arrow

ठाउँ अनुसारको घुस, अवैध बन फडानीको वार्गेनिङ गर्दै ८० हजार घुस 

logo
प्रकाशित २०७६ चैत १५ शनिबार
puraina-community-forest-kailali.jpg

बौनिया। कैलालीको एक सामुदायिक बन क्षेत्रमा अनाधिकृत रूपमा व्यापक बन फडानी भएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर-४ स्थित पुरैना सामुदायिक बन उपभोक्ता समूहको संरक्षण क्षेत्राधिकारमा पर्ने बनमा पोथ्रा रुख अवैध रूपमा कटानी भएको भेटिएको हो । 

उक्त सामुदायिक बनको क्षेत्रभित्र अवैध रुपमा हरिया साल र अस्नाका पोथ्रा रुखका २१ वटा डालाहरु काटिएका छन् । अनाधिकृत रूपमा अवैध रुखहरु कटानी गर्ने घोडाघोडी नगरपालिका वडा नम्बर-६ बसन्ताका २८ वर्षीय सुरेन्द्र चौधरी सहित अन्य ६ जनाको संलग्नता रहेको बताइएको छ ।

चैत्र १४ गते दिउँसो जंगलमा घाँसदाउरा ल्याउन गएका स्थानीय महिलाले रुख काटिरहेको अवस्थामा उनीहरूलाई देखेपछि किन काटेको भनेर सोधपुछ गर्दा उल्टै धम्की दिँदै चेतावनी दिएको स्थानीय सेतु रोकायले बताइन् । प्रत्यक्षदर्शीका अनुसार बन फँडानी गरिएको कुरा समितिलाई समेत महिलाहरुले खवर गरेका थिए । 

सूचनापछि बन समितिले शनिबार बिहानसम्म २ लाख ५० हजार रुपैयाँ दिए कुरा मिलाउन सकिने माग राख्दै आएको खुलेको छ । संलग्न भनिएका सुरेन्द्र चौधरीले आफूबाट गल्ती भएको स्वीकार गरेको र आर्थिक अवस्था कमजोर भएकाले ३० हजार भन्दा बढी दिन नसकिने समितिलाई बताएका थिए ।

यता, बन समितिले दिएको सूचना अनुसार सामुदायिक बन कार्यालयमा पुगेका सवडिभिजन बन कार्यालय साँडेपानीका बनरक्षक रामसिंह धामी भने बनको निरीक्षण नगरेरै फर्किएका छन् । धामीले सामुदायिक बनको प्रचलित विधान बमोजिम १४ हजार ७ सय रुपैयाँ सजाय गरि संलग्नलाई छोड्न समितिलाई भनेका थिए । बनरक्षक रक्षक धामीले बैठकमा उक्त रकमभन्दा बढी जरिवाना गराउन आम उपभोक्ता भेला बोलाउनुपर्ने बताएका थिए ।

समितिलाई सहयोग गर्न त्यहाँ पुगेका उनले निर्णय लेख्न लगाइ, ६ जना संलग्न भएपनि बढी रुपैयाँ जरिवाना तिर्नुपर्ने भन्दै सुरेन्द्र चौधरीको मात्रै संलग्नता भएको जनाउँदै निर्णय लेख्न लागाए थिए । त्यसपछि शनिबार दिउँसो बसेको समितिको बैठकले संस्थाको विधान बमोजिम साल र अस्नाका २१ वटा रुख काटिएको हुँदा बल्लाबल्ली स्वरुप ७ सयका दरले १४ हजार ७ सय जरिवाना गराउने निर्णय गरेको छ ।

तर, संलग्नलाई सामुदायिक बन उपभोक्ता समूहको विधान बमोजिम कडा भन्दा कडा कार्वाही गर्छु भन्दै आएका समितिका अध्यक्ष वीरबहादुर साउँद सहितका समितिका पदाधिकारीले बैठकको निर्णयअघि ८० हजार रुपैयाँ बुझेर लिएको पीडित सुरेन्द्र चौधरीले बताएका छन् ।

उक्त रकम स्थानीय दलबहादुर विश्वकर्माले चेकमार्फत १० हजार र ७० हजार नगद रकम समितिका सहसचिव लालबहादुर विश्वकर्माले बुझेर लिएका हुन् ।

सबडिभिजन बन कार्यालय साँडेपानीका प्रमुख गौचरन चौधरीले समितिले बनको प्रचलित विधानभन्दा बढी रकम लिएको पाइए सो रकम जरिवाना नभइ घुस ठहरिएकाले सम्बन्धित पक्षलाई तत्काल फिर्ता गराउने बताएका छन् ।   

सो सामुदायिक बन क्षेत्रमा सवडिभिजन बन कार्यालय साँडेपानीका बनरक्षक रामसिंह धामीले विगत लामो समयदेखि समितिको मिलेमतोमा काठ चोरीतस्करीमा संलग्नलाई संरक्षण गर्दै आएको आरोप समेत स्थानीयको छ ।

सरकारले वनको संरक्षण र उचित व्यवस्थापनका लागि समुदायमा हस्तान्तरण गर्ने गरेको भएपनि पछिल्लो समय समुदायमा हस्तान्तरण गरिएका सामुदायिक काठ तस्करी र बन फँडानी नियन्त्रणको साटो बढ्न थालेको छ । बनहरु संरक्षित हुनुको साटो उल्टै विनासको चपेटामा पर्ने गरेका छन् । 

बन उपभोक्तालाई आवश्यक परेको खण्डमा जिल्ला वन कार्यालयको स्वीकृतिमा तोकिएको परिमाणमा मात्र रुख काट्न पाईने कानुनी मान्यता रहेपनि कानुनी प्रक्रिया विना नै जंगलमा जथाभावी रुख काट्ने काम भइरहेको सामुदायिक वन समूहले संरक्षणको भूमिका निर्वाह गर्न नसकेको आरोप समेत छ । 

सामुदायिक वनमा घाँसदाउरा समेत ल्याउन नपाउने   उपभोक्ताले समितिका पदाधिकारीले नै बन फँडानी र तस्करीमा संलग्नलाई उन्मुक्ति दिदै आएको यहाँका स्थानीयको आरोप छ । बन कर्मचारी र समितिले दोषी उम्काउने चेष्टा गर्दै आएको भन्दै स्थानीयले आक्रोश व्यक्त गर्न थालेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ