arrow

नेपालका प्रिन्स विश्वको सातौं स्थानमा

logo
प्रकाशित २०७६ चैत ८ शनिबार
prince-dahal.jpg

काठमाडौं। ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालको विश्व बरियताको स्थान यथावत रहेको छ । विश्व ब्याडमिन्टन महासङ्घ (बीडब्लुएफ) ले शुक्रबार जारी गरेको नयाँ बरियतामा पुरुष यू–१९ तर्फ प्रिन्स सातौँ स्थानमा कायमै छन् ।

यसअघिको बरियतामा प्रिन्स १०औँ स्थानमा थिए । प्रिन्सले प्राप्त गरेको बरियता विश्व जुनियर ब्याडमिन्टनतर्फ अहिलेसम्मकै उत्कृष्ट नतिजा हो । नेपाली खेलाडीले प्राप्त गरेको यही नै अहिलेसम्मकै सर्वाधिक सफलता हो । प्रिन्सले गत महिना सम्पन्न डच जुनियर इन्टरनेशनल तथा जर्मन जुनियर सिरिजमा प्रि–क्वाटरफाइनलसम्मको यात्रा तय गरेका थिए । डच जुनियर इन्टरनेशनलमा उनले खेलेका तीन खेलमा दुईमा जीत र एउटामा हार तथा जर्मन सिरिजमा चार खेलमा तीन जीत तथा एउटामा हार ब्येहोरेका थिए । 

यसअघि महासङ्घले गत पुस अन्तिम साता निकालेको विश्व बरियतामा उनी ११औँ स्थानमा,  पुस दोस्रो साता १४औँ स्थानमा तथा मङ्सिरमा ३२औँ स्थानमा थिए । विश्व जुनियर ब्याडमिन्टनमा नेपालबाट विश्व बरियताको शीर्ष १० मा पुग्ने प्रिन्स पहिलो नेपाली खेलाडी बनेका छन् । दार्चुला सदरमुकाम खलङ्गा घर भएका १६ वर्षीय प्रिन्स हाल ललितपुरको जाउलाखेलीस्थित डाँफे इङ्ग्लिस बोर्डिङ स्कूलमा नौ कक्षामा अध्ययनरत छन् । हालसम्म उनी कुनै पनि विभागिय टोलीमा आबद्ध छैनन् । प्रिन्सले सुदूरपश्चिम प्रदेशबाट खेल्ने गरेका छन् । विश्व ब्याडमिन्टन महासङ्घले प्रत्येक साता सिनियरतर्फ तथा यु – १९ जुनियर खेलाडीको बरियता निर्धारण गर्ने गर्छ ।

विश्व जुनियरतर्फको बरियताको शीर्ष स्थानमा फ्रान्सका क्रिस्टो पोपोभ पनि यथावत छन् । दोस्रो स्थानमा भारतका मिराव लुवाङ, मलेसियाका कोक जिङ होङ तेस्रो, भारतका बरुण कपुर चौथो, डेनमार्कका म्याड्स जुवेल मोलर पाँचौँ तथा फिनल्यान्डका जोआकिम वल्डरफ छैटौँ स्थानमा यथावत नै रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ