arrow

कोरोनाको प्रभावपछि को को फर्के विदेशबाट ? तथ्याङ्क सङ्कलन

logo
प्रकाशित २०७६ चैत १६ आइतबार

रुकुमपूर्व । रुकुमपूर्वका स्थानीय तहले विदेशबाट फर्किएका व्यक्तिहरुको तथ्याङ्क सङ्कलन शुरु गरेका छन् । पछिल्लो एक महिनाको अवधिमा विदेशबाट गाउँ फर्किएका व्यक्तिको तथ्याङ्क सङ्कलन शुरु गरिएको भुमे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार विदेशबाट फर्किएकाहरुको तथ्याङ्क सङ्कलनका लागि गाउँपालिका भित्रका सम्बन्धित वडा कार्यालयका जनप्रतिनिधि र कोरोना जोखिम रोकथामका लागि गठित वडास्तरीय समन्वय समिति र गाउँपालिकस्तरीय समन्वय समितिलाई जिम्मा दिएको छ ।

कोरोना भाइरसको जोखिमलाई रोकथाम तथा नियन्त्रण गर्नका लागि पछिल्लो एक महिनामा विदेशबाट फर्किएकाहरुको विवरण सङ्कलन गर्न लागिएको अधिकृत श्रेष्ठले बताए । 

विवरण सङ्कलनका क्रममा कुन ठाउँबाट फर्किएका हुन्, फर्किएको माध्यम, मिति र अन्य जानकारीसहित राख्ने गरिएको छ । विदेशबाट फर्किएकाको मात्र नभई अन्य जिल्लाबाट गाउँपालिकामा प्रवेश गरेकाहरुको पनि विवरण सङ्कलन भइरहेको गउँपालिकाले जनाएको छ । 

यसैगरी जिल्लाको सिस्ने गाउँपालिकाले पनि विदेशबाट आएकाहरुको विवरण संकलन गरिरहेको छ । गाउँपालिकाले पनि सम्बन्धित वडाका जनप्रतिनिधिलाई चैत महिनाको १ गतेभन्दा पछाडि आएकाहरुको विवरण सङ्कलन गर्न जिम्मा दिएको गाउँपालिकाका अध्यक्ष कुमारी बरालले बताए ।

विदेशबाट आएका सबैलाई अनिवार्य स्वास्थ्य परिक्षण गर्ने, क्वारेन्टाइन र होम क्वारेनटाइनमा बस्न भनिएको छ । 

विदेशबाट आएर कोही लुकिछीपी गाउँघरमा बसिरहेको थाहा पाएमा तत्काल प्रहरी कार्यालयमा खबर गर्न सम्बन्धित सबैलाई आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ