कोरोना कोषमा १२ करोड जम्मा, कर्मचारीले पनि तलब दिने
प्रकाशित २०७६ चैत १४ शुक्रबार
546
Shares
सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा अहिलेसम्म रु ११ करोड ७६ लाख जम्मा भएको छ । सरकारले गत सोमबार कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले अहिलेसम्म रु ११ करोड ७६ लाख जम्मा भएको जानकारी दिए । उनका अनुसार कोषमा अझै रु २० करोड पनि आउने क्रममा रहेको छ ।
सरकारले कोषमा रकम जम्मा गर्ने भनेपछि सांसद, कर्मचारी, उद्योगीले योगदान गरिरहेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई महिना, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले एक महिनाको तलब बराबरको रकम उक्त कोषमा जम्मा गरिसकेका छन् ।
यसैगरी राजपत्राङ्कित विशिष्ट र प्रथम श्रेणीका कर्मचारीले सात दिनको, राजपत्राङ्कित द्वितीय र तृतीय श्रेणीका कर्मचारीले पाँच दिनको र राजपत्र अनङ्कित र श्रेणीविहीन कर्मचारीले तीनको तलव वरावरको तलव कोषमा जम्मा गर्ने भएका छन् । गत आइतवारबसेको मन्त्रिपरिषद् बैठकले कोष स्थापना गर्ने निर्णय गरेको थियो ।