arrow

चौदण्डीगढीमा आइसोलेसन, कोरेन्टाइन र पिपिई

logo
गोपाल पोखरेल
प्रकाशित २०७६ चैत १५ शनिबार
gaighat-corona.jpg

उदयपुर। चौदण्डीगढी नगरपालिकाले कोरोना महामारीको सम्भावित संक्रमण नियन्त्रण गर्न सुविधासम्पन्न आइसोलेसन र कोरेन्टाइन निर्माण गर्नुका साथै स्वास्थ्यकर्मीलाई पिपिई वितरण गरेको छ । नगरपालिकाले हरेक वडामा स्थापना गरिएका क्वारेन्टाइन र वडा नं ७ मा निर्मित आइसुलेसनमा पिपिई सहितका स्वास्थ्यकर्मीले २४ सै घन्टा सेवा प्रदान गर्ने व्यवस्था समेत मिलाएको छ ।

“ प्राथमिक स्वास्थ्य केन्द्र बेल्टारका २ जना डाक्टर र अन्य स्वास्थ्यकर्मीले २४ सै घन्टा स्वास्थ्य सेवा प्रदान गर्ने गरी वडा नं ७ मा ७ बेडको सुविधासम्पन्न आइसुलेसन तयार गरेका छौं”  नगरप्रमुख खगेन्द्र राईले भने,“ १० वटे वडामा ३९ वटा वेड भएको क्वारेन्टाइन निर्माण गरेका छौं ।” उनले नगरक्षेत्र भित्र विदेशबाट आउनेहरुको लगत तयार गर्न थालेको र हालसम्म २,३,४ र ५ नं वडाको लगत तयार गरिसकेको बताए ।

“ स्वास्थ्यकर्मीलाई अस्पताल र नजिकका क्षेत्रमा बस्ने व्यवस्था मिलाएका छौं” राई भन्छन्,“चारवटा एम्बुलेन्सलाई तयारी हालतमा राखिएको छ ।” जोखिम न्यूनिकरण गर्न नगरक्षेत्रका १ प्राथमिक स्थास्थ्य केन्द्र र १० ओटा स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीको टोली २४ सै घन्टा रहने व्यवस्था मिलाइएको उनले बताए ।

राईका अनुसार वडा नं २,३,४ र ५ मा विदेशबाट आएका ६ जना फेला परेका छन् । तर, उनीहरुको स्वास्थ्य अबस्था सामान्य छ । बाँकी ६ वटा वडामा विदेशबाट आएकाहरुको विवरण संकलन गर्ने काम भइरहेको छ ।

चौदण्डीगढी नगरपालिकाले गतबर्ष नै आफैले तलवको व्यवस्था गर्ने गरी एक मेडिकल डाक्टरसहित ५० स्वास्थ्यकर्मी भर्ना गरेको थियो । यहाँ सरकारी दरवन्दीका ३६ सहित हाल ८६ जना स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ