arrow

कोरानो त्रास नहटुन्जेलसम्मको घरभाडा मिनाहा गर्नुपर्ने माग

logo
प्रकाशित २०७६ चैत ९ आइतबार
rental-agreement.jpg.jpeg

काठमाडौँ। भाडावाला सरोकार समाज नेपालले कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासको प्रभाव नेपालमा समेत परिरहेको अवस्थालाई मध्येनजर गरी घरभेटीले आफ्नो आर्थिक क्षमता हेरेर तीन वा चार महिनासम्म घरभाडा मिनाहा गर्नुपर्नेमा जोड दिएको छ । 

घर बहालमा बस्नेहरु अहिले ठूलो मर्कामा परेको समाजको निश्कर्ष छ । यो अवस्थालाइ आत्मसात गर्दै सरकारले तत्कालै यसतर्फ ध्यान दिनुपर्ने र मानवताका हिसाबले केही समय घरबहाल मिनाहा गर्नुपर्ने माग समेत समाजले सरकारसमक्ष  राखेको छ । 

विश्वभर फैलिएको कोरोना भाइरसका कारण नेपालले समेत सचेतना अपनाइरहेको बेला देशको सम्पूर्ण कामकारबाही ठप्प भैसकेको समेत समाजले ठहर गरेको छ । यस्तो अवस्थामा भाडामा बसोवास गर्नेहरु, भाडामा सटर तथा अन्य ठूलो व्यावसाय गरिरहेको व्यापारीहरुको व्यापार ठप्प भएको कारण घरभाडा तत्कालै सकेसम्म तीन महिना नसके केही छुट गर्न सरकार र घरधनीहरुलाई भाडावाला समाज नेपालको आग्रह छ ।
 
आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर घरभाडा सरोकार समाज नेपालले उक्त आग्रह गरेको हो । नेपालमा सम्पूर्ण नागरिकले सन्त्रासको समयमा एकजुट भएर लड्नुपर्ने र आफ्नो ठाँउबाट मानवताका हिसाबले एक अर्का प्रति गम्भिर रुपमा प्रस्तुत हुन आग्रह गरेका छन् । 

कोरोनाका प्रभाव र नकारात्मक असर नेपालको अर्थतन्त्रमा समेत परेकोले सम्पूर्ण व्यापार, व्यवसाय र कार्यालायिक कामहरु पनि ठप्प भइरहेको अवस्थामा व्यवसाय गर्ने सम्पूर्ण व्यापारीलाई समेत ठूलो धक्का पुगेको समाजको भनाई छ । नेपालकै अर्थतन्त्रमा असर पर्ने विषयलाई केन्द्रीत गरी सम्पूर्ण घारभाडा दर, विद्यालय शुल्क, कलेज तथा क्याम्पसका शुल्क तत्कालै छुट गराउनुपर्ने समाजको माग छ । सरकारलाई ध्यानाकार्षण गराएको छ । साथै, समाजले अत्यावश्यक उपभोग्य वस्तुमा कालोबजारी नियन्त्रण गरी सम्पूर्ण नागरिकलाई विपत्तको बेला सहज ढंगले उपलब्ध गराईदिन सरकारसंग आग्रह गरेको छ ।  

कार्यक्रममा नेपाल खुद्रा व्यवसायी संघका केन्द्रीय अध्यक्ष पवित्र बज्रार्चायले कोरोनाको प्रभावले आफूले चलाउँदै आएको रेस्टुरेन्ट बन्द गरिएको स्पष्ट पारे । बिपत्ति कहिलेसम्म हुन्छ भन्ने ? विषय अहिलेपनि अन्यौलतामा नै रहेको उनको भनाई छ । 

उनले भने,‘रेस्टुरेन्ट सञ्चालनमा नआए मलाई लाखौँको नोक्सान हुनेछ । हामीलाई मर्का परेको छ, व्यापार नभए हामी कहाँबाट भाडा र लिएको ऋण तिर्ने ? म प्रश्न गर्न चाहन्छु ।’ उनले आफूहरुको माग र दुःखप्रति सरोकारवाला गम्भिर नभएको भन्दै यसप्रति गुनासो पोखेका छन् । 

उनले सरकारले उक्त विषयलाई गम्भिरतापूर्वक सोच्नुपर्ने र संकटको बेलामा विशेष राहतको घोषणासमेत गर्न आवश्यक रहेको औंल्याए । कोरोनाको सन्त्रासका कारण नेपालमा साना तथा ठूला व्यापारीसमेतलाई बिस्थापित् हुने अवस्था सिर्जना भएको उनको टिप्पणी छ । ‘अहिले सरकारले सहज ढंगले उपभोग्य सामानको आपूर्ति गर्नुपर्छ । र, घर भाडा दरलाई कार्यान्वयन गर्न आवश्यक छ ।’–उनले भने ।

त्यसैगरी कार्यक्रममा नेपाल स्वास्थ्य व्यवसायी संघका केन्द्रीय अध्यक्ष नवराज बस्नेतले कोरोना भाइरस स्वास्थ्य क्षेत्रसंग सम्बन्धित विषय भएको उल्लेख गर्दै  घरभाडावाला सरोकार समाज नेपालले सुरु गरेको अभियानमा आफ्नो पूर्ण एक्येबद्धता रहेको स्पष्ट पारे । 

उनले भने,‘नेपालमा संक्रमण देखापरे भयावह स्थिति सिर्जना हुन्छ, नेपालका अस्पतालसंग यो भाइरसविरुद्व लड्ने कुनै उपकरण नै छैनन् ।’ कोरोना संक्रमित व्यक्तिको फोक्सोमा समस्या देखापर्ने र रोकथामका लागि भेन्टिलेटरको अत्यधिक मात्रामा आवश्यक पर्ने सुनाउँदे उनले भने,‘तर नेपालका कुनै अस्पतालसित भेन्टिलेटर पर्याप्त मात्रामा छैन, म यसप्रति पनि सरकारको ध्यानाकार्षण गराएको छु ।’

उनले भने,‘चारैतिर फैलिएको कोराना संक्रमणले नेपाल छैन् भन्न मिल्दैन् ।’ विश्वभर फैलिएको कोरोना भाइरसको ९० दिन पुगिसक्दापनि नेपाल सरकारले प्रभावकारी सामाग्रीहरुप्रति कुनै चासो देखाएको छैन ।’ उनले कोरोनाको संक्रमण आउँदा रेस्क्यु गर्न नेपालको केही पूर्व तयारी नरहेकोप्रति पनि गुनासो पोखे । सम्पूर्ण नागरिकलाई सचेतना अपनाउन र ‘सेल्फ–क्वारेन्टाइन’ मा बस्न बस्नेतले अपिल समेत गरेका छन् । 

उक्त कार्यक्रममा समाजसेवी हरिहर लामिछानेले कोरोनाको सन्त्रासमा मानवताका हिसाबले आफूले तीन महिना घर भाडा छुट दिने निर्णय गरिसकेको स्मरण गराका थिए । उनले भने,‘तीन महिना छुट गर्नैपर्ने बाध्यता छैन, तर केही प्रतिशत छुट गर्न मानवताका हिसाबले जरुरी छ ।’ 

काठमाडौंमा जागिर गर्ने र दैनिक ज्यालादारीमा आफ्नो जीविकोपार्जन गर्दै आएका व्यक्तिहरुलाई अहिलेको कोरोना भाइरसको सन्त्रास स्थिर नभएसम्म घरभाडामा पूर्ण छुट दिन आवश्यक रहेको उनको भनाई छ । ‘मैले यो विषयलाई अभियानको रुपमा अघि बढाउन चाहेको छु । त्यसैले मैले यो अभियानलाई सार्थक तुल्याउनको लागि निर्णयसमेत गरिसकेको छु ।’–उनले भने । 

त्यस्तै, उनले बैंक तथा वित्तिय संस्थाहरुले समेत ऋणीहरुसँग लिने ब्याज तथा ऋण पनि अहिलेको विपत्तिको अवस्थालाई आत्मासात गरेर केही छुटको प्रबन्ध गराउन सरकारको ध्यानाकाषर्ण गराएका छन् । निजी स्कुल तथा कलेजले लिने गरेको फि समेत तीन महिनासम्म रद्द हुनुपर्ने उनको जोड थियो । 

त्यसैगरी कार्यक्रममा समाजसेवी किशोरजंग राणाले विभिन्न किसिमका व्यवसाय गर्दै र घरबहालमा बस्ने सम्पूर्ण नागरिकलाई कार्यविधि ठप्प भएको कारण जीवन धान्न गाह्रो भएको सुनाएका थिए । उनले भने,‘मेरो १०० सैयाको अस्पताल छ, त्यसमध्ये ५० सैया जरुरी परे क्वारेन्टाइनको लागि दिन तयार छु ।’

विपत्तिको अहिलेको अवस्थामा सम्पूर्ण नेपालीहरु एकजुट भएर अघि बढ्नुपर्ने पनि उनले आवश्यकत्ता औंल्याए । उनले आफ्नो घरमा बहालमा बस्नेहरुको लागि तीन महिनासम्म घरभाडा छुट दिने समेत उनले घोषणा गरे । उनले देशमा विद्यमान रहेका सबै राजनीतिक दललाई समेत यस्तो विपत्तिको अवस्थामा केही रकम सहयोग गरी मानवता देखाउन आग्रह गरेका छन् । उनले भने,‘सरकारले विभिन्न तहबाट सचेतना फैलाउनुपर्छ । र, जनतालाई आवश्यक पर्ने सम्पूर्ण सामाग्री सहज रुपमा उपलब्ध गराउनुपर्छ ।’ 

उनले चुनावको बेलामा मात्रै भोट माग्न जाने तर जनतालाई आवश्यक परेको बेलामा नजाने प्रवृत्ति गलत रहेको पनि औंल्याए । उनले भने,‘नागरिकसामू चाहेको बेलामा नेताहरु गएर भोट माग्ने गर्दछन् । यो उहाँहरुको कुरा हो । तर, विपत्तिको यो बेलामा शीर्ष नेताहरुले समेत सहयोग गर्न आवश्यक छ । सम्पूर्ण नागरिकलाई एकजुट भई कोरोना भाइरस नेपाल भित्रिन नदिन र भित्रिहाले त्यसको विरुद्धमा  लड्न हातमा हात र काँधमा काँध मिलाउनसमेत म यही मञ्चबाट अपिल गर्दछु ।’

अर्का वक्ता पुण्य गौतमले कोरोना भाइरस विश्वको एक सय ८६ देशमा फैलिसकेकोले र भारतमा आईसकेकोले नेपालले सचेतना अपनाउन जरुरी रहेको टिप्पणी गरे । नेपालमा अहिलेसम्म कोरोना भाइरस नछिरेकोले बेलैमा नेपाी जनताले आवश्यक सचेतना अपनाउनुपर्ने उनको भनाई थियो । 

गौतमले भने,‘यो भाइरसँग लड्नको लागि उत्कृष्ट सामाग्री र पूर्वाधारको खाँचो छ, नेपालका अस्पतालमा यस्तो तयारी गर्नुपर्छ । आजको खाँचो भनेको यही हो ।  नेपालमा कोरोना भाइरस भित्रिए देश भयावह अवस्थामा फस्नेछ ।’ यद्धपी उनले नेपालीहरुले कोरोना भाइरसलाई आफ्नो अदम्य साहस र धैर्यता देखाई जित्न सक्ने पनि टिप्पणी गरे । 
उनले ‘चाहिनेभन्दा बढि त्रास’ ले घात निम्त्याउनेतर्फ सबैको ध्यानाकार्षण गराए । उनले थपे,‘हामी सबैले संयमता अपनाउन जरुरी छ । कोरोनाका कारण विश्व बजार नै अहिले ध्वस्त हुन पुगेको छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीबाट कोरोनाविरुद्ध लड्न खडा गरिएको ‘सार्क विपत्त कोष’मा १० करोड रुपैयाँ रकम सहयोग गर्ने प्रतिबद्धताको प्रशंसा समेत गरे । उनले भने,‘सम्पूर्ण मानिसको खल्ती रित्तिसक्यो । त्यसकारण घरधनीहरुलाई यो विषयप्रति गम्भिर हुन आग्रह गर्दछु । र, यो विषम परिस्थिति हेरेर उपयुक्त कदम चाल्न पनि आग्रह गर्दछु ।’

त्यसैगरी कार्यक्रममा नेपाल राष्ट्रिय व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष नरेश कटुवालले सम्पूर्ण उद्योग धरासायी बनेको बताएका छन । देश नै अहिले ठप्प भएको सुनाउँदै कटुवालले घरभाडामा बस्दै आएका व्यक्तिहरु ठूलो मारमा परेको उनको भनाई छ । 

उनले भने,‘घरधनी र व्यवसायवालाहरुसंग सरकारले छलफल गरी तत्कालै प्रभावकारी कदम चाल्नुपर्छ ।’ कोरोनाविरुद्व सम्पूर्ण नागरिकलाई एकजुट भएर लड्न समेत उनले आग्रह गरेका छन् । उक्त विषयलाई ध्यानमा राखी घरभाडा छुट, वैज्ञानिक भाडा र बैंकले व्यापारीसंग लिने ब्याजमा समेत छुट तत्कालै कार्यान्वयन गर्न आवश्यक रहेको पनि उनले आफ्नो धारणा राखे । 

भाडावाला सरोकार समाज नेपालले सरकारसंग विभिन्न ७ बुँदे माग अघि सारेको छ । जसमा कोरानोको प्रभाव अन्त्य नभईन्जेलसम्मको घरभाडा मिनाहा गरिनुपर्ने, बैंक तथा वित्तिय संस्थाको ब्जाज मिनाहा गरिनुपर्ने, स्कुल तथा कलेजको फि मिनाहा गरिनुपर्ने,  आपत्कालिन अवस्थामा कालोबजारी तथा भ्रष्टाचार गर्नेहरुलाई कडाभन्दा कडा कारवाही गरिनुपर्ने, अत्यावश्यक बस्तुहरुको सरल र सहज रुपमा उपलब्ध हुने वातावरण मिलाईनुपर्ने, भाडावाला आयोग गठन गरिनुपर्ने र वैज्ञानिक भाडादर लागू गरिनुपर्ने रहेका छन् । समाजले ‘आकाश हाम्रो छाना, धर्ती हाम्रो घर, सुख दुःखमा साथ दिने भाडावाला सरोकार’ भन्ने मूल नाराका साथ काम गरिरहेको पनि जनाएको छ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ