दिपक मल्होत्राले नेपाली मास्क तयार गरे, दैनिक ७० हजार उत्पादन
प्रकाशित २०७६ चैत १० सोमबार
703
Shares
काठमाडौं। नेपाली बजारमा माग अनुसारको आपूर्ती नभएपछि व्यवसायी दीपक मल्होत्राले भारतबाट मेसिन ल्याएर नेपालमा मास्क बनाउन शुरु गरेका छन् । उनले १५ दिनमै भारतबाट मेसिन ल्याएर मास्क उत्पादन गर्न थालेका हुन् ।
उनले पहिले एक हप्तामै मास्क उत्पादन गर्ने भने पनि मेसिन ल्याउन तथा व्यवस्थापन गर्न ढिलाइ हुँदा १५ दिन लागेको बताए ।
भैरहवा नाकाबाट सामान ल्याउन दुई दिन गाडी जाममा परेको र भन्सार तिरेर मेसिन ल्याउँदा ढिलाइ भएको बताए ।
उनले सोमबारबाट दैनिक ७० हजारका दरले मास्क उत्पादन हुन थालेको बताए । उनले नेपाल चेम्बर अफ कमर्श र सरकारको सहयोगका कारण मास्क तयार गर्न सकेको जनाए ।
मंगलबारबाट लकडाउन भएका कारण मास्क आपूर्तिमा समस्या हुने देखिएको छ । मल्होत्राले आफूले तयार गरेका मास्क सरकारलाई जिम्मा लगाउने र सरकारमार्फत नै मास्क वितरण गर्ने बताएका छन् ।
आइएमएस ग्रुपका अध्यक्ष मल्होत्राले असहज परिस्थितिलाई सहज बनाउन केही समयका लागि मास्क उत्पादनमा लागेको बताएका छन् ।
विश्वमा कोरोना भाइरस फैलिइरहेका कारण मास्कको अभाव भएपछि नेपालीलाई सेवा दिन मास्क उत्पादनमा लागेका हुन् ।
उनले मास्क ब्ल्याक मार्केटमा विक्री वितरण भएका अवस्थामा आफूले उत्पादन खर्चमै मास्क विक्री गर्ने बताएका छन् ।
उनले बजारमा ७ रुपैयाँमा मास्क किन्न पाइने पनि बताएका छन् ।