कोरोनाको नाममा अलिकति मिलाउन खोज्दा पनि कस्तो नसहेको ?
एक नारायण पौडेल,
प्रकाशित २०७६ चैत १६ आइतबार
957
Shares
बिश्व स्वास्थ्य सँस्था (WHO) ले नेपाल लगायत बिश्वभर कोभिड १९ को महामारी फैलिन सक्ने चेतावनी दिएको १९ दिन पुग्दा पनि लाखौंका प्रिय युबा मन्त्री योगेश जि Nepal covid-19 free zone भन्दै भिडियो बनाएर पर्यटक भित्राउन खोज्दा हामीले औधी खुसी मनायौ। हामीले ताली बजायौ। किनकि हामी नेकपाको खाटी कार्यकर्ता, शुभचिन्तक। बिश्वब्यापी फैलिदै गएको महामारीसँग के को चासो हामीलाई ? योगेशजीको इमान्दार भक्त जसरी हुन्छ उनलाई सफल मन्त्री बनाउनु थियो। रोग भित्रिएर के भो र ? धेरै पर्यटक भित्राएर देशको अर्थतन्त्र र भ्रमण बर्ष सफल पार्नु थियो। अर्को चुनाब पनि नजिकिदै थियो।
एकाएक यो महामारी जब इटली, स्पेन र अमेरिकातिर फैलिन शुरु गर्यो तब नेपालमा पनि बिस्तारै यसको भय महसुस हुँदै गयो। सामाजिक संजालमा काम नपाएका, काम गर्न जागर नभएका र अनपढ गवारहरु खाडीमा बसेर बाक्लो आलोचना गर्न थाले। अलि अलि पढेर युरोप अमेरिका गएकाहरु पनि खाडीवालाको स्वरमा स्वर थपे। हाम्रो सरकार यति गम्भीर थियो कि संक्रमण बिरुद्धको तयारी लगभग सकिसकेको थियो। मात्रै बाँकी थियो त्यो राक्षसी कोरोना मात्रै आउन।
नभन्दै त्यो पनि आयो । एक पछि अर्को गर्दै संक्रमित ५ पुगिसके। सरकार पुर्ण तयारी अबस्थामा भएकोले डराउने कुरै भएन। डाक्टर सुन्दरमणि नाउँ मात्रैका सुन्दर मन चाहिँ अलि कुरुप नै रहेछ। कुनै स्वार्थ, अबसर र पदको लोभ नगरी फ्याट्टै सरकारले परिक्षण नै नगरि रोग लुकायो भनिदिए।
हैन यी डाक्टर साबलाई कुनै अबसर र स्वार्थको हेक्का नराखी किन प्वाक्क बोल्नु परेको होला ? के हुँदै नभएको रोगको परिक्षण र टेस्ट गरेर किन आर्थिक नोक्सान गर्नु ? किन रास्ट्रको ढुकुटी रित्ताउनु भनेर पुरै तयारी गरेर सुतेको हाम्रो सरकारलाई यिनै लुते डाक्टरले जगाईदिए।
जब जब कोरोनाले दुई तिहाईको सरकारको पूरा तयारीलाई हेक्का नगरी एक एक गर्दै लुकेर, छलेर छिर्ने कोशिस गर्यो तब घिनौला सुडका भस्ट्राचारी र काला काङ्ग्रेसीहरुले माननीय भट्टराईको भ्रमण बर्ष असफल पार्न हात धोएर लागे । सरकारको आलोचना गर्न तम्सिए। आलोचना गर्नै मन लागे कोरोनाको गर्नु नि यार किन सरकारको गर्नु ? के सरकारले जानाजानी बोलाएको हो र त्यो राक्षसी कोरोनालाई ? दोष जति सबै सरकारको थाप्लोमा हालीदिने ?
३-३ महिना बितिसक्दा त अलि मथ्थर होला र फेरि टनका टन पर्यटक ग्वारर्ग्वार्ती ल्याउला भनेको त झन झन हामीतिर नै पो झम्टिन आउन लाग्यो। हुन त सरकारले पूरा तयारी गरेपनि डाक्टर र स्वास्थ्यकर्मीले लगाउने कुन्नी के जाती पीपीआई सेट भन्ने जिनिस किन्न बाँकी थियो। दुई चार हजार थर्मोमिटर र मास्क बाहेक सबै तयारी पूरा थियो। चारैतिर पीपीआई पीपीआई भन्दै बुर्कुसी मार्न थाले पछि अलिकति बजेट छुट्याएर खरिद गर्न लाएको फेरि कुरा काट्न थाले।
जे गरेपनि सुख छैन। यसो गरे नि हुदैन उसो गरेनी हुदैन। यस्तो संकटको बेलामा जाबो १ अर्ब ५० करोडको बजेटबाट पीपीआई र किट्स किन्न ओम्नीटेक सहितको एङ्क चाइनीज कम्पनीलाई दिन लागेको त्यो पनि बिरोध। बिना टेण्डर किन दिएको भनी हाम्राकुरा डटकमले सुचना बाहिर ल्याएछ। हैन त्यही जाबो किन्न नि अनलाइन पत्रीकालाई सोध्नुपर्ने ?
कुनको कति मूल्य अनि पर्ने कति मूल्य पनि भनेर लेख्न भ्याएछ। हैन कति सार्हो चासो चाहिएको हो त्यो अनलाईन मिडियालाई ? जतिमा किनेपनि जस्तो किनेपनि किन रोईलो गर्नु कता नै आफ्नै घर घडेरी बेचेर पैसा दिए जस्तो गर्छ त्यो हाम्राकुरा डटकमले ? यति दुख गरेर जाबो अलिकति तलमाथि गर्दापनि हाम्रो सरकारको बिरोध गर्ने ? आमाले एक किलो चिनी लिन पसल पठाउँदा २ रुपैयाँ बढाएर लुकाउनेहरु नै सबैभन्दा बढी हाम्रो सरकारको बिरोध गर्या कुरा हामीलाई थाहा छैन र ?
(भरतपुर महानगगरपालिका वडा नं १३ चितवनका पौडेल हाल साउदी अरबमा कार्यरत छन्।)