arrow

गाउँपालिकाको आफ्नै बजेटबाट विद्युत विस्तार

logo
प्रकाशित २०७६ चैत ६ बिहिबार
bijuli-pole.jpg

बाँके । राप्तीसोनारी गाउँपालिकाको आफ्नै लगानीमा विद्युत विस्तारको काम सुरु भएको छ । बर्षौदेखि विद्युतविहीन अवस्थामा रहेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ र ४ मा बिद्युतीकरण गर्न  पोल गाड्ने काम सुरु गरिएको हो । 

विद्युतिकरणका लागि बिहीबारबाट पोल गाड्ने काम सुरु भइसकेको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ बैसामा गाउँपालिका अध्यक्ष लाहुराम थारुले एक कार्यक्रमका बीच शिलान्यास गरेका हुन् । 

नेपाल बिद्युत प्राधिकरणले लगाएको ठेक्काको विवाद नसुल्झेपछि गाउँपालिकाले आफ्नै बजेटबाट बिद्युतीकरणको काम सुरु गरेको हो । 

सर्बसाधारणलाई बिद्युत सेवाबाट बञ्चित हुन नदिन गाउँपालिकाले आफ्नै बजेटबाट बिद्युतीकरणको काम सुरु गरेको अध्यक्ष थारुले प्रष्ट्याए । यसका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष २०७६–०७७ मा एक करोड ८९ लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिए । 
अध्यक्ष थारुका अनुसार चालु वर्षभित्र वडा नम्बर ३ र आगामी आर्थिक वर्षको बजेटबाट वडा नम्बर ४ मा बिद्युतीकरणको काम सम्पन्न गरिनेछ । 

बिद्युत बिहिन अवस्थामा रहेको राप्ती सोनारीको वडा नम्बर ५ मा भने बिद्युत प्राधिकरणकै ठेक्का यथावत रहेको बताइएको छ । 

बिद्युतीकरण शिलान्यास गरिसकेपछि बोल्दै गाउँपालिका अध्यक्ष थारुले गाउँपालिकाले बिद्युतीकरणको कामलाई उच्च प्राथमिकतामा राखेको बताए ।

बिद्युतीकरणको काम सम्पन्न गर्न संघ र प्रदेश सरकारसँग आवश्यक पहल गर्ने र सम्भव नभएमा गाउँपालिका आफैले बजेट थपेर भएपनि कामलाई पुर्णता दिने प्रतिबद्धता जनाए । 

बिद्युतीकरणका लागि वडा नम्बर ३ मा कुल १ सय ९५ वटा पोल गाड्ने योजना छ । पोल गाडिसकेपछि तार बिस्तार गर्ने काम सुरु गरिने गाउँपालिकाले जनाएको छ । बिद्युत पोल गाड्न सुशान निर्माण सेवाले ठेक्का सम्झौता गरिसकेको छ । 

गाउँमा बिद्युतीकरणका लागि धमाधम पोल गाड्ने काम सुरु भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । अलपत्र अवस्थामा रहेको बिद्युतीकरणको काममा गाउँपालिकाले हात हालेको भन्दै स्थानीय बासिन्दा हर्षित भएका हुन् । 

सोनारी बघौडा ग्रामिण बिद्युतीकरण समितिका सदस्य तथा  स्थानीय समाजसेवी प्रेमराज श्रेष्ठले राजनीतिक प्रतिशोधका नाममा राप्तीपारीका जनतालाई बिद्युत सेवाबाट कसैले पनि बञ्चित गर्न नहुने बताए ।

राप्तीपारी क्षेत्रमा बिद्युत बिस्तारको माग राख्दै पटक पटक धाउनु परेको स्मरण गर्दै उनले अब बिद्युतीकरणको कामले चाँडैं पुर्णता पाउने विश्वास ब्यक्त गरे । गाउँपालिकाले बिद्युतीकरणको काममा कुनै कसर बाँकी राख्न नहुनेमा उनको आग्रह छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ