arrow

 श्रमिक मजदुरको हितमा ट्रेड युनियन नेता अजय राइले प्रधानमन्त्रीको गराए ध्यानाकर्षण      

logo
प्रकाशित २०७६ चैत १४ शुक्रबार
pm-kp-oli-2019.jpg

काठमाडौं। नेपाल ट्रेड युनियनका उपाध्यक्ष अजयकुमार राईले श्रमिक हक हितका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराएका छन् । कोरोना भाइरसको संक्रमणबाट सबै क्षेत्र प्रभावित भईरहेको अवस्थामा श्रमिक मजदुरको हितमा ट्रेड युनियन नेता अजय राइले प्रधानमन्त्रीलाई सुझाव पत्र पेस गरेका छन् । 

ट्रेड युनियन नेता राईको सुझाव पत्र   
सम्माननीय प्रधानमन्त्री ज्यू,
सिंहदरबार, काठमाडौं 
मार्फत प्रमुख राजनितिक सल्लाहकार (आदरणीय बिष्णु रिमाल ज्यू) 

बिषय : सुझाव पत्र पेस गरिएको बारे ।

विश्व समुदाय नै यतिबेला कोरोना भाइरसको संक्रमणबाट आतंकित भईरहेको अवस्थामा हाम्रो मुलुक पनि अछुतो रहन सकेको छैन । सरकारले संक्रमणबाट जोगिन लकडाउन गरेको पनि आज (विहीबार) तेस्रो दिन वितिसकेको छ । कोरोना आतकंलाई विश्लेषण गर्दा २ साता अघि नै लक डाउन गराउन सकेको अझ राम्रो हुने थियो भन्ने लाग्छ । तर ढिलै भएपनि लकडाउन गर्ने निर्णय गरेकामा सरकारलाई धन्यवाद नदिई रहन सकिदैन ।

सरकारले लकडाउन गरिसकेको अवस्थामा अब सबै नागारिकले पालना गर्नुको विकल्प छैन । सरकार नागरिकको अभिभावक पनि हो । सरकार श्रमिकवर्गको पनि अभिभावक भएको महसुस हुदाँ हुदै पनि हाम्रा समस्याबारे विगतमा पनि पुर्ण रुपमा सम्बोधन हुन नसकेको र यो विषम परिस्थितिमा पनि सम्बोधन हुन नसकेको तितो यथार्थ सम्माननीय प्रधान मन्त्री ज्यू समक्ष जानकारी गराउन चाहन्छु । अहिलेको राज्य संयन्त्रमा त झन श्रमिक माझ बाटै जानु भएका र मजदुरका समस्यालाई नजिकबाट बुझ्नु भएका ट्रेड युनियन महासंघ सम्बद्ध दुइ पुर्व अध्यक्षहरु नै हुनुहुन्छ । हामी श्रमिक माझबाटै आदरणीय शालिकराम जमकट्टेल ज्यू बागमती प्रदेशको आन्तरिक मामिला मन्त्री हुनु भएको छ । आदरणीय बिष्णु रिमाल ज्यू पनि सम्माननीय प्रधानमन्त्री ज्यूको प्रमुख राजनीतिक सल्लाहकारका रुपमा क्रियाशिल हुनुहुन्छ । 

म पनि श्रमिक वर्ग भित्रैको एक नागरिक भएको नाताले कोभिड १९ (कोरोना भाईरस) को बिषयलाई लिएर हाम्रा लागि अर्थात श्रमिक क्षेत्रका लागि सरकारले ठोस कदम चाल्नै पर्ने केही सुझाव दिन चाहन्छु । मैले प्रमुख राजनीतिक सल्लाहकार आदरणीय बिष्णु रिमाल ज्यू मार्फत प्रधानमन्त्री ज्यूमा श्रमिक वर्गका यि गुनासा वा सुझाव पठाउनुको मुख्य तात्पर्य के हो भने प्रधानमन्त्री ज्यूले बुझ्न चाहेमा सल्लाहकार ज्यूबाट सकारात्मक पहल हुनेछ भन्ने मेरो ठूलो विश्वास छ । र सल्लाहकार ज्यूमार्फत जादाँ यि समस्याको सम्बोधन हुनेछ भन्ने मलाई लागेको छ । 

मेरा सुझाव यस प्रकार छन् : 
१ : अत्यावस्यक बस्तु उत्पादक कम्पनी जो अहिले पनि संचालनमा रहेको छ त्यहाको श्रमिकको स्वास्थ्यलाई मध्यनजर गरी PPE ( personal protection equipment) लगायत स्वास्थ्य सामग्री हरु व्यवस्थाका लागि उद्योगपतीमार्फत त्यहा प्रबन्ध गर्नु पर्ने । 

२. अत्यावस्यक सेवामा काम गर्ने सबै प्रकारका श्रमिकलाइ स्वास्थ्य सामाग्री पर्याप्त मात्रामा निशुल्क रुपमा उपलब्ध गराउनु पर्ने ।

३. स्वास्थ्यकर्मीहरुलाई WHOको मापदण्डबमोजिम यथाशिघ्र पीपीई उपलब्ध गराउनु पर्ने। साथै सुरक्षाकर्मीलाइ पनि ड्युटीमा खटाउँदा स्वास्थ्य सामग्रीबाट well equipped गराउनु पर्ने । श्रमिकलाई सहज र सरल हुने गरी प्रत्येक प्रदेशमा कमसे कम एक एक वटा कोरोना भाईरस चेकजाँच केन्द्रको ब्यवस्थापन गरियोस । 

४. सर्वसाधारणका दैनिक वस्तु परिपुर्तीका लागि सरकारको निर्देशनमा भारतबाट पेट्रोलियम पदार्थ (ग्यास, डिजल, पेट्रोल) ल्याइ देशभर बितरण गर्ने ट्यांकर चालक तथा सहचालकहरलाई आयल निगममार्फत नि:शुल्क स्वास्थ्य सामग्री (स्यानिटाइजर, साबुन, गुणस्तरिय मास्क लगायत) उपलब्ध गराइयोस । ट्रिप पिच्छे नि:शुल्क स्वास्थ्य चेकजाँचको व्यवस्था गरियोस । साथै सबै तिर लकडाउनको स्थिति रही होटल हरु बन्द रहने भएकोले लामो दुरीमा त्यस प्रकारको सवारी चलाउने यातायात मजदुरका लागि खाने बस्ने ब्यवस्था गरियोस । साथै अहिलेको विषम परिस्थतीमा ढुवानी क्षेत्र अर्थात ट्रकमा कार्य गर्ने चालक परिचालकहरुलाई पनि ति उल्लेखित सुविधा उपलव्ध गराईयोस । 

५. तथ्यांक बिभाग (२०१७/१८) को आंकडा अनुसार मुलुकभित्र ८४ दशमलव ६ प्रतिशत श्रमिकहरु अनौपचारिक क्षेत्रमा काम गर्ने छन् । तिनका लागि यथाशिघ्र राहत प्याकेज घोषणा गरिनु जरुरी छ । दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकका लागि निश्चित समयसम्म खानपानको व्यवस्था गरिनु पर्दछ । उनीहरुको समस्या सम्बोधन नभए समाजमा अन्य अपराधिक घटना बढ्न सक्ने सम्भावना प्रति पनि सरकार बेलैमा सचेत हुनु जरुरी छ । 

६. प्रवासी श्रमिकको स्वास्थ्यबारे सम्बन्धित मुलुकमा रहेका नेपाली दुतावासमार्फत दिनहुँको अध्यावधिक रिपोर्ट लिईयोस र देखभालमा ध्यान दिईयोस । 

७. कोरोना भाइरसको बहानामा भावी दिनमा उद्योगी ब्यवसायीबाट हुन सक्ने श्रमिक कटौतीप्रति पहरेदारी गरियोस । 

८. स्वरोजगार गरिरहेका साना उद्यमी तथा श्रमिकको बैंक किस्ता र ब्याजमा केही महिनाका लागि सहज बनाईयोस । 

९. यस्ता मजदुर समस्या समाधानका लागि प्रदेश सरकार तथा स्थानीय तहलाई पनि परिचालन गरियोस । 

आशा छ, यि सुझावहरु यथार्थमै कार्यन्वयन हुनेछन् । 
धन्यवाद 
जय नेपाल 

अजयकुमार राई 
उपाध्यक्ष, 
नेपाल ट्रेड युनियन कांग्रेस
राष्ट्रिय समिति, काठमाडौं
तथा 
प्रमुख सल्लाहकार — नेपाल यातायात मजदुर संघ, राष्ट्रीय समिती
तथा 
कार्यकारी सदस्य 
ईन्टरनेशनल ट्रान्र्सपोर्ट वर्कस फेडेरेशन , लंडन                                                            



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ