arrow

रुपन्देहीको तिलोत्तमा नगरमा एक करोडको कोरोना रोकथाम कोष स्थापना

logo
नारायण वली, 
प्रकाशित २०७६ चैत १४ शुक्रबार
tilotamma.jpg

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोना भाईरस (कोभिड–१९) को उच्च जोखिमलाई ध्यानमा राख्दै एक करोड रुपैयाँको प्रकोप व्यवस्थापन कोष स्थापना गरेको छ । वढ्दो महामारी कोभिड–१९ को सम्भावित जोखिमलाई ध्यानमा राख्दै यसअघि ८० लाख रुपैयाँ वरावरको कोष स्थापना गरिसकेको उक्त नगरपालिकाले अहिले सो प्रकोप व्यवस्थापन र स्वास्थ्य तथा सामुदायिक विशेष कोषमा थप २० लाख रुपैयाँ थपेर एक करोड पुर्‍याएको हो ।

प्रकोप व्यवस्थापन कोषमा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले व्यक्तिगत रुपमा (कोभिड–१९) को संक्रमण भई विरामी हुनेहरुको लागि केही सहयोग स्वरुप ५० हजार रुपैंयाँ प्रदान गर्नुभएको छ । यस्तै उपप्रमुख जागेश्वरी चौधरीले व्यक्तिगत १० हजार रुपैंयाँ र नगरपालिकामा कार्यरत झण्डै २ सय जना कर्मचारी र नगरभित्र अध्यापन गराउँदै आएका करिव ५ सय जना शिक्षकहरुले आफ्नो ३ दिन वरावरको तलब सो कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।

यस्तै, शिक्षक र कर्मचारी र उद्योगी–व्यवसायीहरुको तर्फवाट सहयोग प्राप्त भएमा उक्त नगरपालिकाले स्थापना गरेको कोषको लक्ष्य भन्दा वढी रकम सहयोग हुने तिलोत्तमा नगरप्रमुख बासुदेव घिमिरेको विश्वास रहेको छ । 

साथै नगरप्रमुख घिमिरेले यसअघि नै आफ्नो ५ वर्ष सम्मको पारिश्रमिक रकम नगरभित्र रहेका सामुदायिक विद्यालयहरुमा अध्ययन गर्ने गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदानका लागि दिने घोषणा गरिसकेको बताए । 

यस्तै तिलोत्तमा नगरपालिकाले विपद् जोखिमलाई मध्यनजर गर्दै प्रकोप व्यवस्थापन कोषमा सहयोग गर्न नगरवासीहरुलाई आग्रह गरेको छ । साथै कोषमा जम्मा भएको रकमलाई कोरोना भाईरसको महामारी वाच्नका लागि पूर्व सचेतना जस्ता कार्यक्रम सञ्चालन एंव पछिल्ला दिनहरुमा प्रयोग गर्न सकिने तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव शर्माले जानकारी दिएका छन् ।

यसैविच तिलोत्तमा नगरपालिका द्वारा आज नगर भित्र वसोवास गर्दै आएका विपन्न वर्गहरुलाई लकडाउनको समयमा पर्न गएको असरलाई मध्यनजर गर्दै राहत व्यवस्थापन तथा वितरण गरेको छ । उपप्रमुख जागेश्वरी चौधरीको संयोजकत्वमा राहत वितरण गरिएको नगरका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिएका छन् । दैनिकी जिबिकोपार्जनमा समस्या भएर गुजरा चलाउन अफ्ठ्यारोमा परेका श्रमजीवी परिवारलाई राहात बितरणको र त्यसको सम्पुर्ण ब्यबस्थापन तिलोत्तमा नगरपालिकाले गरेको वताईएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ