१७ स–साना कुरामा ध्यान दिऔं जसले कोरोना संक्रमण रोक्न सक्छन् – डा रवीन्द्र पाण्डे
प्रकाशित २०७६ चैत ११ मंगलबार
1.2k
Shares
काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्नका लागि जनस्वास्थ्य विशेषज्ञले साना साना कुरामा ध्यान दिन आग्रह गरेका छन् ।
जनस्वास्थ्य विशेषज्ञ डा रवीन्द्र पाण्डेले स–साना कुरामा मात्रै पनि ध्यान दिन सकियो भने कोरोना भाइरस रोक्न सक्ने दावी गरेका हुन् ।
सामाजिक संजालमा उनले यसबाट बच्न सक्ने उपाय बारेमा लेखेका छन् ।
उनका अनुसार यी उपायहरु अपनाऔं – १, हातमा औंठी तथा घडी नलगाऔं । साबुनले हात धोए पनि औंठी तथा घडीको पछाडि भाइरस रहन सक्छन् । २, नंग नपालौं । ३, बाहिरबाट घर आएपछि मोबाइल फोन, चस्मा, ब्याग, कपडा, जुत्ता, मोजा, साँचो, आदिलाई घाममा सुकाउने गरौँ। ४, सकभर पत्रिका घरभित्र नराखौं । अनलाइन संस्करण पढौं । ५, पैसाबाट कोरोना भाइरस सर्न सक्छ । पंजा लगाएर पैसाको काम गरौँ । पैसालाई घाममा राखौं । ६, दूधको प्याकेट, बजारबाट ल्याएको सामान, अनलाइन अर्डर गरेका सामानलाई निस्संक्रमण गरौँ । ७, अन्य व्यक्ति भेट्ने कोठामा एक्जिट फ्यान राख्ने, झ्याल खोल्ने गरौँ । ८, स्विमिङ नगरौं । ९, दाहिने हातलाई (बायाँ हात चलाउनेले बायाँ हात) अनुहार छुनबाट नियन्त्रण गरौँ । १०, मान्छेभन्दा अलि टाढा गएर खोक्ने, हाच्छ्युं गर्ने गरौँ । ११, बाहिरका सबै सामान र सबै व्यक्तिलाई शंका गरौँ । घरभित्र आउँदा आफुलाई शंका गरौँ । १२, मास्कलाई कहिल्यै पनि खल्ती वा ब्यागमा नराखौं । घरबाहिर सुरक्षित तरिकाले डिस्पोज गरौँ । १३, देवता सर्वव्यापी हुन्छन् भन्ने मान्यता राख्नुहुन्छ भने घरबाट नै पूजा गरौँ । १४, हरेक व्यक्तिसंग १.५ मिटरको दूरी कायम गरौँ । १५, पाहुना जाने, बोलाउने संस्कृतिलाई स्थगित गरौँ । १६, हतारिएर धेरै सामग्री तथा औषधि संकलन नगरौं । संक्रमण भयो भने तपाईले जम्मा गरेका औषधि उपयोगी हुँदैनन् । त्यस्तै तपाईलाई संक्रमण भयो भने तपाईले किनेका खाद्य पदार्थ तपाईंले खान सक्नुहुन्न । १७, कडा औषधि तथा स्टेरोइड सेवन नगरौं । गरेका छौं भने आफ्नो चिकित्सकलाई जानकारी दिएर घटाउँदै हटाउने तरिका सिकौं ।