arrow

साख गुमाएको सरकार, संकटमा पनि भ्रष्टाचार 

logo
महेश भट्ट,
प्रकाशित २०७६ चैत १७ सोमबार
Mahesh_bhatt_photo.jpg

सक्षम र प्रभावकारी सरकारले एउटा आधार खडा गर्दछ । त्यो आधारले नै जनताका आधारभूत आवश्यकता पुरा गर्न सक्षम हुन्छ ।  जनता आफै आधारभुत आवश्यकता पुरा गर्न सक्षम हुँदैन ।  जनता आफै विपद्मा निर्णायक भुमिका निभाउन सक्दैनन् । उनीहरुका आवश्यकता पुरा गर्न र आइपर्ने विपत्तिका लागि सरकारको सहयोग चाहिन्छ नै ।  

जनताको आवश्यकता बुझ्न र ति कुरा गर्न सरकारलाई अत्याधुनिक प्रविधि चाहिन्छ । उच्च प्रविधि युक्त समाजलाई ज्ञान र क्षमताको आवश्यक पर्दछ । सरकारको कला नै सिमित श्रोत साधनलाई बहुउपयोग गर्नुमा हुन्छ । सानो श्रोतमा पनि कुशल व्यवस्थापनको कला भयो भने नागरिकका सवै आवश्यकताहरु सहजै पुरा गर्न सकिन्छ । जनतालाई बढी भन्दा बढी योगदानका लागि प्रेरित गर्नुमा सरकारको क्षमता हुनुपर्दछ ।  

जनतालाई आफ्नो ठाँउबाट माथि उकास्ने, समस्याको समाधान गर्ने, नागरिको सुरक्षाको प्रमुख जिम्मेवारी सरकारकै हुन्छ । अपेक्षित  उच्च आर्थिक परिणाम सरकारले हासिल लगायत देशको उम्दा विकासको खाका र दीर्घजीवनका बारेका सरकार तथा नेतृत्वसंग गुरुयोजना नै चाहिन्छ । जसले बढी भन्दा बढी रोजगारी  सिर्जना गर्छ, सुरक्षा व्यवस्था हुन्छ, विपद्को सामना गर्ने क्षमता राख्दछ । समग्र राष्ट्रको समुन्नती बढाउने पहिलो दायित्व सरकारको नै हो । यसकारण सरकार नीति र विधिको हुनुपर्छ बेथितिले राष्ट्रको मुहार फेर्न सकिदैन ।

जनताका गुनासा, पीडा, असन्तोष हरदम सुन्न सरकार तयार हुनुपर्दछ । ताकि उनीहरुमा असन्तुष्टी नबढोस् । समस्या समाधान गर्न तत्पर होस् । उनीहरुको दुःख दर्द बुझ्न मात्र हैन, तिनलाई सिकाउन र व्यवस्थापन गर्न, समाजको स्तर बढाउन र तिनलाई उपयोग गर्न  सरकारले जान्नुपर्छ ।  

सरकारको मुख्य काम भनेको जनतामा आत्मविश्वास पैदा गर्नु हो । संसारकै महान नेता होस तर उसले गतिलो नेतृत्व पाएन भने कुनै पनि युद्ध जित्न सक्दैन । सरकारले जनतालाई प्रेरित गर्ने हो ।  एउटा सरकारको नेतृत्वले जनताको भविष्य भनु कि राष्ट्रको भविष्यका दृष्टि र सपना पुरा गर्न नीति र विधि बनाउनु पर्दछ । त्यसका लागि सरकारको नेतृत्वले जनतासंग विश्वास हासिल गर्नुपर्छ ।

हरेक राष्ट्रको विकासको लागि सुशासन चाहिन्छ र साथसाथै भ्रष्टाचार सम्बन्धी शुन्य सहनशिलता हुनुपर्दछ । अहिलेसम्मको इतिहासमा पनि तेस्रो विश्वका मुलुक जुन तन्नम राष्ट्रहरु थिए अहिले पहिलो विश्वका मुलुकका रुपमा फड्को मारेका छन् । जसको परिणाम सुसासन र भ्रष्टाचारको अन्त नै हो । अर्को महत्वपूर्ण कुरा भनेको भिजन र एक्सनको खोक्रो नाराले भन्दा पनि सरकारसंग जनतालाई सेवा डेलिभरी गर्ने क्षमता चाहिन्छ । तव मात्र देशले विकासको गति लिने गर्दछ । यो कुरा आधुनिक सिंगापुरका निर्माता लि क्वान यु जसले  ४० बर्षसम्म प्रत्यक्ष शासन गरेर गए गुज्रेको र पिछडिएको देशलाई एकै पुस्तामा समृद्ध बनाए । उनको देशभक्ति र इच्छाशक्तिका कारण एकै पुस्तामा अभूतपूर्व विकास गर्न सकिन्छ भनि प्रमाणित गरेको छ । लि क्वान युले यहि श्रेय पाएका छन् । 

यति बेला विश्व कोरोना भाइरसका कारण संकटमा परेको छ । कोरोना भाइरसका कारण विश्वका नागरिक त्रासदीपूर्ण वातावरणमा बाचिरहेका छन् । विकसित राष्ट्रहरु पनि रोइरहेका छन् । कोरोना भाइरसले विज्ञानलाई समेत चुनौति दिइसकेको छ । यति बेला सवै नागरिक लकडाउनमा छन् ।

धेरैजसो समृद्ध राष्ट्रहरु आफ्नै श्रोत र साधनको उपयोग गरेर आफ्ना नागरिकको गाँसबासको व्यवस्था लगायत स्वास्थ्य उपचार गरिरहेका छन् भने हाम्रो जस्तो तन्नम राष्ट्र अहिले श्रोत र सहयोगको खोजीमा छ । भएको श्रोतमा पनि गिद्धे नजर लगाउँदै संकटको समयलाई छिटै पुँजीपति बन्ने उपयोगको उपयुक्त समय सम्झोर प्रयोग गर्न आतुर छन् । महामारीका बेला अति आवस्यक पर्ने  पिपिइ, टेष्टकीट, मास्क लगायत अन्य औषधी सामाग्रीहरु पनि बजार मुल्य भन्दा बढिमा खरिद गरेर रकम कुम्ल्याउने प्रपञ्चले ठेक्कापट्टा भइरहदा  अभिभावकीय भुमिका खेल्ने सरकारले आफ्नै बचेको साख पनि गुमाईसकेको छ । संकटमा पनि भ्रष्टाचार गर्ने सरकारलाई राष्ट्रघातीको संज्ञा दिनुबाहेकको विकल्प रहेन । 

नेपालमा दुई छाक जोहो नदेखेर धेरै जसो सुदूर गाउँका नागरिक दाल–चामल–नुन र तेलका लागि आफ्नो जन्मभूमि छोडेर भारत लगायतका खाडी मुलुकहरुमा जाने गर्दछन् । आज यहि समस्या नेपाल सरकारका लागि फलामे चिउरा भएको छ । सवैजसो राष्ट्रमा जनता कर्फ्यु तथा लक डाउन भएको छ । जनता कर्फ्युका कारण भारतमा रहेका नेपाली मजदुरहरुलाई आज मर्नु न बाँच्नु भएको छ । त्यहाँका सवै कलकारखाना, होटेल, रेष्टुराँ, रेलवे स्टेशन लगायतका क्षेत्रहरु पूर्णरुपमा बन्द हुँदा नेपालीहरुलाई गाँसबास र कपासको समस्या भएको छ ।

कोही बिचबाटोमा अलपत्र छने भने कोही सिमानाकामा अलपत्र छन् । यसले कोरोना त्रास त छदैछ नेपालका लागि दोस्रो समस्या भनेको नेपाली मजदुरहरुलाई भोकमारी हुने त्रास बढेको छ । धेरै जसो नागरिकको सिमानाकाबाट सरकारले उद्धार गरेको छ भने अझै नेपाली मजदुरहरु विचठाउँमा अलपत्र छन् । जति कुशल व्यवस्थापन समयमै हुनुपर्ने थियो, जो हुन सकेको छैन । बाहिरबाट आउने नागरिकको प्रष्ट लगत नै छैन । उनीहरुले सिमानाकामा सुरक्षाकर्मीको डण्डा पनि खाइरहेका छन् । यीनको सुरक्षा व्यवस्थाका लागि अझै सरकारले प्रभावकारी भूमिका निभाउनु जरुरी छ । यहाँ सरकारले केही गरेको छैन भन्न खोजिएको होइन । धेरै गरेको छ, तर जति राम्ररी गर्नुपर्ने थियो त्यो कुशलता देखाउन सकेको छैन ।

अहिले तत्कालका लागि नेपाली मदजुरहरुलाई अप्ठयारो देखिए पनि त्यसको अन्तिम परिणाम नेपाल सरकारलाई नै आउने गर्दछ । किनभने विप्रेषणमुखी अर्थनीतिले चलेको देश हो यो। विप्रेषण शुन्य भयो भने नेपालको अर्थतन्त्र झन धाराशायी हुने देखिन्छ । कुनै पनि आधारमा नेपालीलाई विकल्पको बाटो नै छैन ।  नेपाल सरकार यति बेला पनि कुन रणनीति अख्तियार गर्ने चाजोपाजो केही छैन । 

आजको विश्वब्यापीकरण एक मुलुकले सवै क्षेत्रमा आफ्नै सामथ्र्य मात्र निर्भर रहन्छ त भन्न सक्दैन, तर धेरै जसो समस्या समाधानको विकल्प भनेको आन्तरिक उत्पादन बढाउनु, आन्तरिक जनशक्ति बलियो र चलायमान बनाउनु, रोजगारीका क्षेत्रहरु सिर्जना गर्नु र विदेश परनिर्भरता कम गर्दै लैजानु हो । 

हामी अहिले आफ्नै देशमा लकडाउनमै छौं । जसोतसो हामी नेपालमा भएका नागरिक लकडाउनमै बसेर दिन रात काटुला । जसोतसो ढुटो आटो खाउला । तर, नेपाल छोडेर भारतमा मजदुरी गर्ने आम नेपाली दाजुभाईहरुको साहारा भने छैन । उनीहरुलाई भारतमा पनि बस्ने दैलो छैन, नेपालमा आउन सक्ने अवस्था छैन । उनीहरुको जीवन रक्षा कोरोना भन्दा पनि भोकभोकै मर्ने सम्भावना रहेको छ । धेरै जसो दाजुभाईहरु फोन गरेर, मेसेज गरेर आफ्नो कहालीलाग्दो कुरा बताईरहेका छन् । 

यस्तो बेला नेपाल सरकारले समयमै उर्दी जारी गरेर आफ्ना नागरिकहरुलाई सुरक्षित गासबास र कपासको व्यवस्था गर्नु पर्ने थियो । तर, यो अपरिपक्व किसिमले सरकारले  फितलो कार्यान्वयन गरिरहेको छ । धेरै महत्वपूर्ण  विषयमा सरकार चुकीसकेको छ । यसले गर्दा भारतमा चौकीदारी गर्ने, भाडा माझ्ने नेपाली नागरिक आज बेहाल अवस्थामा छन् । उनीहरुको विचल्ली हेर्दा सरकार के रमिता हेरेको होला जस्तो लागिरहेको छ । विशेषगरि सुदूरका पहाडी जिल्लाका नागरिकहरुको विचल्ली भएको छ । सिमानाकामा पुगेका नागरिकहरुले पनि कुनै यस्तो अभिभावक पाएको छैन । जसले उनको उद्धार गरोस् । 

सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री पनि भारतमा चौकीदारी गरेर आज मुख्यमन्त्री बनेका छन् । मलाई लाग्छ उनलाई चौकीदारी र भाँडा माझ्नेहरुको पीडा कस्तो हुन्छ भनेर भोगेको थाहा हुनुपर्ने । उनले मुख्यमन्त्री हुँदै गर्दा सम्बोधनमा सुदूरका नागरिकहरुलाई नेपालमै रोजगारको सिर्जना गर्छु भारत जानु पर्दैन, सवैको रोजगारीको सिर्जना गर्छु भनेका थिए । तर, चौकीदारी गरेका मुख्यमन्त्रीलाई सत्ताको उन्माद चढेपछि चौकीदारी बिर्से । आफ्नो आङभन्दा बाहिर हेर्न सकेनन् । यसकारण आज सुदूरका आम नागरिकको गुनासो रहिआएको छ ।  

नेपालमा कम्युनिष्ट पार्टीको सरकार हुँदा एउटा नयाँ गज्जबको अनुभव भइरहेको छ । कम्युनिष्टहरुको विगत हेर्दा साधारण पहिरन, गज्जबको ब्यवहारले सर्वसाधारण, मजदुरहरुमा गहिरो प्रभाव पार्थे । गरिबहरुकाप्रति गरिने सम्बोधनहरुले जनताको ठूलो भिडभाड हुन्थ्यो । उनीहरुमा समर्पण देखिन्थ्यो । तर, आज सरकारको सुखभोग गरेपछि उन्माद बढेर आज कुनै पनि नेतृत्व सम्बेदनशिल देखिएनन्, जिम्मेवार देखिएनन । संकटका बेला देशलाई चाहिने आवस्यक कार्ययोजना र आधार खडा गर्न सकेनन् । त्यसको परिणति अहिले नेपाली मजदुरहरुले भोग्नु परेको छ । जताततै निराशामात्र छाएको छ । झुर नेतृत्व महसुस भएको छ । सत्ताको लोभ र कुर्सीको लोभले आफु अस्वस्थ भइरहदा पनि प्रधानमन्त्रीले पदीय लोभ छोड्न नसक्नुले झन सरकारको गरिमा घटेको छ ।  भ्रष्टाचार मौलाएको छ । यति बेला पनि स्वास्थ्य मन्त्रीले बजेटमाथि कुदृष्टि लगाएको सञ्चारमा माध्यममा आएको छ । यस्तो संकटका बेला पनि धैर्य हुन नसक्नुले सरकारको नीति र विधि माथि प्रश्न खडा भएको छ । शिर निहुरिएको छ । 

अझै समय घर्केको छैन । समयमै सचेतता अपनाइयो भने सवैले जिम्मेवार नेता, इमान्दार कर्मचारी र वफादार जनता भयो भने  हरेक समस्याको समाधान सहजै हुने देखिन्छ । कोरना प्रकोपको पनि रोकथाम गर्न सकिन्छ । नत्र भने आफु मात्रै खाने, आफु मात्रै बच्ने प्रवृतिको सरकारको अभिभावकीय कन्जुस्याईले सधैं नेपाल राष्ट्रलाई तन्नम राष्ट्रमा नै राख्ने  भएको छ र बेसाहारा गरीब मजदुरले अभिभावक खोज्ने बेला आएको छ । 

यो विश्वमाहामारी जस्तो संकटका बेला  जिम्मेवार सरकार, इमान्दार  कर्मचारी र वफादार जनता भएर आफु पनि बाचौं र अरुलाई पनि बचाउन मद्धत गरौं । यसैमा सवैको भलो हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ