arrow

प्रत्येक जिल्लाको तल्लो तहमा कोरोना रोग परिक्षण व्यवस्था छिट्टै गर

logo
आशुतोष झा नवीन,
प्रकाशित २०७६ चैत १६ आइतबार
asutosh.JPG

कोरोना संक्रमणको क्रम अझैद बढदै जाँदा रोकिने नाम निशान छैन। अहिलेसम्म यसको कुनै निश्चित उपचार पद्धति आउने छाट्काट समेत देखिन्न। यस्तो महामारीको अवस्थामा आम नेपाली कसरी सुरक्षीत रहने भन्ने चिन्ता सबैलाई  छ। यस महामारीले पूरा विश्वनै त्रासमा छ। जबसम्म यसको कुनै निश्चित उपचार वा खोप पत्ता लाग्दैन तबसम्म यस महामारीबाट बच्न एउटै उपाय सोसियल डिस्टेन्सिङ अर्थात मानव मानव बीचको दुरी नै हो। एउटा यही फर्मुलाबाट सम्पूर्ण नेपालीको ज्यान बचाउन सकिन्छ नभए स्थिति गम्भीर छ। चीनले त वुहान शहरमा फैलिएको महामारीलाई केही दिनभित्रमा नै रोक्न सफल सावित भएको छ। चीनको एक राज्यबाट अर्को प्रदेशमा संक्रमण हुन नदिन धेरै व्यवस्थापन गरिएको छ। चीनको यस्तो कार्य विश्वको लागि एउटा उदाहरणका रूपमा सावित भएको छ। 

सोसल डिस्टान्सिङको फर्मुलालाई नमानेका कारण आज इटलीको हालत कहालीलाग्दो छ। ईटलीमा संक्रमण देखा परेपछि पनि त्यहाँको सरकारले आफ्नो नागरिकलाई बचाउन सचेत हुन सकेन । जबकी ईट्ली स्वास्थ्यको क्षेत्रमा धेरैनै अगाडि छ। त्यहाँको स्वास्थ्य क्षेत्र विश्वस्तरमै धेरै राम्रो मानिन्छ। र पनि त्यो देशले आफ्नो नागरिकमा कोरोना संक्रमणको परिक्षण राम्रोसँग गरेन जस्को परिणाम आज त्यो देशको भयावह स्थिति छ। दक्षिण कोरियाले आफ्नो नागरिक कोरोना संक्रमणमा परेको खबर थाहा पाउने बित्तिकै आफ्नो नागरिकमा धेरै भन्दा धेरै टेस्ट गर्‍यो र उसले छिट्टै थाहा पाउन सफल भयो। अहिले कोरियाले धेरै हदसम्म कोरोना संक्रमण दर घटाईसकेको छ र यो शुन्य दरमा पुग्न थालेको छ । दुई देशको यो घटनाक्रमले हामी नेपालीलाई राम्रोसँग सिक्नुपर्ने कुराहरु सिकाइ सकेको छ। तर पनि हाम्रो सरकार किन सचेत भैरहेको छैन । सरकारले गर्नुपर्ने मुख्य कुरा अस्पतालमा पुग्ने मान्छेलाई कसरी घटाउने त्यसप्रति गम्भीरतापूर्वक ध्यान दिइ आफ्नो कार्ययोजना अगाडि सार्नुपर्ने थियोे र छ। अनि मात्रै यो महामारीलाई रोक्न सकिन्छ।

अहिले सरकारले जति गरेको छ त्यो पर्याप्त छैन । अहिलेको परिस्थिति अनुसार सरकारको कार्यशैली एकदमै ढीलो छ। सरकारले मात्रै गफ मार्फत यो गर्दै त्यो गर्दै छौं भनी जनतालाई झुक्याएर राखेको छ । अहिले जस्तो परिस्थितिमा महामारीबाट देशलाई बचाउन सरकारले के के गरिरहेको छ ती सबै कुराबारे आम जनतामा एक एक रिपोर्टिङ हुनु जरुरी छ। किनभने आम नेपालीको स्वास्थ्यसँग जोडिएको समस्या हो यो र पलपलका खबर सरकारको तमाम क्रियाकलापबारे जनताले बुझ्न् चाहिरहेका छन् । तर सरकार धेरै हदसम्म कुराहरु लुकाईराखेको छ।

एउटा मुख्य कमजोरी यो महामारीबारे थाहा पाउने बित्तिकै सरकारले हवाईमार्ग र स्थलमार्गबाट आउने सम्पुर्ण यात्रुहरुको अभिलेख राख्नु पर्थ्यो त्यो हुन सकेन। ती सबै बाहिरबाट आएको नागरिकहरुलाई केही दिन क्वारेन्टाइन भित्र राख्नु पर्थ्यो जुन हुन सकेन। जसकारणले आज ती सबै बाहिरबाट नागरिकहरु आआफ्नो गाउँघरमा देशैभरी छरिएर पुगिसकेका छन् । उता भारतबाट आउने सबै नाकाबाट धेरै मान्छे नेपाल प्रवेश गरिसके पछि बल्ल गएर सबै बोर्डर नाकालाई जाम गरे। अहिले पनि भारतबाट पैदल यात्रा गर्दै हजारौं नेपाली नागरिक नेपाल प्रवेश गर्दैछ्न। उनीहरू अब केहि दिनमै हाम्रो नाकामा आईपुग्दा सबैलाई नाकामै क्वारेन्टाइनको व्यवस्थापन गरी त्यसभित्र राख्नुपर्यो । हवाई मार्ग र स्थलमार्ग हुँदै अहिले जति पनि मान्छेहरु बाहिरबाट आएर जिल्ला जिल्लामा आआफ्नो घरमा बसेका छन्। उनीहरुको एक्टिभ सर्भिलेन्स स्थानीय निकायसँग समन्वय गर्दै सबैको अभिलेख राख्नु आवश्यक छ। नेपाल प्रवेश गरेका व्यक्तिहरु आइसकेपछि को कोसँग भेटे सम्पूर्णको अभिलेख राखी तुरुन्तै परिक्षण शुरुगरिसक्नु पर्ने हो तर सरकार यि सब काममा बेखबर छ। सरकारले अहिलेसम्म करिबकरिब आठ सयको हाराहारीमा मात्रै परिक्षण गर्न सकेको छ। तर यतिबेला आठ सय मात्रै हैन यो एक हप्ता भित्र आठ हजार जनामा परिक्षण गर्नु पर्यो र यो सम्भव पनि छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला प्रमुख डा गुण आचार्यका अनुसार संक्रमणको संख्या बढ्दा मान्छेलाई काठमाडौ ल्याउनुपर्ने एकदमै गाह्रो हुनेछ। यस परिस्थितिको लागि पोर्टेवल पिसिआर मेशिन जिल्लाजिल्लामा सरकारले पुर्याईदियो भने त्यो परिक्षणको लागि मान्छेलाई काठमाडौ आइरहनु पर्दैन। अब सरकारले कसरी हुन्छ कुन माध्यम अपनाउनु पर्छ त्यो सबैकुरा गरेर सबैभन्दा पहिलो काम परिक्षण शुरुआत गर्नुपर्‍यो। सरकारसँग यस कार्यको लागि सबै स्रोत साधन छदैछ तर पनि ढिलासुस्ती गर्नु भनेको नेपालमा नसोचेको कुरा निम्त्याउनु मात्र हो। 

अहिलेको लकडाउनले पुगेन। अब चाहिँ लकडाउन कम्तिमा ३ हप्ता गर्नु जरुरी छ। तर लकडाउन पूर्व सरकारले गर्नुपर्ने सबै तयारी गरिसक्नुपर्ने हुन्छ। नागरिकलाई चाहिने अत्यावश्यक सबै कुराको व्यवस्थापन हुनुपर्छ। अहिले त धेरै नागरिकले सरकारले गरेको लकडाउनलाई घर भित्रै बसेर सहयोग गरेका छन्। केही यसलाई मजाकको रुपमा लिएको देखिन्छन्। केहिले त दिनभरी प्रशासनको डरले घरमै बस्नु र साझ हुने बित्तिकै जथाभावी बिनाकारण घरबाहिर निस्केर लकडाउनलाई वेवास्ता पनि गरेका छन्। अझै गाउँ वस्तीमा यो लकडाउनले केही प्रभाव नै पारेको छैन। धेरैले बुझेका पनि छैनन् र स्थानीय निकाय बुझाउन र सचेत गराउन पनि ढिलासुस्ती गरेको छ। यो हेलचेक्याई गर्दा एकजनालाई कोरोना छ भने कोरोना टेस्टको रिजल्ट आउनुभन्दा अगाडि नै सबैलाई पनि सर्न सक्छ। नेपालसँग अब थोरै समय छ यस महामारीबाट आफ्नो नागरिकलाई बचाउन। प्रत्येक जिल्लाको तल्लो तहबाट छिट्टै कोरोना रोग परिक्षण गर्नुपर्ने आवश्यकता छ। यसका लागि जिल्ला जिल्लाको अस्पतालमा सम्पूर्ण स्रोत साधन पुर्याई परिक्षण बढाइयो भने मात्रै संक्रमणको पहिचान गरि रोक्ने उपाय अवलम्वन गर्न सक्छौं ।

(झा प्रदेश २ का नेविसंघ नेता एवं राजनीतिशास्त्रका विद्यार्थी हुन्।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ