arrow

गुल्मीमा ३७ क्वारेन्टाइनमा, ३०८ श्ययाको आइसोलेसन कक्ष

logo
प्रकाशित २०७६ चैत १७ सोमबार
gulmi_district_map.png

गुल्मी । गुल्मीमा देशका विभिन्न स्थान तथा भारतबाट आएका ३१ जनालाई क्वारेन्टाइनमा राखिएको छ । 

जिल्लाका विभिन्न तीन स्थानीय तहमा भारतबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखिएको हो । जसमध्ये धुर्कोट र मालिका गाउँपालिकाका १०-१० जना तथा इश्मा गाउँपालिकाका ११ जना रहेका छन् । धुर्कोट गाउँपालिका–५ वस्तुस्थित परमानन्द भण्डारी बहुमुखी क्याम्पसमा चार दिनदेखि पाँचजना क्वारेन्टाइनमा राखिएका छन् । जसमध्ये वाग्लाका एकजना २० वर्षीया युवा रहेका छन् भने बाँकी चारजनामध्ये श्रीमान्–श्रीमती, एक छोरा र एक छोरी छन् । उनीहरु भारतबाट आएका हुन् । धुर्कोट गाउँपालिका–३ हाडहाडेस्थित न्यूखर्क माविमा तीन दिनदेखि पाँच युवा क्वारेन्टाइनमा छन् । भैरहवाबाट आएका युवा सबै १८ देखि २२ वर्षभित्रका छन् । वस्तुमा डिल्ली पराजुली र हाडहाडेमा हेल्थ असिस्टेन्ट प्रकाश काउछाले क्वारेन्टाइनमा राखिएकाहरुको रेखदेख गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक प्रेम खनालले जानकारी दिए । 

मालिका गाउँपालिका वडा नं ६ अर्जैमा चारदिनदेखि १० जना क्वारेन्टाइनमा राखिएको छ । राखिएका सबै पुरुष छन् । उनीहरु १६ देखि ३२ वर्षसम्मका रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक वसन्तराज भुसालले जानकारी दिए । उनीहरु भारतबाट आएका हुन् । इस्मा गाउँपालिका–६ अम्मरपुरस्थित सरस्वती निम्न माध्यमिक विद्यालयमा ११ जना क्वारेन्टाइनमा छन् । राखिएका सबै पुरुष छन् । उनीहरु सबै अम्मरपुरकै भएको र २० वर्षभन्दा माथिका रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक पदम अधिकारीले जानकारी दिए । मुसिकोट नगरपालिकामा पनि छजनालाई क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा राखिएकाको खाना, आवासलगायत आधारभूत आवश्यकताको परिपूति सम्बन्धित स्थानीय तहले व्यवस्था गरेका छन् । उनीहरुलाई १४ दिनसम्म क्वारेन्टाइन कक्षमा राखिनेछ ।

कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि गुल्मी जिल्लाका ११ स्थानीय तहमा ३०८ वेडको आइसोलेशन कक्ष बनाइएको छ । गुल्मीमा १२ मध्ये गुल्मी दरबार गाउँपालिकाबाहेक सबै स्थानीय तहले आइसोलेसन कक्ष स्थापना गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीका सूचना अधिकारी लक्ष्मण पाण्डेयले बताए । 

रुरुक्षेत्र गाउँपालिकामा २५, छत्रकोट गाउँपालिकामा पाँच, रेसुङ्गा नगरपालिकामा १६, सत्यवती गाउँपालिकामा आठ, कालीगण्डकी गाउँपालिकामा १०६, चन्द्रकोट गाउँपालिकामा १६, मुसीकोट नगरपालिकामा ७६, इस्मा गाउँपालिकामा १८, धुर्कोट गाउँपालिकामा १०, मालिका गाउँपालिकामा २४ र मदाने गाउँपालिकामा ११ श्ययाको आइसोलेसन वार्ड स्थापना गरिएको प्रशासन कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ