arrow

जुम्लाका किसान स्याउमा भन्दा ओखरमा आकर्षित 

logo
मोहन बिक्रम शाही, 
प्रकाशित २०७६ चैत १० सोमबार
okhar.jpg

जुम्ला। स्याउले परिचित जुम्लामा पछिल्लो समय यहाँका किसानहरु ओखरप्रति आकर्षित भएका छन् । स्याउ भन्दा ओखरमा दोब्बर फाइदा हुने भएकाले किसान ओखरका बिरुवा लगाउन हौसिएका हुन् ।

स्याउका बिरुवा जसरी ओखरका बिरुवा सजिलै नपाइने भएकाले लगाउन नपाएका सिंजावासीको चाहना यो बर्ष गाउँपालिकाले पूरा गरिदिएको हो । 

राम्रो जातको ओखरका बिरुवा विदेशबाट मात्रै आयात हुने भएकाले सर्वसाधारणको पहुँच बाहिर भएकाले गाउँपालिकाले करिब १८ लाख रुपैयाँको ओखरका बिरुवा खरिद गरि घरघरमै गएर किसानलाई हस्तान्तरण गरिएको सिजा गाउँपालिका अध्यक्ष देवल सिंह रावलले बताए। 

कोरोना भाइरसका कारण किसानलाई एकै ठाउँमा बोलाउन उपयुक्त नभएकाले प्रत्येक वडामा कर्मचारी खटाइ घरघरमै बिरुवा बाँड्ने ब्यवस्था मिलाइएको अध्यक्ष रावलले जानकारी दिए ।

सिँजा गाउँपालिकाको वडा नं २,४,५र ६ नं वडामा करिब दुईहजार ओखरका बिरुवा बाँडिएको छ। 

अठार लाख रुपैयाँ बराबरका ओखरका बिरुवा खरिद गरेको सिँजा गाउँपालिकाले पहिलो पटक सर्वसाधारणलाई ओखरका बिरुवा बाँडेको हो।

परम्परागत तरिकाले लगाईएका केही ओखरका रुखहरु गाउँ घरमा भए पनि ब्यबसायीक तरिकाले ओखरको खेती यस क्षेत्रमा गरिएको छैन ।  

ओखर अत्यधिक फल्ने, मलिलो माटो पनि नचाहिने, मूल्य पनि उच्च रहेको, सजिलै बिक्री हुने र जति लामो समयसम्म पनि राख्न सकिने भएकाले किसानहरु ओखरप्रति आकर्षित भएका छन् । 

जुम्लामा ओखर हाल प्रति दाना ५ रुपैयाँमा बिक्री हुँदै आइइरहेको छ । सडक सन्जालमा जोडिए देखिनै स्याउ लगाउन लागिपरेका जुम्लाका किसान हाल ओखरका बिरुवा लगाउन अझै उत्साहित देखिन्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ