arrow

के हो ‘लकडाउन’ ? उल्लंघन गरे के कार्वाही ? के गर्न पाइँदैन ?

logo
प्रकाशित २०७६ चैत ११ मंगलबार
ktm-highway.JPG

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) ले जरो गाडेको छ । कोरोनाको यही प्रभावले धेरै जसो देशहरु लकडाउन भएका छन् । 

नेपालमा पनि लकडाउन लागेको छ । नेपालमा पहिलो पटक लकडाउन लागेको हो । तर के हो लकडाउन भनी धेरैजसोलाई अलमलमा पारेको छ । 

लकडाउन भन्दा कडा कर्फ्यु भोगेका नेपालका लागि केही खुकुलो व्यवस्था लकडाउनको बानी छैन । 

त्यही बानी नपरेका नेपालीलाई सरकारले भिराइदिएको छ – मंगलबार बिहान ६ बजेदेखि एक साताका लागि लकडाउन । 

के हो लकडाउन ?
गृह मन्त्रालयले मान्छेलाई आवातजावत रोक्नुपर्ने अवस्थामा ‘लकडाउन’ गरिने बताउँछ । यसमा सुरक्षा चुनौती हुँदैन । सुरक्षा चुनौती हुँदा कर्फ्यु लगाइन्छ । 

अहिले लगाइएको लकडाउन संक्रामक रोग ऐन, २०२० अनुसार लगाइएको हो । यो स्थानीय सरकारले लगाउन पाउँदैन । केन्द्रीय सरकार तथा प्रदेश सरकारले प्रयोग गर्न पाउँछ । 

यो नियमअनुसार यदि कसैले लकडाउन नियम उल्लंघन गर्छ भने उसलाई ६ महिनासम्म कैद हुन सक्छ । 

आदेशको अपहेलना गर्ने व्यक्तिलाई एक महिनासम्म कैद र सय रुपैयाँसम्म जरिवाना तथा ऐनअनुसारका अधिकृत व्यक्तिहरूलाई बाधा गर्नेलाई ६ महिनासम्म कैद र ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ । 

के गर्न पाइन्छ, के पाइँदैन लकडाउनमा ?
१, लकडाउनमा सामान्य जीवनयापन गर्न सकिँदैन । घरमै बस्नुपर्ने हुन्छ । तर अत्यावश्यक कामका लागि अनुमतिसहित बाहिर निस्कन पाइन्छ । औषधि उपचार, खाद्य वस्तु खरिदजस्ता अत्यावश्यक काममा निस्कन पाइन्छ । 

२, लकडाउनमा सवारी साधन चलाउन पाइँदैन ।सार्वजनिक र निजी दुवै साधन ठप्प हुन्छन् । तर अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन चलाउन पाइन्छ । 

३, उडानहरुसमेत ठप्प हुन्छन् । तर सुरक्षा निकायबाट प्रयोग हुने वायुयान तथा तोकिएका अन्य उडान भने उडाउन पाइन्छ । 

४, सबैजसो कार्यालयहरु बन्द हुन्छन् । तर स्वास्थ्य सुरक्षा, खाद्यवस्तु, दूध, खानेपानी, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अति आवश्यक सेवाहरु भने संचालन हुन्छन् । 

५, कर्मचारी विशेषगरी बढी अलमलमा हुन्छन् । त्यसैले अत्यावश्यक बाहेकका कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारी मात्र उपस्थित हुने व्यवस्था गरी अन्य कर्मचारीलाई आवश्यक परेको बखत तत्काल उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखले बिदा दिने चलन छ । उद्योगले पनि कर्मचारीलाई बिदा दिने चलन छ ।

६, अत्यावश्यकीय वस्तुको आपूर्तिमा सहज व्यवस्था गर्नुपर्छ । त्यो लकडाउनका समयमा गर्ने दायित्वभित्र पर्छ । तर यदि कसैले अभाव देखाई मूल्यवृद्धि गर्ने वा कालोबजारी गर्ने वा लुकाउने काम गर्यो भने प्रचलित कानुन बमोजिम नियन्त्रणमा लिइ उक्त कालोबजारीको सामग्रीको जफत गरी रोगको रोकथाम र उपचारको काममा उपयोग गर्न सक्ने व्यवस्थासमेत रहेको छ । 

७, लकडाउन आफ्नै लागि हो भनी हरेक नागरिक कर्तव्यनिष्ठ रही काम गर्नुपर्छ । घरमै नियम पालना गरी बस्नुपर्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ