arrow

कोरोना उपचारः हतियार विनाको लडाँइ

गाउँघर अझ जोखिममा

logo
भानुभक्त निरौला,
प्रकाशित २०७६ चैत १६ आइतबार
bhanubhakta-niroula.jpg

‘मलाई हेर्न अहिलेसम्म एक जना डाक्टर पनि आएका छैनन्, अस्पतालमा छु उपचार केही भएको छैन’ धनगढीका कोरोना संक्रमित ३४ बर्षिय यूवाले दिएको प्रतिक्रिया हो यो। सेती प्रादेशिक अस्पतालको शैयामा ती संक्रमित युवा उपचारको पर्खाइमा छन् । सरकार संक्रमित सबैको उपचार भइरहेको दाबी छाड्दैन । अस्पतालमा विरामीको उपचार गर्न चिकित्सक तयार छैनन् । स्वास्थ्य जाँच तथा उपचारका लागि पिपिई जस्ता आवश्यक सुरक्षा कवजको ब्यवस्था नहुँदा आजका मिति सम्म चिकित्सकले विरामीको नाडी छाम्ने अवस्था छैन । 

संक्रमितसँग अस्पतालमा भगवानको नाम जप्नुको विकल्प छैन । प्रादेशीक अस्पतालको त यो हाल हुँदा जिल्ला अस्पताल र स्थानीय तहका स्वास्थ्य संस्थाको कुरा गर्दा लाज नै लजाउन सक्छ । लक डाउनको राम्रो निर्णय गरेको सरकारले यसको भरपुर उपयोग गर्ने कुरामा भने नराम्रोसँग चुक्यो । स्वास्थ्य सामाग्रीको डेलिभरीमा कमजोर प्रदर्शन गरेको सरकारी संयन्त्रले परीक्षणको दायरा समेत बढाउन सकेको छैन । कोरोना परीक्षणको नाममा डण्डा(लाठी) दिएर प्रहरीलाई ठाउँ ठाउँमा खटाईएको छ । प्रहरीसँगै कमसल अवस्थामा रहेका फिभर गन लिएर गौँडातिर अहेवहरु ज्यानको बाजी लगाएर परीक्षण गरिरहेका छन् । परीक्षण कार्यमा खटिने प्रहरी र स्वास्थ्यकर्मी स्वयं संक्रमणको जोखिममा छन् । ठाउँ ठाउँमा खडा गरिएका स्वास्थ्य परीक्षण केन्द्रमा आवश्यक सुरक्षा र उपकरणको अभावमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले ठूलो जोखिम मोलिरहेका छन् । पीपीई सेटको त कुरै छाडौं मेडिकल मास्क समेतको अभाव छ गाउँमा । आधारभुत तहको जोहो हुन नसकेको देख्दा राज्यविहीनताको महशुस नागरिकमा हुने गरेको छ । ग्रामिण भेगका जनता सरकारको साथमा छन् । किनकी उनीहरुले लक डाउनलाई साथ दिइरहेका छन् । तर जनतासँग राज्य कतिको दरीलो रुपमा उपस्थिती जनाइरहेको छ भन्ने सावल पेचिलो बन्दै गएको छ । 

गाउँमा बढ्दो जोखिम
विदेशबाट आएकाहरु यतिखेर सर्वाधिक खोजिको सूचीमा छन् । तर उनीहरुको स्वास्थ्य परीक्षण गर्न सितिमिति कोही तयार हुँदैन । विदेशबाट आएकाहरु आफै पनि अग्रसर नहुँदा संक्रमण भुसको आगो जस्तै फैलिरहेको त छैन ? भन्ने प्रश्न जनजनमा उब्जिरहेको छ । किनकी परीक्षणको दायरा फैलिन सकेको छैन । कोरोना भय शहर भन्दा गाउँमा बढी छ । किनकी यहाँ विदेश र शहर सबैतिरबाट सुरक्षित हुनका लागि मान्छेहरु आएका छन् । उनीहरुले निर्वाध रुपमा भेटघाटमा दौडिरहेका छन् । यता गाउँका रैथानेहरुको भने शहरीयाहरुले ल्याएको कोरोना कोशेलीको त्रासले निन्द्रा हराम भईरहेको छ । 

पहिला शहर थियो अहिले गाउँ बढी असुरक्षित छ । गाउँमा लक डाउनको कडाईका साथ पालना भईरहेको छैन । यो स्तम्भकार लकडाउनको तेश्रो दिन कुनै एउटा गाउँमा रिपोर्टीङको लागि पुग्दा गाउँलेहरु भेला भएर तास खेलिरहेका थिए । उनीहरुको जमघट हेर्दा लाग्थ्यो, तिहार नै शुरु भएछ जस्तो । समुहमा भेला भएर तास र भलिबल खेल्नु ग्रामिण भेगको दिनचर्या जस्तै छ । त्यो समुहलाई आजसम्म लकडाउनले कहिल्यै छुन सकेन । त्यो समुहको सदस्यमा ठूलै आहोदाका मान्छेसम्म सामेल हुने गरेका छन्, दिन कटाउने बहानामा ।

एक स्थानीय तह–एक परीक्षण ल्याब
हामी संक्रमितको संख्या कम भएकोमा दंग छौं । १ हजार हाराहारीमा परीक्षण गरेर आएको नतिजाकै आधारमा ढुक्क हुने अवस्था छैन । परिक्षणको दायरा बढाएर हरेक स्थानीय तहसम्म पुर्याउने हो भने मात्रै बास्तविक तथ्यांक आउन सक्छ । तीनै तहको सरकारले बजेटलाई एकतृत गर्ने हो भने परीक्षण ल्याब स्थापना गर्न कुनै चुनौतिको विषय होईन । केवल ईच्छा शक्ति आवश्यक छ । अहिले पनि कतिपय स्थानीय तहले धेरै उदाहरणीय काम गरेका छन् । क्वारेण्टाईन स्थापना, गाउँ गाउँमा स्वास्थ्य परीक्षण, विपन्नहरुलाई राहत प्याकेज जस्ता निर्णय गरेर जनतालाई राहात दिने प्रयत्न गरेको देखिन्छ । तर यतिले मात्रै संभावित महामारीको सामना गर्न निकै कठिन हुने देखिन्छ । विश्वका प्रभावितत देशको अभ्यासलाई हेर्ने हो भने नेपालको स्थिति निकै भयावह नहोला भन्न सकिन्न । स्पेनकी राजकुमारीको निधन हुनु, बेलायतकी राजकुमार, प्रधानमन्त्रीदेखि अमेरिकामा हजारौँको संख्यfमा फैलावट हुनु र ईटलीको मृत्यु दरलाई नियाल्दा हामीमा केही भईहाल्यो भने भवगवान भरोसा भनेर बस्नुको बिकल्प देखिदैन । 

पहिलो चरणमै रोकथाम गर्न प्रायः असम्भव भएको यो अवस्थामा दोश्रो चरणमा निमिट्यान्न पार्न राज्यले कामको गति बढाउन ढिलो गर्नु हुन्न । सुविधासम्पन्न परीक्षण ल्याब र उपचार कक्षको निर्माण र सुसञ्चालन टड्कारो आवश्यक्ता हो । यसका लागि विश्वासिलो र भरपर्दो संयन्त्र निर्माण गरी रोकथाममा लाग्ने मात्र कोरोना माथिको बिजय संभव हुनसक्छ। नत्र कोरोना हाम्रो व्यवहार र तयारीमाथि हावी पर्ने सम्भावना बढ्दो छ।



नयाँ