arrow

जनजागृति लालीगुराँस गोल्ड कपको अन्तिम चारमा

logo
प्रकाश धौलाकोटी।
प्रकाशित २०७३ वैशाख १२ आइतबार
laliguras-gold-cup.jpg.jpeg
तेह्रथुम। लालीगुराँस नगरपालिका स्थित बसन्तपुर बजारमा शनिबारबाट सुरु भएको दोस्रो लालीगुराँस गोल्ड कप नकआउट फुटबल प्रतियोगिताको पहिलो खेलमा संखुवासभा फुटबल संघलाई पराजित गर्दै जनजागृति फुटबल क्लब हिले धनकुटा सेमीफाइनलमा प्रवेश गरेको छ। 
 
बसन्तपुरस्थित मैदानमा भएको खेलमा निर्धारित समयमा दुवै टिमले १–१ को बराबरी खेलेपछि ट्राइबेकरमा ४–३ गोल अन्तरले संखुवासभालाई पाखा लगाउँदै हिले धनकुटाले अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको हो। वर्षा र हावाहुरीका कारण निर्धारित समयभन्दा एक घण्टा ढिला गरी सुरु भएको खेलको पहिलो हाफमा दुवै टिमले बराबरी खेलेका थिए।
 
दोश्रो हाफको २३ औँ मिनेटमा संखुवासभाका जर्सी नं. ७ का खेलाडी दीपक चौहानले गोल गर्दै टिमलाई अग्रता दिलाए। तर दोश्रो हाफको इन्जुरी समयमा जनजागृति हिले धनकुटाका जर्सी नं. १० का खेलाडी सन्जय रम्तेलले जवाफी गोल फर्काउदै खेललाई बराबरीमा ल्याए। थप समयमा पनि दुवै टिमबाट गोल हुनसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो। 
 
पहिलो खेलमा जनजागृति युवा क्लब हिले धनकुटाका किपर फुपुछिरिङ शेर्पा म्यान अफ दि म्याच घोषित भए। प्रतियोगिता अन्तर्गत आइतबार म्याङलुङ नगरपालिका, तेह्रथुम र दोर्जे गियर प्रालि काठमाडौँबीच खेल हुने आयोजक पाथीभरा युवा सामुदायिक क्लबले जनाएको छ। 
 
प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी मुरारीप्रसाद वस्तीले लालीगुराँसको राजधानी तीनजुरे मिल्के जलजले क्षेत्रको प्रवेशद्धार बसन्तपुरमा आयोजित गोल्ड कप फुटबलले पर्यटन प्रवर्धन र पहाडी क्षेत्रको खेलकुद विकासकालागि महत्वपुर्ण सहयोग पुग्ने धारणा राखे।
 
वि.स. २०५६ सालबाट सुरु भएपनि निरन्तर सन्चालन हुन नसकेको प्रतियोगिताको निरन्तरता स्वरुप स्थानीय युवाहरुको अगुवाईमा यसवर्षबाट पुनः लालीगुराँस गोल्डकप सन्चालन भएको हो। प्रतियोगिताको विजेताले १५ ग्राम सुनजडित १ सय २० तोला चाँदीको गोल्ड कपसहित नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ