arrow

कोरोना : पिपिई, पञ्जा र मास्कलगायत अभाव, विरामी नजिक जान डराए स्वास्थ्यकर्मी

logo
प्रकाशित २०७६ चैत १७ सोमबार
corona-virus-gown.jpg

सिरहा । जिल्लास्थित अधिकांश स्वास्थ्य संस्थामा स्वास्थ्य सुरक्षा सामग्रीको अभाव हुँदा उपचार सेवा प्रभावित भइरहेको छ । जिल्लास्थित स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीले लगाउनुपर्ने व्यक्तिगत सुरक्षा सामग्री पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई), पञ्जा र मास्कलगायतका स्वास्थ्य सुरक्षा सामग्रीको अभाव हुँदा बिरामीको उपचार सेवा प्रभावित भइरहेको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन चिकित्सक, स्वास्थ्यकर्मीले (पिपिई), पञ्जा, नहुँदा उपचारमा संलग्न स्वास्थ्यकर्मी बिरामीको नजिक जानसमेत डराउने गरेका छन् । सुरक्षा सामग्रीको अभाव भएपछि चिकित्सकले बिरामीलाई नछोएरै टाढैबाट औषधि लेख्ने गरेका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन डा सुनिलकुमार कुशवाहले अस्पतालमा स्वास्थ्यकर्मीले लगाउने कुनै पनि स्वास्थ्य सुरक्षा सामग्री नरहेको बताए । 

उनले भने, “स्वास्थ्यकर्मीले लगाउने पञ्जादेखि पिपिईसम्मका कुनै सामग्री छैनन्, प्रदेश सरकारसँग मागेका छौँ, आउलाकी भन्ने आशा छ ।” अस्पतालमा यसरी स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षा सामग्रीका लागि नगरपालिकादेखि प्रदेश सरकारसम्मलाई भने तर आइतबार नेपाली सेनाले दुई थान पिपिई दिएको मेसु डा. कुशवाहको गुनासो छ । लहान अस्पतालमा कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि पाँच शै्ययाको आइसोलेशन कक्षसमेत तयार पारिएको छ । 

यस्तै सिरहा जिल्ला अस्पतालमा एउटा पनि पिपिई र पञ्जा छैन् । स्वास्थ्यकर्मीलाई नभई नहुने पिपिई र पञ्जाको अभाव भएपछि बिरामीको जाँच गर्न पनि चिकित्सक डराइरहेको सिरहा अस्पतालका मेसु डा नागेन्द्रप्रसाद यादवले बताए । उनले भने, “स्वास्थ्यकर्मीको पनि सुरक्षाको कुरा हो, कसरी यी सामान नलगाई बिरामीको जाँच गर्दा असुरक्षित हुन भएकाले चिकित्सक बिरामीको जाँच गर्न हिच्किचाइरहेका छन् ।” 

अस्पतालमा रहेको सुरक्षा सामग्रीको अभावबारे प्रदेश नं. २ को सामाजिक विकास मन्त्रालय र स्वास्थ्य निर्देशनालयमा जानकारी गराइसकेको र थप कुरा गर्न आफू अहिले जनकपुर आएको मेसु डा यादवको कथन छ । सिरहाका सरकारी स्वास्थ्य संस्था मात्रै होइन, निजी अस्पतालमा पनि स्वास्थ्यकर्मीलाई सुरक्षा सामग्रीको अभाव रहेको अस्पताल सञ्चालकले बताएका छन् । पिपिई, पञ्जालगायतको सामग्रीको अभावका बाबजुद सिरहाका विभिन्न पाँच वटा अस्पतालले कोरोना भाइरस सङ्क्रमित बिरामीको उपचारका लागि आइसोलेशन कक्ष तयार पारेका छन् ।

जिल्ला सुरक्षा समिति र स्थानीय तहको आग्रहमा सिरहाको धनगढीमाई नगरपालिकास्थित महेन्द्र गेनाई अस्पतालले १५ श्यया, सोही ठाउँको आरके मेटिसिटी अस्पताल, सिरहा जिल्ला अस्पताल, लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल र कर्जन्हास्थित फूलकुमारी मेमोरियल अस्पतालले पाँच÷पाँच श्ययाको आइसोलेशन कक्ष तयार पारेको छ । आइसोलेशन कक्ष तयार पारिएका सबै स्वास्थ्य संस्थामा पिपिई, पञ्जा, मास्कसँगै आइसोलेशन सञ्चालनका लागि चाहिने भेन्टिलेटरको अभाव छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ