arrow

मृत्यु छ सर्वत्र कसैमा डर छैन 

logo
किशोर सापकोटा,
प्रकाशित २०७६ चैत १७ सोमबार
kishore-sapkota.jpg

आफन्त र साथीहरुले आजकल धेरै सम्झिन थालेका छन् । सम्झिने कतिपय आफन्तहरु त जीवनमा एकपटक कुराकानी समेत नभएका पनि हुन्छन् । 

सबैको एउटै प्रश्न छ, अमेरिकामा त कति धेरै मानिसहरु मरे भन्छन् नि, तिमीहरुलाई त केही भएको छैन नि ? 

मेरो उत्तरले कोहीकोही सन्तुष्ट हुंदैनन् होला या उनीहरुको मनमा मैले उत्तर दिंदा कसैलाई विर्सिएकी भन्ने पर्दो हो  । परिवारका सवै सदस्यको नामनै लिएर सोध्छन्, फलानोलाई ठीक छ नि ? फलानोलाई ठीक छ नि ? 

आजकल मेरो काखमा ल्यापटप र कानमा फोन छुट्दैन । ल्यापटपवाट लिएको जानकारी टेलिफोनवाट वांड्छु । अलिअलि लेख्छु । (दुई दिन लेखिन, अमेरिकामा २०० जना मानिस मरेको दिनलाई नै त्रासदीपूर्ण भनेर लेखेको थिए, पछिल्ला दुइ दिनमा त पांच, पांच सय मानिस मरे, के भनेर लेख्नु ?)

आफन्तहरुको चिन्ता र चासो स्वभाविक पनि हो । पछिल्लो हप्ता, हरेक दुइदिनमा मर्नेहरुको संख्या दुगुना भएर गएको छ । 

जनवरी ११, २०२० मा कोरोना भाइरसको संक्रमणवाट पहिलो व्यक्तिको निधन भएको थियो । आज ७८ दिन वित्दा विश्वभरमा ३३ हजार ९२५ जनाको निधन भइसकेको छ । सरदरमा आंकडा निकाल्दा विश्वमा हरेक दिन ४२४ जना मानिसहरु कोरोना संक्रमणको कारण मरिरहेका रहेछन् । 

कोरोना भाइरसको संक्रमणको कारण मर्नेहरुको संख्या सुरुवाती दिनमा न्यून हुने गरेपनि पछिल्लो दिनमा गुणात्मक रुपले वढीरहेको छ । पछिल्ला तीन दिनमा अमेरिकामा दैनिक पांचसयको हाराहारीमा मानिसहरु मरिरहेका छन् । यो क्रम विकराल वन्दै जाने देखिएको छ ।

यस्तो महामारीमा आफन्त र साथीहरुले नसम्झिए कहिले सम्झिनु त ? 

वाहिरी दुनियांमा वस्दा धेरैलाई लाग्दो हो, यो कोरोनाको फुर्ति केही दिनको लागि त होलानि ? कहां सक्छ र अमेरिकालाई ?

अमेरिकाभित्र वसेर हेर्दा तस्विर फरक छ ।

अब के गर्ने ? कसरी यो समस्यालाई सम्वोधन गर्ने ? कुनै ठोस नीति, कार्यक्रम र तत्परता सरकारसंग छैन । ट्रम्प प्रशासन जे गरिरहेको छ, टालटुल मात्रै गरिरहेको छ । सानातिना राहत प्याकेजमा अल्झिएको छ । अहिले पनि कुन कुन राज्यमा डेमोक्रेट पार्टीका गभर्नरहरु छन् र तिनीहरुलाई कसरी साइजमा ल्याऊ भनेर गृहकार्यमा अल्झिएको छ । गभर्नरहरुलाई सहयोग गर्ने भन्दा पनि इवी सांध्न उद्यत छ । 

न्यूयोर्क अहिले कोरोना भाइरसको केन्द्रविन्दु वन्दै गएको छ । अमेरिकाको आर्थिक नगरी ठप्प छ । न्युयोर्क कहिल्यै सुत्दैन भन्ने आहान वद्लिएर न्यूयोर्क अव उठ्दैन भन्नुपर्ने अवस्थामा पुगीसकेको छ । तर राष्ट्रपति ट्रम्पले न्युयोर्कका लागि आवश्यक भेण्टीलेटर समेत किनिदिएका छैनन् । न्युयोर्कका अस्पतालमा दुर्इजना विरामीका लागि अहिले एउटा भेण्टीलेटर चलाउनु परेको छ । 

स्वास्थकर्मीहरुलाई यथेष्ठ पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पीपीइ) हरु छैनन्, एउटा मास्कले पुरै सिफ्ट वा केहीदिन चलाउनु पर्ने अवस्था आएको छ । यस्तो अवस्थामा काममा जानुपर्दा स्वास्थकर्मीहरु त्रासले डिप्रेसनमा जान थालेका छन् । स्वास्थकर्मीहरु जागिर छाडिरहेका छन् । राष्ट्रपति ट्रम्प भने कहिले मिचिगनका गभर्नरसंग सिंगौरी खेल्न त कहिले वेलायतवाट राजगद्दी त्यागेर क्यानाडा हुंदै अमेरिका आइपुगेका ह्यारी र मेगेनलाई चेतावनी दिन व्यस्त हुन्छन् । 

यतिबेला अमेरिकामा सवैभन्दा प्रेसरमा भएका मानिसहरु भनेका स्वास्थकर्मी हुन्, कोरोनावाट आफन्त गुमाएका परिवारजन हुन् र उनीहरुको भन्दा एक तह कम प्रेसरमा भएका व्यक्तिहरु भनेका राज्यका गभर्नरहरु र  सिटीका मेयरहरु हुन् । प्रकोप वढ्दै जांदा र पीपीइको अभाव हुंदै जांदा रोग रोकथाम तथा नियन्त्रण केन्द्र (सीडीसी) ले पनि शायद सरकारी दवावमा परेर चिकित्सकहरुले अपनाउनुपर्ने सावधानीको मापदण्डलाई पनि फेरिदिंदा स्वास्थकर्मीहरु झन् जोखिममा परेका छन् ।

धेरै स्वास्थकर्मीहरुले आफ्ना पीडालाई सामाजिक सञ्जाल मार्फत रुँदै व्यक्त गरेका छन् । काम गरिरहंदा कतिपय नर्स र डाक्टरहरु आफुलाई सम्हाल्न सक्दैनन् र वाथरुममा पसेर रुन्छन् । 

केहीबेरमा सुन्निएका आंखा लिएर फेरी विरामीको सेवामा जुट्छन् । कोरोना संक्रमणको कारण मृत्युवरण गरेका व्यक्तिका आफन्तहरु परिवारको सदस्यको अन्त्येष्टिमा सहभागी हुन पाएका छैनन् ।

कोरोना संक्रमण भएर मृत्युवरण गरेका व्यक्तिहरुको शवलाई ३ दिनसम्म अस्पतालमा नै राख्नुपर्ने नियम छ र त्यसपछि अन्त्येष्टिमा एकदम कम मानिसहरु सहभागी हुने गरी र संक्रमण नफैलाउने गरी परिवारलाई शव त दिने नियम त छ तर परिवारको सदस्य नै कोरोना संक्रमणको कारण मृत्यु भएका कारण परिवारका अधिकांस सदस्य सेल्फ क्वारेन्टाइनमा वस्नुपर्ने नियमले गर्दा अन्त्येष्टिमा सहभागी हुन सक्दैनन् । 

परिवारको सदस्य विरामी हुंदा न त अस्पतालमा कुरुवा वस्न पाइन्छ, न त दाहसंस्कारमा सरिक हुन सकिन्छ । मृत्यु कति भयानक भइरहेको छ आजकल । 

सुन्दा कहाली लाग्दो लागे पनि अहिले पनि ससर्ती हेर्दा अमेरिका त्यति डरलाग्दो त छैन । आज दिउसो म वस्ने शहर लुइभेलको एउटा वालमार्टमा छिरे । वालमार्टमा यो भयावह अवस्थाको छायांं कतै पनि देखिएन । 

अनुहारमा मास्क लगाएका मानिसहरु सयमा एक पनि थिएनन । जति आह्वान गरेपनि सोसियल डिस्टेन्स पटक्कै कायम छैन । न त रजिश्टरमा वस्नेहरुले मास्क लगाएका छन् न त सामान्य पञ्जा नै । 

धेरै मानिसहरुले छुने भएकोले सामान हाल्ने कार्टको हेन्डिल पुस्न प्रत्येक वालमार्टका प्रवेशद्वारमा वाइप्सहरु राख्ने गरिएको हुन्छ तर आज वाइप्स पनि थिएन । मानिसहरुले वास्तै नगरी कार्टहरु ठेलिरहेका थिए । कोरोनाको प्रभाव केवल केही आयल्सहरुमा परेको छ ।अझै पनि ट्वाइलेट पेपर र हेन्ड सेनेटाइजरहरुको भने अभाव छ । अरु वजार सामान्य भइसकेको छ । 

म फर्कदै गर्दा मेरो सव डिभिजनभित्र धेरै घरहरुमा वारवीक्यू पार्टी चल्दै थियो । न त कसैले कोरोना संक्रमणवाट मर्नेको परिवारमा के वितिरहेको छ भन्ने चिन्ता छ, न त यो विपत्तिमा स्वास्थकर्मीहरुले कसरी काम गरिरहेका छन् भन्ने चासो छ, न त अन्य देशहरुमा झै स्वास्थकर्मीहरुको प्रशंसामा वेलुका ताली वजाउननै कोही जुटेका छन् । 

सांझमा फेसवुक हेरे, धेरै साथीहरुले आफुले खान तयार गरेका मिष्ठान्न भोजनका तस्विरहरु शेयर गरिरहेका थिए ।

टेलिभिजन स्क्रिनमा अझै पनि मानिसहरुलाई समुद्रीतटमा जान नदिन सुरक्षाकर्मीहरुले गर्नुपरेका संघर्षका फुटेजहरु आइरहेका थिए । यस्तो लाग्यो, जताततै मृत्यु मृत्यु हुंदा पनि मानिसको मनमा अझै भय छैन । नत्र सरकारले भनेको किन मान्दैनन् ?



नयाँ