दिल्लीका लागि छुट्ने बस सेवा सोमबारबाट बन्द गरिएको बताए।

 यता सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले कोरोना भाइरसको कारण यातायात क्षेत्रमा प्रतिकुल प्रभाव परेको बताए । लामो तथा छोटो दुरीमा चल्ने बस सेवामा यात्रुको सङ्ख्या घट्दै गएकोले यातायात सेवा प्रभावित भएको हो ।

धनगढीदेखि काठमाडौँसम्म दैनिक १७ वटा बस सञ्चालन हुने गरेकोमा कोरोना भाइरसको कारण यात्रुको आवागमन घट्दा १० वटा बस मात्र चलाउनुपर्ने देखिएको सापकोटाले बताए। धनगढीदेखि विराटनगर, वीरगञ्ज, जनकपुर, बुटवल, पोखरा जस्ता शहरका लागि छुट्ने बस सेवा कटौती गर्नुपर्ने देखिएको सापकोटाले बताए। पहाडी क्षेत्रका रुटमा मानिसको आवागमन घट्दै गएको छ ।

रोकथामको प्रयास
कैलाली त्रिनगर भन्सार कार्यालयको खाली रहेको भवनलाई कोरोनाका शङ्कास्पद बिरामी राख्न क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले यसबाहेक वडा प्रहरी कार्यालय धनगढी नजिक रहेको अर्को भवनलाई पनि क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने पहल गरिएको बताए।

कोरोनाका शङ्कास्पद बिरामी फेला परेमा यस्ता बिरामीको तत्काल सीमा नाकाबाट उद्धार गरी क्वारेन्टाइनमा लैजान त्रिनगर भन्सार नाकामा एम्बुलेन्स तयारी हालतमा राखिएको छ ।  कैलालीको खक्रौला सीमा नाकाको हकमा टीकापुर अस्पतालमा एम्बुलेन्स तयारी हालतमा राखिएको छ ।

सेती प्रादेशिक अस्पताल धनगढीमा पाँच वटा ‘आइसोलेसन‘ कक्षको व्यवस्था गरिएकोमा भेन्टिलेटरसहितको थप कक्षको व्यवस्था गर्न पहल गरिएको छ । सुदूरपश्चिम प्रदेशका भारतसँग नजिक रहेका त्रिनगर, खक्रौला लगायतका सीमा नाकामा सञ्चालन गरिएका ‘हेल्थ डेस्क’ मार्फत नेपाल–भारततर्फ आवागमन गर्नेको स्वास्थ्य जाँच नियमित रुपमा गर्ने गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले कोराना भाइरस रोग निगरानी तथा रोकथामका लागि हेल्थ डेस्क सञ्चालन मार्गदर्शन तयार पारेर सोही आधारमा आवश्यक ठाउँमा हेल्थ डेस्क सञ्चालनमा ल्याएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ