arrow

कोरोनाको जाँचका लागि खोइ सामग्री ?

logo
प्रकाशित २०७६ चैत १७ सोमबार
corona-test.jpg

ठिनी । कोरोना सङ्क्रमणको आंशकमा जाँचका लागि आउने बिरामीका लागि आवश्यक पर्ने चिकित्सकीय सामग्री नभएको स्वास्थ कार्यालय मुस्ताङले जनाएको छ । 

कार्यालय प्रमुख टीकाराम भण्डारीले भने, “हामीसँग चिकित्सकका लागि आवश्यक प्रोटेक्टेट कपडा, पिपीइ मास्कलगायत सामग्री छैनन्, अहिले हामी कोरोना भाइरसको कुनै बिरामीको उपचार तथा जाँच गर्न सक्ने अवस्थामा छैनौँ ।”

हिमाली जिल्ला मुस्ताङमा उपचार सामग्री अभाव हुँदा स्वास्थ्यकर्मीले जोखिम मोलेरै उपचार गर्दै आएका छन् । मुस्ताङका सङ्घीय सांसद प्रेमप्रसाद तुलाचनले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीका लागि आवश्यक सामग्री केन्द्र सरकारसँग माग गरिएको र छिट्टै जिल्लामा आउने बताए । ती सामग्री केही दिनमा आइपुग्ने उनको भनाइ छ । 

सुरक्षाकर्मी, कर्मचारी र स्थानीय जनतालाई दैनिक उपभोग्य वस्तु, पेट्रोल, डिजेल, ग्यास, मास्क, स्यानिटाइजर, पञ्जा आदिको मुस्ताङमा अभाव देखिएको सांसद तुलाचनले बताए । 

हालसम्म मुस्ताङमा कोरोना भाइरसका पोजेटिभ फेला नपरे पनि मुस्ताङका धेरै जनता विदेशबाट नेपाल आवतजावत गर्नु, भारतका विभिन्न क्षेत्रमा व्यपार गर्नु, आन्तरिक तथा विदेशी पर्यटकको मुस्ताङ भम्रण आदिले मुस्ताङ उच्च जोखिममा रहेको छ ।

अस्पताल तथा स्वास्थ्यचौकी हेर्ने चिकित्सक र स्वास्थ्यकर्मीलाई उपचारका लागि सुरिक्षत एप्रोन, पिपीइ र मास्क कुनै पनि उपचार सामग्रीको व्यवस्था नहुँदा जोखिम मोलेरै उपचार गर्दै आएको घरपझोङ गाउँपालिकाको स्वास्थ्य संयोजक कर्ण थकालीले जानकारी दिए । उनका अनुसार अन्य चार गाउँपालिकामा पनि उपचार सामग्री धेरै अभाव रहेको बताए ।

कोरोना भाइरसको उच्च जोखिमको सम्भावनालाई देखेर थासाङ गाउँपालिका घासास्थित जनता आधारभूत विद्यालयमा १० श्यया, घरपझोङ गाउँपालिका जोमसोमको जनहित माविमा २० श्यया, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनी र मुक्तिनाथमा छ श्यया, लोघेकर दामोदरकुण्ड गाउँपालिका चराङको युवा क्लब भवनमा आठ श्यया र लोमान्थाङ गाउँपालिकाको लोमान्थाङमा वडा कार्यालयमा १४ श्यया क्षमताको क्वारेन्टाइन स्थापना गरेको क्वारेन्टाइन व्यवस्थापन समितिका जिल्ला संयोजक एंव प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले बताए । 

हालसम्म सात जनालाई घासाको क्वारेन्टाइनमा राखेको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ